दुई सरकारको समझदारीपछि सीमामा रहेका नेपालीहरु क्वारेन्टाइनमा  

दुई सरकारको समझदारीपछि सीमामा रहेका नेपालीहरु क्वारेन्टाइनमा  

रामसिंह ठगुन्ना

१९ चैत्र, कञ्चनपुर । सरकारले लकडाउनको घोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशभरिका उद्योगधन्दा, कलकारखाना र व्यापार व्यवसाय बन्द अवस्थामा रहेका छन् । समाजिक दूरी बनाएर छिटफुट रुपमा दैनिक उपभोग्य सामग्रीहरु किन्न साँझ विहान मान्छेहरु वाहिर निस्किए पनि दिनमा प्रायःजसो बजार क्षेत्र र सडकहरु सुनसान देखिने गरेको छ । सरकारले लकडाउनलाई प्रभावकारी बनाउनका लागि ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरेको छ भने लकडाउनको अवज्ञा गर्नेहरुलाइ नियन्त्रणमा लिएर केही कडाइ पनि गरेको छ । पछिल्लो समयमा भने लकडाउनको जनताले राम्रैसँग पालना गर्दै जान थालेका छन् । 

सुदूरपश्चिम प्रदेशको खासगरी भारतका सीमा जोडिएका क्षेत्रहरुमा घर फर्किने नेपालीहरुको क्रम भने लामो समयसम्म निरन्तर जारी रह्यो । सरकारले लकडाउन घोषणा गरेको करिब एक सातासम्म नेपालीहरु भारतबाट सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम जारी रह्यो । विभिन्न कामको सिलसिलामा र मजदुरीका लागि भारतबाट नेपाल फर्किने नेपाली नागरिकहरुको आउने क्रम स्वाभाविक भए पनि यो सँगसँगै संक्रमण फैलिने त्रास पनि त्यतिकै रहेको थियो । नाका बन्द र लकडाउनको अवस्था रहेको भए पनि नागरिकहरु नाकामा आउने र अलपत्र पर्ने क्रमले बाध्यात्मक परिस्थितिले पनि नागरिकलाई देश भित्र्याउने सरकारको दायित्व स्वाभाविक बन्ने नै भयो । नेपाल सरकार र भारत सरकारको पछिल्लो समझदारीपछि भने दुवै देशका सीमा नाकामा रहेका नागरिकहरुलाई जुन देशमा बसेका छन् सोही देशले क्वारेन्टाइनमा राखेर खानपिनको बनदोबस्त गर्ने भनेपछि भने दुई तीन दिन यता सीमा क्षेत्रमा प्रबेश गर्नेहरुको क्रम रोकिएको छ भने नेपाल र भारत दुबै तर्फका क्वारेन्टाइनमा सीमामा अलपत्र परेका नागरिकहरुलाई राखिएको छ । 
 

व्रहम्देव क्षेत्रमा प्रबेश गरेका नागरिकहरुलाई सोही क्षेत्रमा क्वारेन्टाइनमा राखेर भीमदत्त नगरपालिका वडा नं.९ को कार्यालयले र बाँकी स्थानीय व्यापारी र समाजसेवीहरुले खानपानको व्यवस्था गरिदिएका छन् भने भारतको वनवासा क्षेत्रमा रहेका नेपालीहरुलाई त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइनको व्यवस्था गरेर खानपानको व्यवस्था गरेको छ । धनगढीको गेटा र त्रिनगर भन्सार नजिकका क्षेत्रहरुमा बनाइएका क्वारेन्टाइनमा भारतीय मजदुरहरुलाई राखिएको छ । उनीहरुको खानपानको व्यवस्थापन प्रदेश सरकार र स्थानीय तहले गर्ने भएको छ । दार्चुलाको भारतीय क्षेत्र धारचुलामा रहेका नेपालीहरुलाई पनि त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ । स्थानीय प्रशासनसँगै त्यहाँका व्यापारी र समाजसेवीहरुले खानपानका व्यवस्था गरेका छन् । 

बैतडी, डडेल्धुराका सीमा क्षेत्रहरुमा पनि सोही अनुरुप व्यवस्थापन गरिएको छ । नागरिक आवत जावत भन्दा पनि विश्व महामारीकोृ रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ कसरी नियन्त्रण हुन्छ र यसलाई मानव जातिले कसरी नियन्त्रण गर्न सक्छ भन्ने कुरा अहिलेको प्रमुख बिषय बनेको छ । त्यस कारण दुवै देशको समझदारी पश्चात सीमा क्षेत्रमा रहेका नेपाल र भारतका नागरिकहरुलाई जुन देशमा रहेका छन्, सोही देशेको क्वारेन्टाइनमा राख्ने सहमति भएको छ । सो सँगै सीमा क्षेत्रमा रहेका नेपाल र भारतका नागरिकहरु सोही देशको क्वारेन्टाइनमा बसिरहेका छन् ।