आज उठेको नैतिकताको प्रश्न
पद्मप्रसाद शर्मा
यतिवेला राज्य र सबै राजनीतिक दलहरुबाट आफ्ना नेता कार्यकर्ताहरुलाई नैतिकताको सीमामा बस्नका लागि उर्दी जारी गर्न सक्छन् । यसलाई रोक्नका लागि नैतिकताको पाठ प्रमुुख हो भनेर जान्ने हो भने यो पनि उपचार विधिभित्र पर्ने थियो ।
हामीले हरेक काम गर्दा नैतिकताको कुरा गर्ने गर्छौं । कुुरा स्वाभाविक छ । नैतिकताको कुरा एक दिन दुुई दिन मात्र नभएर हरेक समयमा चाहिने कुरा हो । जुनकुरा चौविस घण्टामा पुरै समय चाहिने हो त्यही कुरा नभए पछि होला के ? यो कहाँबाट आउँछ ? कसैलाई त्यस्तो पनि लाग्न सक्छ । हो, नैतिकता कहींबाट आउने कुरा हो । हुन त ज्ञानीहरुमा मनमा आफ्नै ज्ञानबाट नैतिकता प्राप्त हुन्छ । मनमा ज्ञान नहुनेहरुलाई बाहिरबाट फुुटबलमा हावा भरेर ठूलो बनाए जस्तै बनाउनुु पर्दछ, भर्नुु पर्दछ ।
वेलमौका सानो कक्षामा पढेको कथाको याद आउने गर्दछ । जव यस्ता खालका कथाहरु याद आउँछन अनि यसैगरी पस्कन मन लाग्छ । पढेका कथाहरुमा केही कथाहरु जीवनभर याद आउने गर्दा रहेछन भने केही कथाहरु विष्मृत भएर पनि जाँदा रहेछन् । जुन कथा हरेक मोडमा अत्याधिक जनजीवनसँग मेल खाने खालका हुन्छन् त्यस्ता कथाहरुको बढ्ता सम्झना हुने रहेछ । यसै प्रसंगमा मैले पढेका धेरै कथामध्यको एउटा कथा सारमा यसप्रकार छ,
कुनै स्थानमा कसैले दुईवटा सुगा वेग्ला वेग्लै स्थानमा लगेर पालेको रहेछ । उसले केही समयपछि वेच्नका लागि बाटोमा हिंडेको रहेछ । दुई वटा उस्तै पिंजडा र सुगाको आकार प्रकार पनि उस्तै रहेछन् । निकै मानिसहरुले सुगा किन्नका लागि उसले अनुरोध गरेछ । त्यो ब्यापारीले दुई वटै सुगा एकसाथ बेच्ने कुरा गरेछ । धेरैले उसका सुगाको मूल्य सोधे । मूल्य सुन्दैमा तर्सिएर धेरै जनाले किन्ने हिम्मत गरेनन् । एकजना सुगाको शौखिन मानिससँग बाटोमा उसको जम्काभेट भयो । सुगाको वारेमा कुराकानी भयो । मोलतोल भयो । उसले पहिलो पिंजडा तथा सुगालाई रु पाँच सय मूल्य निर्धारण गरेको थियो भने दोश्रो पिंजडासहित मूल्य रु.पचास मात्र भन्यो । सुगाको शौखिनदारले यति फरक मूल्य किन भनेर प्रश्न गर्दा सुगा ब्यापारीले भन्यो, “यिनको मूल्य भोलि विहान थाहा पाउनु हुनेछ ।” पारखी झन छक्क प¥यो । उसले दुबै सुगा किनेर घरमा लिएर गयो । दुबै सुगालाई मन पर्ने खानेकुरा दियो । दुुबैले एकै किसिमले खाए । रात वित्यो तर त्यो सुगाको पारखीलाई भोलि विहान मूल्य थाह हुनेछ भनेको कुरा आश्चर्य लागिरहेको थियो । विहान पूर्व आकाशमा लाली चढ्न लागेपछि अलग अलग स्थानमा राखिएका दुबै सुगाले आफ्नो कृयाकलाप देखाउन लागे । पहिलो सुगाले “प्रणम्य शिरसा देवं गौरी पुत्रं विनाएकं भक्त्याया संस्मरे नित्यां मायुर्कामा तसिद्धयेत ।।” यस्तै कुरा पाठ गर्न लाग्यो । अर्को अर्थात दोश्रो सुगाले “तेरा हाड खाने राँड ! तैंले के गरुला भनिछस् ? तेरा गाला अहिल्यै च्यात्न सकिन भने .....”यस्तै यस्तै कुरा गरेर वर्वराउँदै थियो । सुगाको पारखी दुबै सुगाको कुरा सुनेर तीन छक प¥यो । के होला यस्तो एकै आकार प्रकारका पिंजडा र सुगाहरु पनि यत्तिका फरक !
