त्रिविले क्वारेन्टाइनका लागि केन्द्रीय विभाग, कार्यालय र तीन हजार रोपनी उपलब्ध गराउने

त्रिविले क्वारेन्टाइनका लागि केन्द्रीय विभाग, कार्यालय र तीन हजार रोपनी उपलब्ध गराउने
काठमाडौँ, १७ चैत । कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ । विश्वविद्यालयका रिक्त भवन, तीन हजार रोपनीभन्दा बढी खुला जग्गा तथा अन्य स्रोत साधन आवश्यकता अनुसार उपलब्ध गराउन आफूहरू तयार रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए । सरकारका जिम्मेवार अधिकारीलाई यस बारेमा जानकारी गराइएको उनले बताए । विश्वविद्यालयका उपकुलपति बाँस्कोटाले सबै तहका सरकारले विश्वविद्यालयको संरचना आवश्यकता अनुसार प्रयोग गर्न सकिने पनि बताए। विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय विभाग, कार्यालयका साथै खुला चउर उपयोग गर्न आफूले प्रस्ताव गरेको उनको भनाइ छ । उपकुलपति बाँस्कोटाले सङ्क्रमितको सङ्ख्या बढेको अवस्थामा खुला चउरमा टेन्ट हालेर पनि बिरामीको उपचार गर्न सकिन्छ, यो अवस्थामा विश्वविद्यालयको खुला परिसर उपयोग हुन सक्ने कुरा बताए। कीर्तिपुरको बाक्लो बस्तीमा उपचार गर्न समस्या हुने र सङ्क्रमणको जोखिमसमेत हुने भएकाले खुला परिसर उपयुक्त हुने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परिसर कीर्तिपुुरमा विश्वविद्यालयको नाममा तीन हजार रोपनीभन्दा बढी खुला स्थान रहेको जनाइएको छ ।