कोरोना संकटले निम्त्याएको आर्थिक अन्यौलता 

कोरोना संकटले निम्त्याएको आर्थिक अन्यौलता 

काठमाडौं, २१ चैत्र । काठमाडौंको धुम्बराही चोकमा रहेको स्माट क्याफे अत्यन्तै चालू रहने होटलहरु मध्ये एक हो । चैत्र ११ गते सरकाले लकडाउन गरेपछि यो होटल आजभोलि पूर्ण रुपमा बन्द रहेको छ । होटल संचालक बाबुराम कार्की आजभोलि घरमै बसेर दिन काटिरहेको छन् । 
कार्कीले मजदुरहरुको तलव अब कसरी दिने अन्यौलमा रहेको बताए । कार्कीको होटलमा चालिसभन्दा बढी मजदुरले काम गर्ने उनको भनाई छ । ‘कमाउने कुरा त छाडौं टिक्न पाए हुन्थ्यो’ उनले गुनासो गरेका छन् । 

विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले यतिखेर पुरै विश्व आक्रान्त बनिरहेको छ । यसको समयमै कन्ट्रोल भएन भने होटल, टुरिजम क्षेत्र, औद्योगिक, र निर्माणका क्षेत्रमा पर्ने असरले विश्वको अर्थतन्त्रमा कुन खालको असर गर्ला अहिले नै भन्न सकिने अवस्था छैन । 

डिसेम्बर २०१९ को अन्ततिर पहिलोपटक देखिएको यो भाइरसले केही महिनामै उग्र रुप लिदै संक्रमणको संख्या १० लाख नाघिसकेको अवस्था छ । र प्रत्येक तीन देखि चार दिनमा यो संख्या दोब्बरले वृद्धि हुँदै पनि गइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसको असर अझै तीन महिनासम्म देखिने बताइरहेको छ । 

कोभिड–१९ को महामारीले गर्दा अहिले सिङ्गो विश्व आर्थिक संकटमा परेको छ । कामदारहरु घरमा बसिरहेका छन् । कोरोना भाइरसले अर्थतन्त्रको क्षेत्रमा दिएको नकारात्मक प्रभाव त हामीले विश्व बजारमा देखिरहेको छौं । एयरलाइन्स कम्पनीहरु बन्द छन्, ठूला ठूला तारे होटलदेखि जीवन निर्वाहका लागि खोलिएका साना होटल, रेष्टुरेष्ट व्यवसायहरु बन्द छन्, कलकारखाना बन्द छन्, आयात, निर्यातको काम ठप्प छ । त्यहाँका मजदुरहरु भोकले मर्ने पो हो कि भन्ने त्राशमा जिन्दगी गुजारिरहेका छन् । तेलको मूल्य विश्व बजारमा घटेको छ । 

यतिखेर कृषकहरुका लागि हिउँदे बाली थन्काउने र बर्खेबालीको लागि सुरसार गर्ने समय पनि हो, तर यो समय कृषकहरु घरभित्र बन्दक छन् । नेपाली कृषकहरु सरकारले घोषणा गरेको लकडाउनको पालना गरिरहेका छन् । भारत पनि यतिबेला पुरै घरभित्र बसेर कोरोना भाइरस विरुद्धको लडाईमा होमिएको छ । चीनले पनि वितेको तीन महिना आफ्ना देशका नागरिकलाई कोरोना भाइरसको लडाई जित्न सबैलाई घरभित्र कडा अनुशासनमा बस्न लगायो । यसको असर खाद्यन्नको क्षेत्रमा कस्तो पर्ला अहिले नै अनुमान लगाउन सकिंदैन । नेपालमा खाद्यन्न आयत गरिने मुलुक पहिलो भारत र त्यसपछि चीन हो ।     

२००८ मा देखिएको विश्व आर्थिक मन्दीमा करोडौं मानिसले आफ्नो जागिर, घर, बचत गुमाए । यसबाट मुक्ति पाउन देशहरुलाई निकै नै समय लाग्यो । अहिले कोभिड १९ द्वारा पर्ने मन्दी २००८ भन्दा भिन्न खालको हुनेछ । यस महामारीको अन्त्यपछि पनि मानिसको मस्तिष्कमा रहेको त्रास हट्न केही समय अवश्य लाग्नेछ ।
भिडभाडको त्रास मानिसमा केही समय रहने कारणले गर्दा मानिसलाई यात्रा गर्न, बाहिर रेष्टुरेष्टमा गएर खाना खान, होटलमा बस्न अझै समय लाग्नेछ । यसको असर ठूला–साना सबै व्यवसायीलाई पर्नेछ । जसको कारण केहीले आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसको असर रोजगार क्षेत्रमा परिहाल्छ । हजारौं–लाखौं मजदुरहरुले रोजगार गुमाउनेछन् । घरभाडा तिर्न, छोराछोरीको स्कूल फि तिर्न लगायत दैनिकी गुजारा चलाउन धौ धौं पर्नेछ । विश्व बजारमा रहेका नेपाली कामदारहरु पनि रोजगार गुमाउने तथा मन्दीको कारण थोरै तलवमा काम गर्न बाध्य पर्नेछन् । यसले जनतामा ठूलो निराशा ल्याउने छ । 

विज्ञहरुले यो विश्व आर्थिक मन्दीको असर अर्काे वर्षसम्म रहिरहन सक्ने अनुमान गरिरहेका छन् । यस्तो संकटको बेला जनताको मनोबल बढाउन र प्रोत्साहन गर्नका निमित्त नेपाल सरकारले ठूला साना व्यवसायी तथा आम मानिसको निमित्त विशेष राहतको व्यवस्था गर्न अत्यन्त जरुरी छ । यो अवस्थामा सरकारले सबैको हितको निमित्त केही समयका लागि बैंक ब्याज कम गर्न, व्यवसायमा लाग्ने कर तथा मूल्य अभिवृद्धि करमा सहुलियत गर्न जरुरी छ । यसले उपभोक्तालाई सामान खरिद गर्न हौसला मिल्छ, व्यवसायीलाई लगानी गर्न प्रोत्साहन दिनेछ र सिङ्गो मुलुकलाई देशको आर्थिक संकटबाट बच्न मद्दत गर्नेछ ।