कोरोनाका विरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाऊ

कोरोनाका विरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाऊ

झिल्को टिप्पणी

कोरोना भाइरस अर्थात कोभिड १९ को विश्वव्यापी संक्रमणबाट जोगिन सबै देशले आआफ्नै मोडेलका रोकथाम तथा उपचारका पद्धतिहरु अपनाएका छन् । सर्वव्यापी र सर्वस्वीकृत एक साझा मोडलका रुपमा लकडाउन विधि प्रयोगमा छ । नेपाल पनि त्यसको अनुशरण गरिरहेको छ । लकडाउका दुई साता नेपालीका लागि कष्टकर रहे पनि संभावित संक्रमणको संकट टार्न निर्विकल्प उपायका रुपमा देखा परेको छ । स्वाभाविक छ, सिंगो देश नै लकडाउन भएपछि जनजीवन भयभित र त्रसित छ भने यसका बहुआयामिक नकारात्मक असर र प्रभाव खतरनाक हुने संकेतहरु देखा परिरहेका छन् ।

भनिन्छ, हरेक उज्यालो परिवेश आउनुअघिका क्षणहरु निष्पट अँध्यारा नै हुने गर्छन । भोलि त राम्रो होला कि भन्ने आशमा नै नागरिकहरु अहिले लकडाउनलाई वाध्यात्मक विकल्पका रुपमा स्वीकार गरिरहेका छन् । यो सरकारले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नै रोगको प्रकृति अनुसार अनुशरण गरेको एक महत्वपूर्ण विधि नै हो ।

तर, लकडाउनसँगै सबै थोक बन्दाबन्दीमा पर्ने र नागरिकको जीवन झन्झन् कष्टकर हँुदै जाँदा राज्यको काँधमा एकातिर रोगको संक्रमण विरुद्ध जुध्नु पर्ने र अर्कोतिर नागरिकको अप्ठ्यारोलाई पनि सम्वोधन गर्नुपर्ने भएका कारण तथा दुई साताको लकडाउनको अनुभव र प्रभावका आधारमा अब सरकार र सत्तारुढ नेकपाले लकडाउनका साथ अन्य विधिहरु अवलम्वन गर्न आवश्यक छ । त्यसका लागि प्रधानमन्त्रीको अग्रसरता र नेतृत्वमा बृहत् सर्वपक्षीय सहमतिको एक उच्चस्तरीय साझा संयन्त्र गठन गरी त्यसैका आधारमा नेपालको कोरोना विरुद्धको युद्ध लडिनुपर्ने समयको आवश्यकता भइसकेको छ । त्यसका केही मूलभूत आधार र कारणहरु देहाय बमोजिम छन्ः

१. सरकारको काम र जिम्मेवारी सार्थक बनाउन ।  केपी ओली नेतृत्वको वर्तमान नेकपाको सरकारले अकस्मात आइलागेको कोरोना विरुद्धको लडाईं एक्लै पार लगाउन कोशिस गरिरहेको छ । यसमा दुईमत छैन् । तर, यसप्रकारका विष्मयकारी महामारीसँग जुध्ने पहिलो अभ्यास भएका कारण हो वा नेतृत्व क्षमताको अभावमा हो, सरकारमा रहेका कतिपय मन्त्रीहरुले यो संकटको सामना गर्न सर्वस्वीकार्य नेतृत्व क्षमता देखाउन सकेनन् । फलतः औषधि तथा स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सरकार विवादित भयो । खरीद प्रक्रियामा विलम्व भयो ।

संकटमा काम गर्ने जनादेश प्राप्त यही सरकारले नै हो, तर उसले देशभित्रका सबै घरेलु शक्तिहरुलाई रिझाएर काम गर्नुपर्ने बेला हो यो । त्यसकारण वर्तमान सरकारकै शक्ति र सामथ्र्य बढाउँदै संकटसँग जुध्न सरकारलाई थप शक्तिशाली र कामकाजी बनाउन आवश्यक छ, विज्ञ, अगुवा नागरिक प्रतिनिधि, उद्योग बाणिज्य, वाणिज्य संघसहित सम्मिलित उच्च स्तरीय सर्वपक्षीय समिति । जो नीतिगत आधार तय गर्न राजनीतिक तहमा एक र कार्यकारी तहमा विज्ञ विशेषको अर्को हुन सक्छ ।

