यस्तो छ खेलकुद क्षेत्रमा जकडिएको विभेदको राजनीति 

यस्तो छ खेलकुद क्षेत्रमा जकडिएको विभेदको राजनीति 

काठमाडौं । कुनै समय नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदको यस्तो नारा तय गरेको थियो, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ।’ लामो समय नेपाली खेलकुद यसरी गुज्रियो कि कुनै नेतृत्वले राम्रो काम गरिरहेको छ भने त्यसपछि आउने अर्को नेतृत्वले अघिल्लो नेतृत्वको योजना र कामलाई निरन्तरता दिँदैनथ्यो । खेलकुदका नारा नेतै पिच्छे फेरिन्थे । किनकि खेलकुदमा व्यापक राजनीतिकरण थियो ।

हो, नारामा भनिएजस्तै खेलकुदले मानिसको व्यक्तिगत स्वास्थ्य त मजबुत बनाउँछ नै यसले राष्ट्रको नाम, मान र शान पनि विश्वसामु चिनाउँछ । तर सबै खेल र खेलाडीलाई राज्यले उचित अवसर र सम्मान भने दिनै पर्छ । कसैलाई काखा र कसैलाई पाखा भने नेतृत्वले गर्नु हुँदेन । 

हार वा जीत खेलको पाटो हो । कुनै एक टोलीलाई अन्तर्राष्ट्रिय जगतमा खेल जितेर स्वदेश फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ अनि अर्को टोली फर्कदा खेलकुदका कुनै पनि पदाधिकारी विमानस्थलमा देखिदैनन् ।

पछिल्लो समय नेपाली महिला र पुरुष क्रिकेट टोलीबीचमा विमानस्थलमा देखिएको सरकारी पदाधिकारीको विभेदको दृश्य हो यो । थाइल्याण्डमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक हप्ताअघि स्वदेश फर्कियो । महिला टोली अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा न कुनै खेल पदाधिकारी विमानस्थलमा देखिन्थे न त क्रिकेटसँग सम्बद्ध व्यक्ति नै त्यहाँ थिए ।

अन्तर्राष्ट्रिय जगतमा बलियो उपस्थिति जनाउने क्रममा थाइल्याण्डमा भएको आइसीसी टी–२० विश्वकप एशिया छनोटमा नेपाली टोली उपविजेता हुँदै फर्कियो । आइसीसीकै नियमानुसार शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल छनोटका लागि छानिने प्रावधान रहेकाले आयोजक थाइल्याण्ड शतप्रतिशत जीत निकाल्दै छनोट भएको थियो । नेपाल थाइल्याण्डसँग मात्रै पराजित भयो । जसका कारण १० अङ्क जोडे पनि छनोट नभई घर फर्कनुपरेको हो ।

विमानस्थलमा नेपाली महिला क्रिकेट टोलीलाई स्वागत गर्न कोही नपुग्दा खेलाडीहरु निराश देखिन्थे । यसअघि समर्थकको पनि बाक्लो उपस्थितिले खेलाडीलाई बाहिर आउन हम्मेहम्मे पर्ने गरेकोमा महिला क्रिकेटरको जीतमा कोही पनि शुभचिन्तक तथा पदाधिकारीहरु विमानस्थल नपुग्दा खेलाडीहरुको शिर उच्चो थिए ।

अघिल्लो महिना युएइमा सम्पन्न टि–२० र एक दिवसीय शृङ्खला जितेर स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा रातो कार्पेट नै ओच्छयाइएको थियो । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुगेर विमानस्थलमै व्यक्तिगत रु दश÷दश हजार पुरस्कार प्रदान गरेका थिए । यसैगरी सरकारले जनही रु पाँच÷पाँच लाख दिने निर्णय गरिसकेको छ । महिला टोलीलाई भने विमानस्थलमा स्वागतसमेत गरिएन । नेपाली क्रिकेट टोलीकी कप्तान रुवीना क्षेत्री छोटो समयमा महिला क्रिकेट टोलीले अन्तराष्ट्रय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताउँदै विमानस्थल आइपुग्दा आफूहरुलाई नरमाइलो लागेको बताइन् । “यस्तै हो भने नेपालमा महिला क्रिकेट पनि छ नभने पनि हुन्छ”, उनको भनाइ थियो । 

युएइबाट शृङ्खला जितेर स्वदेश फर्केकै दिन पाकिस्तानबाट पनि दृष्टिविहीन क्रिकेट टोली अर्को शृङ्खला जितेर स्वदेश फर्किएको थियो । दृष्टिविहीन टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट विमानस्थल पुगेका थिए । उनीहरुलाई सोही दिनै युवा तथा खेलकूद मन्त्रालयमा बोलाएर सम्मान पनि गरियो । तर, उनीहरुलाई राखेपले जनही  एक÷एक लाख र प्रशिक्षक तथा व्यवस्थापकलाई जनही  ५० हजार दिन सिफारिश गरेको थियो । यद्यपि उक्त रकम अझै खेलाडीहरुको हातमा पर्न सकेको छैन ।

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको र पहिलोपटक नै पाकिस्तानविरुद्धको सिरिज जितेर फर्किएको नेपाली दृष्टिविहीन टोलीलाई राज्यले उपेक्षा गरेको दृष्टिविहीन क्रिकेट सङ्घका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठको गुनासो छ । राखेपले १५ खेलाडीलाई जनही एक लाख तथा सात अफिसियललाई जनही रु ५० हजार प्रदान गर्न मन्त्रालयमा सिफारिश गरे पनि मन्त्रायबाट अहिलेसम्म निर्णय हुन सकेको छैन ।

कुनै खेलाडी ग्रुप इभेन्टका हुन्छन् भने कुनै खेलाडी व्यक्तिगत तथा तौल समूहमा प्रतिस्पर्धा गर्ने हुन्छन् । त्यसैले खेलकुद परिषद्ले खेलाडीहरुलाई समान रुपले व्यवहार गर्ने, तोकिएकै समयमा घोषणा गरिएको पुरस्कार प्रदान गर्ने र नयाँ खेलाडी उत्पादन गर्नका लागि खेलकुद क्षेत्रका पदाधिकारी तथा अधिकारीहरुमा जकडिएको भेदभावको राजनीति अन्त्य हुन सके नेपाली खेल क्षेत्रले पनि विश्वमा आफ्नो पहिचान सगरमाथा जस्तै उच्चो बनाउनेमा कसैको दुईमत नरहला ।