एजेन्सी, १८ चैत । चीनिया भाइरस भनेर कोरोनालाई खिसिट्युरी गर्ने अमेरिकालाई यातिबेला यही भाइरसले गलाउँदै लगेको छ । अमेरिकामा कोरोना संक्रमणबाट तीन हजार संख्यामा मानिसहरुको ज्यान गएपछि बल्ल राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासँग जुझ्न अमेरिका निकै राम्रो अवस्थामा पुगेको बताएका छन्।
उनले अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगेको पनि दाबी गरेका छन्।
ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, 'अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।'
ट्रम्पका अनुसार अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ।
'मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइनेछ।'
एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए।
कोरोनाभाइरसका कारण अमेरिकामा दुई लाखको मृत्यु हुन सक्ने ट्रम्प कार्यदलका एक अग्रणी विज्ञले चेतावनी दिएका छन्।
तर ट्रम्पले पुनः भने, 'केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्।'
फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ।
प्रतिक्रिया