न्यूयोर्कमा मर्नेको सङ्ख्या ३५ सय नाघ्यो ; ट्रम्प भन्छन्, 'दुर्भाग्यवश निकै धेरै ज्यानहरू जानेछन्'

 न्यूयोर्कमा मर्नेको सङ्ख्या ३५ सय नाघ्यो ; ट्रम्प भन्छन्, 'दुर्भाग्यवश निकै धेरै ज्यानहरू जानेछन्'

एजेन्सी, २३ चैत । अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन इटलीको हाराहारीमा छ।

त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए।

'मेरो एक मनले उच्च विन्दु चाँडै पुगिहालोस् भन्छ। तर फेरि अर्को मनले होइन त्यसका लागि हामी तयार भइसकेका छैनौँ भन्छ,' कोमोले भने।
कोमोका अनुसार थप भेन्टिलेटरको खोजी जारी छ।

एक हजार भेन्टिलेटर पठाइदिएकोमा उनले चीनलाई धन्यवाद दिए। ओरेगन राज्यले पनि १४० वटा भेन्टिलेटर सहयोग गरेको उनले बताए।

कोरोनाभाइरसको अवस्थाबारे दैनिक प्रेस सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कोमोलाई न्यूयोर्कलाई आवश्यक स्रोतको प्रबन्ध गरिदिने बताएको जनाएका छन्। उनले संघीय सहयोग अब सबभन्दा धेरै प्रभावित इलाकाहरूमा केन्द्रीत गरिने बताए। 'दुर्भाग्यवश निकै धेरै ज्यानहरू जानेछन्' उनले भने।