अमेरिकामा लाखौं मान्छे मर्न सक्ने प्रक्षेपण

अमेरिकामा लाखौं मान्छे मर्न सक्ने प्रक्षेपण

काठमाडौं । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा मात्रै २२ लाखसम्म मानिसको मृत्यु हुनसक्ने चेतावनी अनुसन्धानकर्ताहरुले दिएका छन् । 

बेलायती अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार सरकार र नागरिकले कोरोना भाइरसविरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाखसम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने छ ।

चीनको वुहानबाट तीब्र गतिमा विश्वभर यात्रारत कोरोना भाइरसको संक्रमण अमेरिकाका ५० वटै राज्यमा फैलिएको छ ।

बेलायती अनुसन्धानकर्ताको चेतावनीलगत्तै अमेरिकाले मानिसहरुलाई सार्वजनिक स्थलमा जमघटमा थप कडाइ गरेको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दश जनाभन्दा बढीलाई एक ठाउँमा जमघट नहुन निर्देशन दिएको न्यूयोर्क टाइम्सले जनाएको हो ।

अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) कै अध्ययनमा पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरिएको समाचारमा दावी गरिएको छ । नेब्रास्का विश्वविद्यालयको अध्ययनमा त ४ लाख ८० हजारसम्म अमेरिकी नागरिकको यसैबाट मृत्यु हुन सक्ने जनाइएको छ ।

आउने महिनामा झनै तीब्र बन्न सक्ने अनुमान गरिएको भाइरसको संक्रमण जुन मध्यबाट भने कमी आउने अनुसन्धाकर्ताहरुको दावी छ ।
कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहे पनि अमेरिकाको सियाटल शहरको मानिसमा भने यसै साता पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ ।

संसारभरमा कोरोनाभाइरसबाट नौ लाख ११ हजार पाँच सय ७० जना संक्रमित भएका छन् । अहिलेसम्म ४५ हजार पाँच सय ३८ जनाको मृत्यु भइसकेको छ । यसमध्ये तीस हजारभन्दा बढीको युरोपमा मात्र ज्यान गएको छ । स्पेनमा संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ । नौ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा बुधवार अबेर रातिसम्म संक्रमितको आँकडा दुई लाख तीन सय ३६ पुगेको छ । चार हजार ४ सय ५४ को मृत्यु भइसको छ ।
   

अमेरिकामा देशभरमा काम गर्ने चार सय स्वास्थ्यकर्मी कोरोना पोजिटिभ भेटिएका छन् । उनीहरु सबैलाई क्वारेण्टाइनमा राखिएको छ । न्युयोर्कको ८५ प्रतिशत आईसीयू फुल भएको छ ।