ठूला महल छेउमा रहेको झुपडीमा चुल्हो बल्नै छाडेपछि....

ठूला महल छेउमा रहेको झुपडीमा चुल्हो बल्नै छाडेपछि....

प्रेम दाहाल
 

सिन्धुली जिल्ला अदालत अगाडिको खोला किनार छेउमा आठ वर्षीय रामजी सानो कचौरामा खाना खाइरहेका थिए । उनीसँग अर्का दुई वर्षका वालक पनि थिए, सडक खाली थियो, लकडाउनका फाइदा उठाएरै हुनुपर्छ, उनीहरु सडकमा त्यसरी बसेर आफु र आफ्नो सानो भाइलाई रामजीले खाना खुवाइरहेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन खानेपानी कार्यालय र जिल्ला भवन कार्यालयका ठूला र आकर्षक एवम् ठूला भवनहरु छन् । त्यहाँबाट हिड्ने जो कोही मानिसहरुको आँखा त्यही आकर्षक भवनतिर नै जान्छ । झण्डै दुई सय मिटर तल जिल्ला प्रशासन कार्यालय पनि छ । उक्त बाटो लकडाउन अगाडि झण्डै दैनिक तीन, चार सय मानिसहरु ओहोर दोहोर पनि गर्थे तर त्यहाँको सडक मुन्तिर अर्थात खोला किनारमा सानो झुपडी छ र त्यो झुपडीमा पाँच जनाको परिवार बस्छन् भन्ने कुरा कसैलाई पनि थाहै छैन । 

बिहीवार विहानै घरबाट कार्यालय जाने क्रममा खोली किनारमा छेउमा वालवालिका कचौरामा खाना खाइरहेको देखेपछि कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले खोली किनारमा रहेको सानो घरमा पुगेर उनीहरुको अबस्थावारे बुझेका थिए ।

दम रोगले पीडित बनेका ५१ वर्षीय गोविन्दवहादुर कामीको घरमा पुगेर मेयर खत्रीले सोधीखोजी गर्न थालेपछि उनले आजबाट आफूहरु भोकै पर्ने दुखेसो पोखेका थिए । त्यसबेलासम्म गोविन्दले आफूकहाँ आउने को व्यक्ति हो भन्ने पत्तै थिएन, ‘म कमलामाई नगरपालिकाको मेयर हँु, तपाईको घरमा चुल्हो बलेको छ कि छैन भनेर हेर्न आएको हो’ हिजो बेलुका पकाएर बाँकी बसेको भात अहिले केटीकेटीले बाँडेर खाए, हामीले पकाएर खाने एक मुट्ठी पनि चामल नै छैन, गोविन्दले आफ्नो दुखेसो यसरी पोखे । उनको कुरा सुनेपछि मेयर खत्रीले झुपडीभित्र हेरे, नभन्दै कामी परिवारमा खानेकुरा केही पनि थिएन । त्यसपछि मेयर खत्री के गर्न सकिन्छ, गरौंला भन्दै त्यहाँबाट बाहिरिए ।

तीन दिन अगाडि खोली किनारमा गिट्ट कुट्ने मजदुरहरुलाई नगर सरकारले राहतको प्याकेज वितरण ग¥यो । त्यहाँ गोविन्द कामी पनि लिन गएका रहेछन् । तर उनको नगरपालिकामा स्वास्थ्य बीमा नभएकाले उनी त्यो  दिन राहत पाउनबाट बञ्चित बनेका रहेछन्, त्यो कुरा हामीले आजैमात्रै थाहा पायौं, कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले भने ।

कामी कमलामाई नगरपालिकाका स्थायी वासिन्दा नभएको र अन्यत्रबाट बसाई सरेको पनि प्रमाण नभएकाले उनी नगरपालिकाको स्वास्थ्य बीमा गर्ने कार्यक्रममा नपरेको देखिएको माझीले बताए । तर, अहिले नगरपालिकाभित्रै बसोवास गरेको र अति बिपन्न तथा गिट्टी कुटेरै आफ्ना लालावालासहित बसेको देखिएपछि उनलाई तत्कालका लागि राहत प्याकेज उपलव्ध गराइएको नगरप्रमुख खड्गवहादुर खत्रीले बताए । 

जव मेयर खत्रीको टोली कामी परिवारलाई राहतको प्याकेज लिएर उनकोमा पुग्यो, त्यसबेला गोविन्दको श्रीमती झुपडीको अगाडि झिक्रा जम्मा गरेर आगो जोर्दै थिइन् । तपाईहरु बाहिर निस्कनुस् त हामी चामल र दाल लिएर आएका छौं, मेयर खत्रीले बोलाउना साथ सडक छेउमा आएका उनीहरुको आँखाबाट खुशीले आँशु रोकिएन । आँखाबाट बलिन्द्रधारा बगाउँदै गोविन्दले भने ‘तपाई हाम्रो लागि साँच्चिकै भगवान हुनुहुँदो रहेछ ।’ समाउन सक्नुहुन्छ भन्दै नगरप्रमुख खत्रीले चामल, दाल, आलु र नुन तेलसहितको राहत प्याकेज उनको हातमा थमाउँदा, हात कामी रहेको थियो भने बोली लर्वराइरहेको थियो । नगरपालिकाले दिएको राहतको बोरा समाउन आइपुगेकी गोविन्दकी जीवन सङ्गिनीको आँखा पनि रसाइरहेका थिए । 

‘हामीले त नगरपालिकाबाट राहत नै नपाउने रहेछौ, अब हामी र साना छोराछोरी भोकभोकै बस्नु पर्ने भयो भनेर कुरा गरिरहेका थियौं, तर एक्कासी हामीले राहत पाउँदा धेरै खुशी लागेको छ’ माइली मायाँले आफ्नो खुशी यसरी व्यक्त गरिन । २१ चैत्र २०७६