आफ्नो देश आउने नेपालीलाई सिमानाको गेट खोल सरकार !

आफ्नो देश आउने नेपालीलाई सिमानाको गेट खोल सरकार !

फणीन्द्र फुयाल ज्वाला

कोभिड–१९ (कोरोना) संक्रमण थप फैलिन नदिन नेपालमा लकडाउन घोषणा भएको १० औँ दिन भइसकेको छ । नेपालमा सार्वजनिक यातायातका साधनहरु सडकमा चल्न पाएका छैनन् । नेपाली आकाश पनि शूून्यप्राय नै छ । बजारमा खाद्य सामग्रीको कृत्रिम अभावले शिखर चुमेको छ । कालोबजारीलाई कमाउने राम्रो अवसर भएको छ ।  

हाम्रो छिमेकी देश भारतमा रोजगारीका लागि गएकाहरु धमाधम नेपाल प्रवेश गर्न सिमानामा आएर बसेका छन् । तर सरकारले उनीहरुसँगै कोरोना संक्रमणका थप विरामीहरु पनि नेपाल आउने भन्दै निर्वाध रुपमा स्वदेश भित्रिन दिएको छैन । 

नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सीमा क्षेत्रमै अलपत्ररुपमा खुला बारीमा राखिएका खबर पनि आइरहेका छन् । आफ्नै देश खोज्दै आफ्नै परिवारजनका साथमा अन्तिम श्वास फेर्ने धोको बोकेर देश प्रवेश गरेका आफ्नै नागरिकहरुप्रति गरिएको यो व्यवहार अमानवीय, गैरजिम्मेवार छ । 

धनी, सुबिधासम्पन्न विभिन्न देशका सरकारले भने आफ्ना नागरिकलाई कूटनीतिक पहल गर्दै हवाइजहाज चार्टर गरेर ओसारी रहेका छन् । नेपालमै रहेका आफ्ना नागरिकलाई अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकहरुले केही दिनअघि मात्रै स्वदेश फिर्ता गरिसकेका छन् । नेपाल सरकारले पनि कोरोना भाइरस उत्कर्षमा पुगेको बेलामा चीनको वुहानबाट प्लेनबाट आफ्ना नागरिकलाई ल्याएको थियो । आफ्नै पहलमा असाध्यै कस्टपूर्ण ढंगले देशको सिमानामा आएपछि तँ उतै बस भनेर रोकिदिंदा कति पीडाबोध भएको होला ? 

परिवारसँग साथमै बसेर वा सुविधा सम्पन्न प्रविधि हातमा लिएर विदेशमै भएका परिवारसँग क्षणक्षणमा सम्पर्कमा नै रहेर एउटा निसहाय, आफू र आफ्नो परिवारका लागि अन्तिम विकल्प खोज्दै भारतमा रोजगारीमा गएका श्रमिकहरुलाई स्वपहलमा नै आउन खोज्दा भावनाको कुरा नगरौं भन्दै आफ्नो देश, घर परिवार भेट्न आतुर नागरिकलाई विदेशी भूमिमा, सीमा क्षेत्रमा शरणार्थी बन्ने अवस्थामा पुर्याउनु कदापी सही होइन । 

दुई छाक टार्नकै लागि मजदुरी गर्न भारत गएका नेपालीहरु केही दिन यता सीमामा अनिच्छापूर्वक रातहरु कटाउन बाध्य छन् । भारतले उताबाट खेद्ने र नेपालले यता स्वदेश प्रवेशमा अनुमति नदिने कार्यले गर्दा महिला, बृद्ध, बृद्धा, रोगी, सुत्केरी तथा बालबालिकाहरु खुल्ला चौरमा भोकभोकै रात काट्न बाध्य बनिरहेका समाचारहरु आइरहेका छन् । संकटका बेला राज्य आफ्ना जनताप्रति यत्ति सारो गैरजिम्मेवार बन्न मिल्छ र ? उनीहरुले कमाएर ल्याएको धनमा गर्व गर्ने सरकारले कोरोना जस्तो विश्व महामारीको यो संकटमा देश प्रवेश गर्न दिनु नै सरकारको जनताप्रतिको उच्च सम्मान हो । जनउत्तरदायीपूर्ण व्यवहार हो ।

यद्यपि यसरी भारत तथा अन्य मुलुकबाट आएका जनतालाई अन्य समयमाझैँ खुुलमखुला र निर्वाध रुपमा जहाँतहीँ आफूखुसी भने छोड्नु हुँदैन । त्यस्ता नेपाली नागरिकहरुलाई सरकारले आफ्नै घरगाउँमा पुर्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउननु पर्छ । भारतबाट आउने सबै कोरोना भाइरस संक्रमण संक्रमित होइनन होला । जसरी वुहानबाट ल्याएर निश्चित समय क्वोरण्टाइनमा सरकारले राख्यो, चेकजाँच गर्यो, त्यो प्रक्रिया भारतबाट आउने श्रमिकलाई पनि गर्नुपर्छ । पहुँच र प्रभाव भएका र नभएका नागरिकलाई राज्यले फरक व्यवहार गर्नु हुँदैन । जिम्मेवारी, भूमिकामा नागरिक फरक हुन सक्छन तर राज्यका हिसावले हरेक नागरिक बराबर नै हुन्छन । सीमा क्षेत्रमा आफ्नो देश, घर, परिवारबाट अलगथलग भएका नागरिकले देश, यहाँका शासकप्रति अहिले कस्तो दृष्टिकोण बनाएका होलान ? 

