औषधि नभएको कोरोना रोगलाई हराउन अब महादेब गुहार्ने कि ?
वसन्त पोखरेल
सायद नौँ कक्षामा पढ्थेँ मैले । पढ्ने स्कूलको नाम हो, मुक्ति माध्यामिक विद्यालय । जिल्ला प्युठान हो । ठाउँ रातामाटा हो । त्यसको स्थापना २००७ सालमा भएको थियो रे । विद्यालयको भित्तामा टाँगिएको सूचना सुचीले पनि त्यो कुरा पुष्टि गथ्र्यो । यसरी हेर्दा म त्यो विद्यालय जन्मन भन्दा चार बर्षपछि जन्मेको थिएँ । मेरो घरबाट त्यतिबेला नांगा खुट्टा पैदल हिँड्दा पौने घण्टा लाग्थ्यो । सो कालमा त्यसलाई सुगम नै मान्नुपर्छ । तिनताका असारको मध्यमा अर्धबार्षिक परीक्षा हुन्थ्यो । हामी त्यसको तयारीमा थियौँ ।
असारको मध्यावधिसम्म आकाशमा वादल देखिएन । विना वादल पानी बर्षँदैन । खोई, कसले आयोजना गर्यो, त्यति जानकारी भएन । प्रधानाध्यापकबाट आदेश आयो, सबै बिद्यार्थी अनिवार्य उपस्थित हुनुपर्ने, किताव, कापी ल्याउन नपर्ने । पानी नपरेकोले भोलि धर्मावती नदीमा यज्ञ आयोजना हुँदैछ । सबैजना त्यहाँ जाने । ठीक दश बजे आइपुग्नु पर्ने । अँ, दमै, कामी सार्की, सुनार, विश्वकर्मा कोही नआउने । अहिलेको भाषामा जे भनिए पनि त्यतिबेलाको ब्राह्मणवादी भाषामा आदेशात्मक सूचना यस्तै हुन्थ्यो । पालना गर्नैपथ्र्यो ।
सूचनाअनुसार विद्यालय गएका हामी सबै विद्यार्थीलाई बिजुवार बजारको बाटो हुँदै धर्मावती नदीको तिरमा लस्कर लगाएर पुर्याइयो । मानौँ, हामी जुलुसमा हिँडिरहेका छौँ । तर, मौन । भनौँ कसैको मलामी बनेर हिँडिरहेका छौँ । नदी किनारामा पुगेपछि हामीमध्ये कोहीलाई आदेश दिइयो, ताजा हरिया पिपलका पातहरु टिप्न जाऊ । कसैलाई भनियो, चेप्टाखाले ढुंगा ओसार । कसैलाई भनियो, चन्दन घोट । त्यतिबेला नाइनास्ती गर्ने हिम्मत कसमा हुन्थ्यो र ?
खटाइएअनुसार काम गरियो । पिपलका पातलाई कापी बनाएर पिपलकै डाँठलाई कलम बनाएर चन्दनको मसीमा चोपेर हर हर महादेव भनेर खुबै लेखियो । लेख्न बसेका हामीलाई एक लाख लेख्नुपर्ने आदेश थियो । कति लेखियो थाहा भएन । तर, थुप्रै पातमा लेखियो । लेखिएका पातलाई धर्मावतीको पानीमा बगाइयो । ढुंगाले छेकेका पातलाई लौरोले कोट्याएर पनि बगाइयो । पौडी खेलियो । पसिना धोइयो । ढुंगामा बसेका भ्यागुताहरु खुबै टर्टराएका थिए ।
धोती लगाएका बाहुनहरुको टोलीले ताउलोमा केही पकाइरहेका थिए । परिकारको गन्ध त नाकमा आएको थियो । मुख रसाएको थियो । तर, जाने र हेर्ने अनुमति थिएन । पछि प्रसादको नाममा मनभोग (हलुवा) खान पाइयो । थपेर गोजेरो भरिने गरी खान पनि पाइएन । उपलब्धि त्यत्ति भयो । आयोजकहरुले यस्तो ब्यवस्था मिलाएका रहेछन् ।
पानीमा खेल्दा थाकेको ज्यान, घरमा पुगेर तातो गास पेटमा परेपछि निद्रामा भुसुक्क भइयो । संसारमा के भयो केही थाहा पाइएन । तर, विहान उठ्दा छानोभन्दा बाहिर पानी बर्षेर गुदुक्क भएको रहेछ । आकाशमा हेर्दा काला बादलहरु कपर्दी खेल्दै थिए । बेलाबेलामा विजुलीको चमक र गड्यांगको अप्रिय ध्वनीले आँखा र कानलाई आकर्षित गरिरहेको थियो । बर्षाको विशेषता नै हो ।
हिजो पानी परेन भनेर पिपलका पातमा हर हर महादेब लेख्ने मेरा हातहरुले आज बलेनी पानीमा बाबाले भैँसीलाई कुँडो पकाएर ख्वाउनु हुँदै गरेको देख्छु । आमालाई पानीमा भिज्दै लोँडेको साग टिपेर ल्याएको देख्छु । भकार सोहोरेर बलेनी पानीमा गोबर लागेका हात धुँदै गरेको कान्छी दिदीलाई देख्छु । आहा, हिँजो मैले दिनभरि लेखेको हर हर महादेवको उपलब्धि ? कत्रो महान उपलब्धि ?
अहिले विश्व कोरोना भाइरसबाट संक्रमित छ । विश्व साम्राज्यवादको अधिनायक अमेरिकाले आफ्नो मुलुकका अढाई लाख मानिसले ज्यान गुमाउन तयार हुनुपर्ने आदेश फर्माएको छ । चीनले कोरोनालाई हराइसक्यो । इटलीले शुरुमा नजरअन्दाज गर्दा क्षति ब्यहोरिरहेको छ । स्पेनले पीडा खेप्दैछ । भारतले अझै पूर्ण सावधानी अपनाउन सकेको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरस हलुका छिरेको भनिएको छ । कसैको मृत्यु भएको खबर सुनिएको छैन । औषधि नभएको रोगलाई हराउन अब हर हर महादेब भन्नु भन्दा अरु के नै विकल्प होला र ?
बुटवल १३
प्रतिक्रिया