पहिलो पेजमा आजका पत्रिकाले के कस्ता समाचार लेखे, सामान्य विश्लेषणसहित
२४ चैत्र, काठमाडौं । काठमाडौंबाट निस्कने धेरैजसो दैनिक पत्रिकाहरु निस्केका छैनन् र निस्केका पनि बजारमा प्रायः भेटिदैंनन् । आज बजारमा निस्किएका दैनिक गोरखापत्र, कान्तिपुर र नयाँ पत्रिकाहरु ग्राहकलाई नै लक्षित गरी निकालिएको देखिएको छ ।
सरकारी मुख्यपत्र गोरखापत्र दैनिक ८ पेजमात्र निस्किएको छ । कान्तिपुर र नयाँ पत्रिका दैनिक १२ पेज निकालिएका छ । अन्नपूर्ण पोस्ट, कारोबार, आर्थिक, आर्थिक अभियान, राजधानी, नागरिक, जनसवाल, प्रभावसहितका पत्रिकाहरु निकालेर हो या के हो खोज्दा भेटिएनन् ।
तीन वटै पत्रिकाले कोरोनाको कहरका बारेमा नै मुख्य विश्लेषण गरेका छन् ।
गोरखापत्र दैनिकले पहिलो पेजमा स्वास्थ्य सामग्री खरिद पारदर्शी हुने भन्दै मुख्य समाचार बनाएको छ । सार्वजनिक ऐनले व्यवस्था गरेअनसार स्वास्थ्य सामग्री र उपकरण प्रतिस्पर्धात्मक रुपमा निजी क्षेत्र र सरकारले सरकारसँग ९जीटूजी० दुवै माध्यमबाट खरिद गरिने विषयलाई प्राथमिकताका साथ पत्रिकामा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनाले पाएको समाचारमा उल्लेख छ ।
सेनाले स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी पूरा गर्ने प्रतिक्रिया दिएको समाचारलाई पनि उच्च प्राथमिकताका साथ समाचार दिइएको छ ।
सुदूर पश्चिममा कोरोना संक्रमणको संख्या बढ्दै गएको विषयमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा कोरोना फैलन नदिने भन्दै गोरखापत्रमा प्रतिक्रिया दिएको समाचारलाई पनि प्रकाशित गरिएको छ । कोरोना भाइरसका सम्बन्धमा उच्च राजनीतिक तहमा संवाद गरिनुपर्ने नेपाली कांग्रेसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शेरबहादुरको मागलाई पनि यो पत्रिमा समाचार दिइएको छ ।
कान्तिपुरले प्रधानमन्त्री केपी ओलीको अनुहारको ब्यंग्य चित्र बनाएर पैसाको सुटकेस सेनालाई दिदैं गरेको देखाएको छ । त्यसमा सेना हिच्किचाएको देखाइएको छ । र, तल सामाजिक दूरी कायम राखौं भनिएको छ ।
सरकारको स्वास्थ्य सामग्री खरीद प्रकरणमा विवाद निस्किएपछि सेनालाई दिनेबारेमा व्यापक टिप्पणी उठिरहेको, नागरिक सरकार, नागरिक प्रशासन भ्रष्ट, विवादित बनेको भनेर सेनालाई अगाडि देखाउने, आफ्नो भ्रष्टाचारलाई पछिसम्म विवाद नआओस भनेर सेनालाई विवादमा तानिएको भनेर चौतर्फी अनेक खाले टिप्पणी आइरहेका समयमा सामयिक र असाध्यै सटिक खालको कार्टुन अविनले कान्तिपुरमा बनाएका छन् ।
क्वोरेण्टाइनमा बसेको १४ दिनसम्म संक्रमण देखिएन भने घर जानुपर्ने विश्व संगठनको निर्देशिका छ, तर अहिलेसम्म क्वारेण्टाइनमा परीक्षण नै नगरिएको समाचारलाई पहिलो प्राथमिकतामा राखिएको छ । किटबारे अझै अन्यौल, परीक्षणपछि मात्रै घर पठाइने भन्ने समाचारलाई पनि त्यसमा समेटिएको छ ।
ललितपुरदेखि पैदल नै सप्तरी भन्ने समाचारलाई पनि कान्तिपुरले प्रथम पृष्ठमा राखेको छ । लकडाउनका कारण बेखर्ची भएपछि विभिन्न जिल्लाबाट उपत्यकामा मजदुरी गर्न आएकाहरु हिंडेर घर फर्किरहेका सचित्र समाचार मकर श्रेष्ठ र लीला श्रेष्ठले लेखेका छन् ।
नेपालमा एनजीओ र एनजीओको बजेट यो वर्ष ४५ अर्ब ९० करोड, तर कोरोनाको विपतमा मूकदर्शक भन्ने समाचारलाई मुख्य समाचार नयाँ पत्रिका दैनिकले बनाएको छ । यसमा स्वास्थ्य क्षेत्रमा मात्रै नौ अर्ब ६३ करोड रहेको तथ्यांक दिएको छ तर मन्त्रालयको स्रोतले अधिकांश सम्पर्कमा नै नआएको उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका पूर्व विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल, गैरसरकारी संगठनका अध्यक्ष जितराम लामाको प्रतिक्रियालाई नयाँ पत्रिकाले विशेष प्राथमिकता दिएर छापेको छ ।
मुख्य समाचारको बक्समा आईएनजीओ र एनजीओको बजेटको तथ्यांक दिएको छ नयाँ पत्रिकाले । खोजीको हिसावले आजको दैनिक पत्रिकामा यो उत्कृष्ट नै छ ।
स्वास्थ्य क्षेत्रमा देखिएको यो विकृतिलाई अध्ययन गर्दा वाहिरबाट आएका रकम सिधै जफत गरेर यो संकटका बेलामा सरकारले जनताको स्वास्थ्य क्षेत्रमा लगाउनु उचित देखिन्छ ।
आजको नयाँ पत्रिकाले सेनाले स्वास्थ्य सामग्री खरिद गर्ने र क्वारेण्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने समाचार पनि दिएको छ ।
प्रतिक्रिया