नेपालमा कोरोनाः झिल्को बल्यो, ज्वाला नदन्कियोस् !

नेपालमा कोरोनाः झिल्को बल्यो, ज्वाला नदन्कियोस् !
फणीन्द्र फुयाल ज्वाला विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस संक्रमित नेपालमा पनि भेटिएको प्रमाणित भइसकेको छ । अहिलेसम्म नेपालमा पाँच जना कोरोना भाइरस संक्रमति फेला परेको सरकारको आधिकारिक तथ्यांकमा दर्ता छ । छिमेकी मुलुक चीनबाट देखा परेको कोरोना भाइरस विश्व भ्रमण गरेर नेपालमा प्रवेश गरेको छ । नेपालमा कोरोना भाइरस भित्र्याउनेहरु पनि विदेशबाट नेपाल फिर्ता भएकाहरु नै हो । बिश्व नै कोरोना जस्तो प्राणघातक भाइरसको संक्रमणले आक्रान्त हुँदा एकातिर यसले विज्ञान र प्रबिधिलाई नै चुनौती दिइरहेको छ भने अर्कातिर आपसी मनमुटावमा रहेर सितयुद्ध गरिरहेका र खासगरी अर्थतन्त्रमा आफ्नो बिश्व वर्चश्व कायम गरिरहेको अमेरिका र अर्को कम्युनिष्ट मुलुक चीनबीचको सम्बन्धलाई पछिल्लो परिस्थितीमा केही निकट र आत्मिय बनाउने काम यही कोरोनाले गरेको छ । बिश्व स्वास्थ्य संगठनले नेपालको छिमेकी मुलुक चीनको बुहानबाट कोरोना संक्रमण फैलिएसँगै नेपालमा यो रोगको फैलिने उच्च जोखिम भएकाले बेलैमा सतर्कता अपनाउन आग्रह गरेको थियो । त्यसैगरी बिश्व स्वास्थ्य संगठनले अझै पनि बिकासोन्मुख देशहरुमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा रखेको भन्दै हदैसम्मको सतर्कता अपनाउन आग्रह गरिरहेको छ । यतिबेला नेपालमा कोरोना संक्रमणको झिल्को सल्किएको छ भने बेलैमा उच्च सतर्कता नअपनाउने हो भने यसले ज्वालाको रुपधारण गर्दै डढेलो लगाएर सखाप नपार्ला भन्ने सकिँदैन । त्यही गाम्भीर्यतालाई मध्येनजर गर्दै नेपाल सरकारले बिगत ६ दिनदेखि नेपलामा लकडाउन घोषणा गरिसकेको छ । सबै नेपालीहरु यो बिश्व परिस्थितीसँग परिचित भएकैले गर्दा लकडाउनलाई साथ र समर्थन दिइरहेका छन् । यद्यपी केही लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले सम्झाई बुझाई गरिरहेको छ । कोरोना संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री सरकारले आइतबार चीनबाट नेपाल ल्याएको छ । सरकारले किनेको, ज्याकमा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको जनाइएको छ । नेपाल लकडाउन भएपछि यतिबेला अन्तराष्ट्रिय उडानहरु बन् छन् । नेपाल भित्रै चल्ने लामो तथा छोटो दुरीका यात्रुबाहक सबारीसाधनहरु बन्द गरिएको छ । यद्यपी कतै प्रहरी प्रशासनको आँखा छलेर त कतै स्थानीय प्रशासनको सेटिङमा केही गाउँपालिका र स्थानीय तहमा राती राती सबारी साधानहरु चल्ने गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताइरहेका छन् । तर लकडाउनु हुनुपुर्व बिभिन्न देशबाट नेपाल आएकाहरुबाटै कोरोना संक्रमण नेपालमा फैलिँदो छ । ल्यावमा गरिएको स्वाब परीक्षणबाट नेपालमा कोरोना संक्रमितहरुको संख्या पहिचान हुने क्रम जारी छ । यदि नेपालमा करिव दुई हप्ता अघिदेखि लकडाउन गरिएको भए र विदेशबाट आउनेहरु हवाइजहाजहरुलाई पूर्णं रुपमा रोकावट गर्न सकेको भए कोरोना संक्रमण नेपालमा भित्रिने थिएनन् । नेपाल–भारतको खुला सीमाका कारण नेपालमा लकडाउने घोषणा गरिसकेपछि पनि भारतबाट ठूलो संख्यामा नेपालीहरु रातारात प्रवेश गरेका छन् । ती सबै नेपालीहरुको पहिचान गरी स्थानीय सरकारले उनीहरुलाई कडारुपमा खोजी र निगरानी गर्दै क्वारेन्टाइनमा राख्दै स्वाब टेष्ट गरिहाल्न पर्छ । होइन भने अहिले देखिएको झिल्को सल्किएर भोलि ज्वालाको रुप धारण गर्दै इटाली जस्तो ध्वस्त नपार्ला भन्न सकिँदैन ।