दिल्लीको निजामुद्दिन मरकजमा सहभागीहरु सप्तरीकै धेरै, सात जना गिरफ्तार

 दिल्लीको निजामुद्दिन मरकजमा सहभागीहरु सप्तरीकै धेरै, सात जना गिरफ्तार

१९ चैत, सप्तरी । हालै भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्दीन मरकजको जमातमा सहभागी भएकाहरुमध्ये आठ जना भन्दा बढी सप्तरीकै रहेको खुलेपछि स्थानीयहरुमा त्रासको अवस्था सिर्जना भएकोे छ । यस्तो रहस्य खुले लगत्तैै प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको छ । त्यसमध्ये सात जनालाई आज सप्तरी प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । अन्यको खोजी भइरहेको जनाइएको छ । 

दिल्लीको मरकजमा विश्वका १५ देशका सहभागी करिव एक हजार सात सयमध्ये १९ जना नेपालकै रहेको खुल्न आएको छ । उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये राजविराज नगरपालिका वडा नम्वर–६ का एक जना, वडा नम्वर ३ महम्मदपुरका दुई जना, वडा नम्वर १ का एक जना रहेको श्रोतले बताएको छ । यस वाहे अरुको बारेमा स्पष्ट गरिएको छैन ।

सीमा नाका पूर्ण रुपमा बन्द गरे पनि खुल्ला सिमानाका कारण सुटुक्क चोर बाटो प्रयोग गरी उनीहरु सोमवार राति राजविराज आइपुगेको स्रोतको दावी छ । मरकजबाट सहभागी भई घर फर्केका उनीहरु आफ्नै घरमा गोप्य रुपमा बस्दै आएकोे बताइएको छ । 

आफ्नो वडाबाट जमातमा ६ जना सहभागी भएको स्वीकार गर्दै राजविराज नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष मो.अख्तरले उनीहरु सुनसरी जिल्लातर्फ रहेको आफूले जानकारी पाएको बताए । उनीहरु हाल कुन ठाउँमा छन् ? आफनो जानकारीमा नरहेको, सम्पर्कमा आए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा लगिने बताए ।

यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ बाट समेत भारत दिल्लीको निजामुद्दिनस्थित मरकजको जमातमा चार जना सहभागी भएको वडाध्यक्ष मो. इब्राहिमले समेत स्वीकार गरेका छन् । यद्यपि उनीहरु हालसम्म घर नफर्केको जानकारी दिँदै उनले सहभागी भएकाहरु विहारको कुनै सुरक्षित स्थानमा रहेको भनी पारिवारिक श्रोतबाट जानकारी आएको इब्राहिमको भनाइ छ । 

यसबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले आफूले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको र उच्च जोखिममा रहेकाले खोजी भइरहेको बताए । उनीहरुलाई आफै स्वस्फूर्त रुपमा क्वारेन्टाइनमा आएर बस्न आग्रह गरे ।

यसैबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जमातमा सहभागी भएकाहरुमध्ये सात÷आठ जना राजविराजकै रहेको सूचना आए लगत्तै सोधखोज भइरहे पनि सम्भावित भनिएका व्यक्तिहरु आफूहरुको सम्पर्कमा नआएको जानकारी दिए ।