२. कोरोना भाइरस विरुद्धको वर्तमान लडाईं कुनै सरकार वा दल विशेषको सामान्य चुनौति होइन । यो विश्वव्यापी महामारी हो । यसको प्रभाव र असर सिंगो विश्वका मानवजातिका लागि निकै लामो र अपुरणीय क्षतिपूर्ण हुने निश्चित छ ।

यस पृष्ठभूमिमा नेपालले यो लडाई लड्दा सिंगो देशलाई एकढिक्का र एकमुष्ट बनाउन सक्नुपर्छ । यसमा सत्तापक्ष, प्रतिपक्ष, सरकारी, निजी आदि भन्ने हुनु हँुदैन । त्यसका लागि सत्तारुढ दल, मुख्य तथा अन्य साना प्रतिपक्षी दल, निजी क्षेत्र, नागरिक समाज, जनस्वास्थ्य विज्ञहरु, संकट व्यवस्थापन विज्ञ लगायत सबैको यथोचित प्रतिनिधित्व हुने गरी उच्च स्तरीय समिति बनाइनु आवश्यक छ । यसले कोरोना कहरको प्रतिवाद गर्ने देशको राष्ट्रिय शक्ति र स्रोतलाई थप ऊर्जावान बनाउँछ र रोगको संक्रमण विरुद्धको युद्धमा देशले छिटो सफलता प्राप्त गर्छ ।

३. तीनै तहका सरकारले ढिलै तर सही बाटोमा नै काम गर्न खोजे पनि कतिपय काममा ढंग र विवेक पुर्याउन चुकेका छन । कतिपय शासकीय कमजोरी र कतिपय भ्रष्ट चरित्रका कामका कारणले सरकार बाहेकका शक्ति समूहलाई सरकारको कामको आलोचना गर्ने मैदान र निहुँ मिलेको छ । यसले रोगव्याधी विरुद्ध एकीकृत हुुनुपर्ने राष्ट्रिय शक्ति विभाजित छ । सर्वपक्षीय उच्च स्तरीय समितिले सबैलाई एकीकृत रुपमा रोग विरुद्ध लड्न प्रेरित गर्छ ।

४. सरकारले स्वास्थ्य सामाग्री खरीद प्रक्रियाको पहिलो चरण विवादरहित बनाउन सकेन । तथ्यगत रुपमा नै सरकारका कमजोरीहरु देखिए र जनमानसमा आर्थिक अपचलनका अनगिन्ती प्रश्नहरु उठे । एउटा सरकारका काममा महामारीका बेला प्रश्नहरु उठ्नु भनेको जनता र देशकै लागि घातक सवाल हो । त्यसैले आजको आवश्यकता कोरोना विरुद्धको लडाई लड्नु मात्रै होइन, पारदर्शी रुपमा यस विरुद्धको लडाई साझा रुपमा लड्नु पनि हो । उच्चस्तरीय समितिले कोरोना विरुद्धको लडाईका सबै पक्षलाई पारदर्शिता बनाउँछ । पारदर्शिताले सबैलाई रोगविरुद्ध मात्रै लड्न प्रेरित र जागृत गराइरहन्छ ।

५. महामारीको बेला सरकार भन्दा राम्रो अरुले गर्न सक्दैन । त्यसैले निजी क्षेत्रले छुट्टै, समाजसेवी भन्नेहरुले छुट्टै वा विज्ञहरुले फरक फरक रुपमा सक्रिय हुन आवश्यक छैन । त्यसका लागि सरकारकै अगुवाईमा साथ दिने वातावरण विज्ञ, समाजसेवी, उद्योगी व्यापारी र समाजका सबै तप्कालाई उपलव्ध हुनुपर्छ । यसका लागि विज्ञ सम्मिलित उच्च स्तरीय समिति मात्रै नै विकल्प हो ।

५. राजनीतिक रुपमा मुख्य प्रतिपक्षी काँग्रेस सरकारको सहयोगी नै देखिएको छ, तर उसको सक्रियता बढाउने मञ्चको अभाव छ । उच्च स्तरीय समितिले त्यो मैदान बनाइ दिन्छ । राप्रपा, साझा पार्टी, समाजवादी पार्टीहरुले उच्चस्तरीय संयन्त्रको माग औपचारिक रुपमा नै गरिसकेका छन् । त्यसैले यस्तो समितिमा सबै दलको एकमत हुने वातावरण छ । अब राजपा, सिके राउतको जनमत पार्टीदेखि वैद्य, विप्लव, नेमकिपा, जनमोर्चा, विवेकशील दल लगायत सबै राजनीतिक दललाई सँगै डोर्याएर आफ्नो कोरोना विरुद्धको लडाईंको मोर्चालाई सत्तापक्ष र सरकारले बलियो र फराकिलो पार्न सक्नुपर्छ ।