हामी संविधान बमोजिम संघीयताको कार्यान्वयन गरिरहेका छौँ । हामीसँग तीन तहको सरकार छ । क्वारेण्टाइन, आइसोलेशनको जिम्मा स्थानीय, प्रदेश सरकारलाई दिए हुन्छ । छिमेकी देशमा मजदुरी गरेर आफ्नो देश, घरपरिवार भन्दै खोज्दै आएका आफ्ना नागरिकलाई देशभित्र आउन नदिएर सरकारले गैरजिम्मेवार काम गरेको छ ।
 
भर्खरै उपप्रधान तथा रक्षामन्त्री एवम् कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका ईश्वर पोखरेलले एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘बढी भावुकतापूर्ण कुरा गर्नुको अर्थ छैन । भारत र नेपालको जुन खालको सीमा सम्बन्ध छ, त्यो छँदैछ तर अहिलेको यस संकटपूर्ण अवस्थामा हामीले गरेको निर्णयलाई सबैले सकारात्मक रुपमा लिई दिनुपर्छ ।’ उनले भनेका छन्, ‘दुवै देशको उपल्लो राजनीतिक नेतृत्वको बीचमा बृहत् बुझाइका आधारमा सीमा पारि रहेका नेपाली नागरिक अहिले यता नआउने, भारतले प्रबन्ध गरेर, क्वारेन्टाइन बनाएर, खान दिएर राख्ने कुरा भएको छ । यताबाट पनि भारतीय नागरिक जान खोजेको भन्ने सुनेका छौँ, उहाँहरुलाई पनि नेपाल सरकारले प्रबन्ध गर्ने भन्ने भएको छ ।

तर, उनले यस्तो तर्क गरिरहँदा केही नेपालीहरु ज्यानको बाजी लगाएर ‘मरे पनि नेपालमै, बाँचे पनि नेपालमै’ भन्ने भावनाका साथ महाकाली नदीमा हेलिएर नेपाल प्रवेश गरेका छन् । ती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रियता भन्ने कुरा जुन देशको नागरिक जहाँ पुगे पनि उसको मन मस्तिष्कमा बाँचिरहेको हुन्छ, अनि नाचिरहेको र हाँसिरहेको हुन्छ । त्यसैले यो विश्व संकटका बेला यदि कुनै पनि नागरिक आफ्नो देश प्रवेश गर्छु भन्दै आयो भने उसलाई स्वदेश फर्किने गेटमा ताला लगाए गेटमै आत्महत्या गर्न, जोखिम मोल्न बाध्य पार्ने होइन, बरु देश प्रवेश गराउनै पर्छ । यो एउटा जिम्मेवार देशले नागरिकप्रति गर्ने कर्तब्य नै हो । 

 लकडाउनकै बेला देशभित्र आइसकेका नागरिकलाई पनि सिमानामै खुल्ला आकाश मुनि राख्न हुँदैन । उनीहरुलाई मानवीय धर्म निर्वाह गर्न सरकार कत्ति पनि हिच्किचाउनु हुँदैन । अन्य तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई हवाइ जहाज चार्टर गरेर स्वदेश ल्याउन व्यावहारिक रुपमा अहिले सम्भव नहोला, नसकिएला तर देशभित्र आइसकेका र देश खोज्दै सिमानामा आएर रुँदै बसेका नेपालीहरुको आँसु पुछ्ने हिम्मत यो कम्युनिष्ट सरकारसँग हुनै पर्छ । श्रमजीवीको वकालत गर्ने कम्युनिस्ट सरकारले वास्तविक श्रमिक, जो भारतमा गएर आफ्नो र परिवारका लागि पसिना बगाएर आफ्नो यो दुःख, संकटका बेलामा थातथलो फर्कने व्यग्र प्रतिक्षाका साथ आएका छन्, तिनलाई सामाजिक दूरी कायम गरेर या कसरी हुन्छ घरगाँउमा पुर्याउने काम गर्नैपर्छ । मानौं सीमामा कुनै कारणले जीवन गयो भने, नजाओस, यदि कुनै दुर्घटना भयो भने तिनको परिवार र समाजलाई कस्तो असर पार्ला ? परिवारसँग साथमै बसेर वा सुविधा सम्पन्न प्रविधि हातमा लिएर विदेशमै भएका परिवारसँग क्षणक्षणमा सम्पर्कमा नै रहेर एउटा निसहाय, आफू र आफ्नो परिवारका लागि अन्तिम विकल्प खोज्दै भारतमा रोजगारीमा गएका श्रमिकहरुलाई स्वपहलमा नै आउन खोज्दा भावनाको कुरा नगरौं भन्दै आफ्नो देश, घर परिवार भेट्न आतुर नागरिकलाई विदेशी भूमिमा, सीमा क्षेत्रमा शरणार्थी बन्ने अवस्थामा पुर्याउनु कदापी सही होइन । 

संघीय सरकारले माथिबाट धेरै काम गर्न नभ्याउला, प्रदेश सरकारले पनि सीमा क्षेत्रमा रहेका र देशभित्र पनि अलपत्र रुपमा रहेका नागरिकलाई गन्तव्यसम्म लैजाने र परिवारको रेखदेखमा नै क्वारेण्टाइनमा राखिदिने व्यवस्था गर्नुपर्यो । केन्द्रबाट अधिकारको माग गर्ने प्रदेश र स्थानीय सरकारले जनताका पीडामा स्वतन्त्र पहल गरेर उद्धार गरे हुँदैन ? २० चैत्र २०७६