कोरोना संक्रमितलाई सास फेर्न सघाउने उपकरण हप्तादिन भित्रै बन्ने

कोरोना संक्रमितलाई सास फेर्न सघाउने उपकरण हप्तादिन भित्रै बन्ने
चैत, १२ । कोरोनाभाइरस संक्रमण भएका गम्भीर बिरामीलाई सघन उपचार कक्षमा लैजानु पर्ने अवस्थाको अन्त्य गर्न सक्ने सास फेर्न सघाउने केही उपकरण एक हप्ताभन्दा कम समयमा बनाइएको छ। यूनिभर्सिटी कलेज लन्डनका इन्जिनियरहरूले त्यहाँको अस्पताल र मोटरकार निर्माता कम्पनी मर्सिडिजको फर्मूला वानसँग मिलेर त्यो यन्त्र बनाएका हुन्। त्यसले फोक्सोमा अक्सिजन पठाउने भेन्टिलेटर भन्ने यन्त्र प्रयोग नगरिकनै फोक्सोमा अक्सिजन पठाउन सक्छ। कन्टिनिअस पोजिटिभ एअरवे प्रेसर (सीपीएपी) नाम गरेका उपकरणहरू यसअघि पनि अस्पतालहरूमा प्रयोग हुने गरेको छ। तर तिनको पर्याप्त आपूर्ति हुन सकेको छैन। चीन र इटलीमा कोभिड १९का बिरामीको उपचारमा ती उपकरणको प्रयोग गरिएको छ। अहिले बनाइएका ४० वटा नयाँ सीपीएपी उपकरण युनिभर्सिटी कलेज अफ लण्डनको अस्पताल र अन्य तीन अस्पतालमा पठाइएको छ। अहिले जारी परीक्षण सफल भए मर्सिडिज एएमपी एचपीपीले प्रतिदिन एक हजारका दरले त्यस्तो उपकरण बनाउन सक्नेछ। ब्रिटेनको औषधि तथा स्वास्थ्यउपचार सामग्री नियामक निकाय एमएचआरएले तिनको प्रयोग गर्न आवश्यक स्वीकृति दिइसकेको छ। बीबीसीबाट