विश्व सुरक्षा बजेट रणनीतिमा कोरोनाले निम्त्यायो हलचल

विश्व सुरक्षा बजेट रणनीतिमा कोरोनाले निम्त्यायो हलचल

झिल्को टिप्पणी

विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले विश्वका शक्तिशाली मुलुक त्राहिमाम भएका छन् । तिनीहरुका अत्याधुनिक हतियारहरु कोरोनाले बेकम्मा सावित गरिदिएको छ । यो अवस्थामा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्पेनसहित विश्वका ३० देश सदस्य रहेको उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मुलुकहरुले ठूलो धनराशी सैन्य शक्ति संचय र विकासका लागि खर्च गर्दै आएका छन् । कोरोनाका कारण ती मुलुकहरु खर्च रणनीति परिवर्तन गर्न बाध्य हुने देखिएको छ । ती देशहरुको कूल औसत जीडीपीको २.५ प्रतिशत रकम सैन्य क्षेत्रमा लगाउँदै आएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इष्टिच्युट (एसआईपीआरआई) का अनुसार सन् २०१९ मा मात्रै विश्वमा सैन्य क्षेत्रमा १८ खर्ब २२ अर्ब अमेरिकी डलर खर्च भएको छ । त्यसमध्ये नेटो सदस्य राष्ट्रले मात्रै १० खर्ब ३६ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरेको छ ।

अमेरिकी रक्षा बजेटमा पनि कोभिड–१९ को असर पक्कै पर्ने देखिएको छ तर पनि सैन्य नीतिमा भने उसले खास परिवर्तन गर्ने अवस्था भने देखिएको छैन । पछिल्लो समयमा बाहिरिएका तथ्यहरुबाट रक्षा बजेटको रणनीति भने परिवर्तन हुने देखिएको छ । आईआईएसएसका अनुसार अमेरिकाले प्रत्येक वर्ष छ खर्ब ८४ अर्बभन्दा बढी बजेट सैन्य क्षेत्रमा लगानी गर्दै आएको छ । त्यसैगरी चीनले दुई खर्ब ५० अर्बभन्दा बढी अमेरिकी डलर सैन्य क्षेत्रमा खर्च गर्दै आएको छ भने त्यसपछि साउदी अरेबियाले ६७ अर्बभन्दा बढी र भारतले ६६ अर्बभन्दा बढी अमेरिकी डलर खर्च गर्दै आएका छन् । यो बजेट ती देशको कूल खर्चको ठूलो रकम हो । कोभिड–१९ को असरका कारण ती सैन्य महारथीले सुरक्षा बजेट रणनीतिमा गम्भीर समीक्षा गर्न शुरु गरेका छन् । कोभिड–१९ ले सुरक्षा बजेट रणनीतिमा ठूलो हलचल नै निम्त्याएको छ ।

वर्तमान कोरोना सङ्कट नेटो मुलुकहरुका लागि गम्भीर बनेका कारण पनि विश्व सैन्य रणनीति परिवर्तन हुने सम्भावना देखिएको छ । इन्टरनेशनल इष्टिच्युट फर स्ट्राटेजिक स्टडी (आईआईएसएस) का अनुसार कोभिड–१९ को महामारीको असरले विश्वका रक्षा मन्त्रालयले निसन्देह सैन्य क्षेत्रमा प्रयोग भएका सबै किसिमको स्रोत परिचालनमा ठूलो चुनौति खडा भएको छ । शक्तिशाली सरकारले अपनाइरहेका विदेश नीति, रक्षा र सुरक्षा नीतिको समीक्षा गर्नुपर्ने बेला आएको छ । विश्वको अर्थतन्त्रमा देखिएको उथलपुथलका कारण रक्षा योजनाहरु तथा आर्थिक वृद्धिका अनुमानहरु क्षतविक्षत भएका छन् । आर्थिक सहायता तथा विकास संगठन (ओईसीडी)का महासचिव एन्जेल गुर्रीयाले सन् २०२० मा विश्वको आर्थिक वृद्धि १.५ प्रतिशतले कम हुने अनुमान भएको बताइसकेका छन् । विश्व अर्थतन्त्रमा हुने क्षतिको तत्काल बहाली हुने नदेखिएकाले पनि विश्वका शक्तिशाली देशले आफ्नो प्रतिरक्षामा खर्च गर्ने बजेट कटौतीका लागि बाध्य हुने अनुमान गरिएको छ ।

सन् २००७÷८ को आर्थिक मन्दी सल्टाउन सन् २०१२÷१३ सम्म कुर्नु परेको थियो । सन् २०२० मा देखिएको यो आर्थिक चुनौति सामना गर्नका लागि ठूलो मूल्य चुकाउनुपर्ने देखिएको छ । सन् २०११ मा विश्वको रक्षा खर्च १५ खर्ब ५० अर्ब अमेरिकी डलर थियो । त्यसैगरी सन् २०१६ मा त्यो बढेर १५ खर्ब ५६ अर्ब अमेरिकी डलर पुगेको थियो । एसआईपीआरआईका अनुसार सन् २०१९ मा विश्वले सैन्य क्षेत्रमा १८ खर्ब २२ अर्ब अमेरिकी डलर खर्च गरेको छ । अहिले नेटो सहित शक्तिशाली राष्ट्रहरु कोभिड–१९ को प्रारम्भिक असरको संघर्षमा छन् । पछिल्लो अवस्थामा इटाली र फ्रान्स जुन नेटोका प्रमुख सदस्य राष्ट्रहरु पीडादायिक अवस्थामा छन् । त्यसैगरी स्पेन, जर्मनी, निदरल्याण्ड र बेलायतमा पनि कोभिड–१९ को गम्भीर असर देखिएको छ । 

ती देशका सरकारी खरिद बजेट तथा सैन्य भूमिका पुनःसमीक्षा हुने देखिएको छ । सामाजिक क्षेत्र सुधारका लागि ठूलो सैन्य जिम्मेवारी हुने नेटोले उल्लेख गरेको छ । त्यसले गर्दा नेटो सदस्य देशहरुले रक्षा प्राथमिकता परिवर्तन गर्ने अनुमान गरिएको छ । त्यसैगरी अमेरिकी रक्षा बजेटमा पनि कोभिड–१९ को असर पक्कै पर्ने देखिएको छ तर पनि सैन्य नीतिमा भने उसले खास परिवर्तन गर्ने अवस्था भने देखिएको छैन । पछिल्लो समयमा बाहिरिएका तथ्यहरुबाट रक्षा बजेटको रणनीति भने परिवर्तन हुने देखिएको छ । आईआईएसएसका अनुसार अमेरिकाले प्रत्येक वर्ष छ खर्ब ८४ अर्बभन्दा बढी बजेट सैन्य क्षेत्रमा लगानी गर्दै आएको छ । त्यसैगरी चीनले दुई खर्ब ५० अर्बभन्दा बढी अमेरिकी डलर सैन्य क्षेत्रमा खर्च गर्दै आएको छ भने त्यसपछि साउदी अरेबियाले ६७ अर्बभन्दा बढी र भारतले ६६ अर्बभन्दा बढी अमेरिकी डलर खर्च गर्दै आएका छन् । यो बजेट ती देशको कूल खर्चको ठूलो रकम हो । कोभिड–१९ को असरका कारण ती सैन्य महारथीले सुरक्षा बजेट रणनीतिमा गम्भीर समीक्षा गर्न शुरु गरेका छन् । कोभिड–१९ ले सुरक्षा बजेट रणनीतिमा ठूलो हलचल नै निम्त्याएको छ । २० चैत्र २०७६