६.सरकारले राहत कोषलाई एकद्धार नीतिमा ल्याउदा जथाभावी पैसा उठाउने विकृति रोकियो । अब राहत वितरणलाई आफू खुसी गर्न प्रतिवन्ध लगाएर यस्तै उच्चस्तरीय सर्वपक्षीय समिति मार्फत गर्दा त्यो सहज, छिटो र प्रभावकारी हुने हुँदा त्यसका लागि पनि यस्तो संयन्त्र आवश्यक छ ।

७. स्वास्थ्य सामाग्री खरीद होस वा अन्य मोर्चामा सेनालाई साथ दिने कुराले सरकार र सेना दुबै अनावश्यक विवादमा तानिएका छन् । देशको संकटमा सेनालाई अन्तिम शक्तिका रुपमा सरकारले संवैधानिक व्यवस्था अन्तर्गत परिचालन गर्न सक्ने कुरा आफ्नो ठाउँमा छ । तर अहिले निजामती सेवा, नागरिक सत्ता दुवैले स्वास्थ्यकर्मी, चिकित्सक र नर्सहरुको सहकार्यमा यो लडाई लडिरहेकै बेलामा अहिल्यै सेना परिचालन वा खरीदमा उसको सहभागिता हतारोको निर्णय हुन सक्छ ।

त्यसैले सर्वपक्षीय उच्च स्तरीय समिति मार्फत नै यस्ता दूरगामी असर पार्ने गंभीर निर्णयहरु लिइनु मनासिव हुन जानेछ । किनभने यो लडाईंको योद्धा स्वास्थ्यकर्मी, नर्स, चिकित्सक नै हुन । उनीहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरुसहित उच्च मनोवलका साथ अरु बढी काममा प्रेरित गर्नु आजको आवश्यकता हो, न कि हर विषयमा सेना अघि सार्नु ।

८. केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा तत सरकारसँग समन्वय गर्ने गरी यस्ता समितिहरुको गठन माथिदेखि तलसम्म बनाउँदा सबैलाई सधै समान रुपमा परिचालित हुन, काम गर्न गराउन सजिलो हुनेछ । स्वास्थ्यकर्मी, सुरक्षा अंगलाई फिल्डमा काम गर्न अरु ऊर्जा थपिन्छ ।

९. लक्षण ढिलो देखिने वा लक्षण नदेखिदै पनि कोरोनाको संक्रमण फैलन सक्ने भएका कारण हामीकहाँ यो अबका दिनमा झन खतरनाक हुन सक्नेछ । खुल्ला सीमाबाट नेपाल छिरिसकेका नेपाली र सिमानामा अलपत्र परेका नेपालीहरुबाट नेपालमा यो रोगको संक्रमण बढ्न सक्ने चुनौतिका माझ यो साझा चुनौति सामना गर्न सबैलाई एकीकृत र सक्रिय गर्ने विधि भनेको उच्चस्तरीय समिति नै हुनेछ ।

१०. यो सरकारको आलोचना गर्ने बेला पक्कै होइन, परन्तु सरकारको भनाइ र गराइमा एकरुपमा नहुँदा, पारदर्शिदा नदेखिदा जनमानसमा आशंका बढ्दै जानु हँुदैन । निजामती र नागरिक सत्ता महामारीका मुखमा जनताको विश्वास जित्न झन काबिल साबित नहुने हो भने यसले गैरनागरिक सत्ताको बाटोमा देशलाई हुत्याउन सक्ने खतरा पनि रहन्छ । त्यसैले यस्तो समिति बनाउन सत्तारुढ नेकपाले शीघ्र निर्णय लेओस र सरकारलाई निर्देशित गरोस । सरकारले उदार मनले यो काम शीघ्र सम्पन्न गर्न सकोस । ता कि कोरोनाविरुद्धको लडाईंं नेपाल आफ्नै मौलिक शक्ति र सामथ्र्यले जित्न सफल होस । २३ चैत्र २०७६