काठमाडौँको ‘मुटु’ मात्रै,  छाती र कलेजो चाहिँ छैन ?

काठमाडौँको ‘मुटु’ मात्रै,  छाती र कलेजो चाहिँ छैन ?

फणीन्द्र फुयाल

काठमाडौंमा व्यापार व्यवसाय संचालन गर्नेहरुले बिभिन्न सञ्चारमाध्यममा विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा हामीले देख्ने, सुन्ने र पढ्ने गरेका छौं, काठमाडौंको मुटु न्युरोडमा रहेको, बानेश्वरमा रहेको, बालुवाटारमा रहेको वा यस्तै अन्य फलानो मुटुमा रहेको कलेज, पार्टी प्यालेस, जग्गा, पसल, इत्यादिमा भर्ना खुल्यो, बिक्रीमा छ वा यस्तै यस्तै ।

विभिन्न सञ्चारमाध्यम तथा विशेषगरी अनलाइन न्यूज पोर्टलहरुका समाचारमै पनि देखिन्छ कि काठमाडौंको मुटु गौशालमा आज भएको कार दुर्घटनामा..., मुटु मैतिदेवीमा भएको आगलागीमा..., मुटु साँसद भवन अगाडि सडकमा भएको प्रदर्शनमा... वा अन्य यस्तै समाचार ।

कि काठमाडौको पनि मानव अंग भए जस्तै अन्य अंगहरु कलेजो, छाती, नशा, हात, खुट्टा, टाउको, गर्धन, आदि पनि छन् ? ती अंगहरु छन् भने कहाँ छन् त ? तिनको त कुनै पनि विज्ञापनमा नामो निशान छैन ?

खैर जे होस् ! काठमाडौंको मुटु भनेर सायद काठमाडौंको मध्य भागलाई इङ्कित गर्न खोजिएको होला । तर काठमाडौंको मुटु चाहिँ कुन हो त ? काठमाडौंको मध्य भाग कुन स्थान हो ? के सरकारले काठमाडौंको केन्द्रबिन्दू यही स्थान हो भनेर कुनै पनि स्थानलाई तोकेको प्रमाणित कहीँ कतै छ र ? कतै कुनै भूगोलबिद्ले नाप नक्सा तयार पारेर काठमाडौंको मुटु पत्ता लगएको छ ?

यदि यसको बारेमा कुनै तथ्य, तथ्याङ्क र प्रमाण छैन भने किन आफु खुसी काठमाडौंको जुनसुकै स्थानलाई काठमाडौंको मुटु भनेर गलत प्रचारबाजी गरिदैंछ ? यस्तो प्रकारको गलत प्रचारबाजीले हाम्रा आगामी नयाँ पिढी र सन्ततिलाई कस्तो जानकारी र सन्देश छोडेर जाँदैछौँ हामी ? त्यसको बारेमा हामी आजैदेखि सचेत हुनुपर्ने देखिएको छ ।

नत्र भने रेडियो, टिभी, र पत्रपत्रिकामा आउने विज्ञापनमा किन यत्तिसारो छाडापन र मनपरी हुँदैछ ? के यसलाई नियन्त्रण र नियमन गर्नुपर्ने होइन ? किन विज्ञापन र पैसाका लागि सञ्चारमाध्यमले आफ्नो सामाजिक उत्तरदायित्व बिक्री गर्दैछन् ? यस्तो गलत प्रचारबाजीको रोकथाम गर्ने कि सवैले थाहा पाएर पनि जिम्मेवारीबाट पञ्छिरहने ? सञ्चारमाध्यम समाजप्रति उत्तरदायी बन्नु पर्दैन ? विज्ञापन पाइयो भन्दैमा जस्तो सन्देश दिने विज्ञापन पनि प्रकाशन गर्ने ? यो प्रश्नको सम्बन्धित निकायले चाँडै समाधान खोज्नु आजको टड्कारो आवश्यकता हो । र, यसबारेमा सञ्चारमाध्यमका सञ्चालकहरुले पनि गम्भीर भएर सोच्नु पर्ने होइन र ?