दुबै सुगाले आफू पहिले रहेको घरमा जे जे कुराहरु सिकेका थिए । त्यही कुरा त्यहाँ बोले । पहिलो सुगा रहेको घरवेटी बा विहान सवेरै उठेर स्तोत्र पाठ गर्ने गर्दथे । घरपरिवारलाई त्यही माफिकबाट अह्राई सिकाई गर्दा रहेछन् । परिवारका अन्य सदस्यसँगै आफू पनि काममा लाग्ने गर्दा रहेछन् । त्यो कुरा पहिलो सुगाले सबै दिनदनै सुनेर त्यही बानी परेको रहेछ भने दोश्रो सुगा रहेको घर परिवारका श्रीमान श्रीमती दुब्र्यसनीमा फसेका र विहान उठेदेखि राति नसुतेसम्म त्यस्तै त्यस्तै अपशब्द प्रयोग गरेर आपसमा बाझाबाझ गर्ने र रडाको मच्चाउने गर्दा रहेछन् । उसले पनि जे देख्यो र जे सुन्यो त्यही कुरा सिक्यो अनि त्यही कुरा बोल्यो । पाठक वृन्द ! कथा सारमा यत्तिमात्र हो । यो कथा संस्कृत भाषामा लेखिएको पढेको थिएँ । कथाको शीर्षक “संसर्गजा दोष गुणा भवन्ति” भन्ने थियो । अर्थात संगतका कारणले दोष वा गुण हुने गर्दछ । यसको सारमा अर्थ यही हो ।
यतिवेला कोरोना भाइरसका कारण नेपालमात्र होइन विश्व आक्रान्त बनेको छ । यसको उपचार विधि पनि खासै अहिलेसम्म पत्ता लागेको छैन । यसको सबै भन्दा ठूलो ओखति भनेको एकान्तवास नै रहेछ । हाम्रो मुुलुुकले चैत्र ११ गतेदेखि यही उपाय अवलम्वन गरिरहेको छ । यो कति लामो समय रहन्छ अहिले भन्न सक्ने अवस्था छैन । किनकि कोरोना भाइरस अझै भरपुर वैंसमा छ । यसबाट बच्ने प्रमुुख उपाय सरकारले लागू गरेको छ तर कतिपय मानिसहरु यसको अवज्ञा गरिरेका छन् । यसो किन भइरहेको होला ? मैले आफैलाई प्रश्न गर्ने गर्छुु । अनि मैले पाएको उत्तर पनि सहज छ । हामीले जे शिक्षा पाएका छौं त्यही रुप देखाई रहेका छौं । हामीले नागरिकलाई कहिले नैतिकताको पाठ सिकायौं र आज नागरिकले नैतिकतामा बाँधिन सक्छन् ?
वनमा रमाउने चरालाई त गाउँ शहरमा बस्ने मानिसको त्यति विधि प्रभाव पर्छ भने एउटा मानिसको ब्यवहारले अर्को मानिसलाई कति प्रभाव पर्दो हो भन्ने कुरा यसबाट प्रस्ट रुपमा बुझ्न सकिन्छ । हुन त सुगा र मानिसमा धेरै फरक छ तर सिकाइको कुरामा त्यति फरक हुने जस्तो देखिएन । सुगालाई आफूले बोलेको कुरा सहज वा असहज भन्ने नलागे पनि उसले मानिसको नक्कल त अवश्य गर्न सक्छ । चरालाई जस्तै हरेक मानिसलाई सानो सानो कुराले पनि प्रभाव पारिरहेको हुने रहेछ यसबाट यही कुरा जान्न सकिन्छ । नागरिकलाई नैतिकवान बनाउने प्रमुुख जिम्मा राज्यको हो । नेपालमा राज्य सञ्चालकहरु कुुनैले पनि नागरिकलाई नैतिकता सिकाउने कुरामा चेष्टा गरेन । न त यहाँका राजनीतिक दलहरु कुुनैले आफ्ना दलका नेता कार्यकर्तालाई नैतिकताको पाठ सिकाए । न विद्यालयमा नैतिकताको कुरा छ । विद्यालयमा पढाउने भनेको राज्यले सिकाउने नैतिकताको कुरा हो । बाह्य वातावरणको लागि दलहरुले आफ्ना कार्यकर्ताहरुलाई राज्यप्रति जिम्मेवार हुन र एक राजनीतिक विचारमा अर्को राजनैतिक विचार भएकाले मान गर्नुु पर्छ र सम्मान गर्नुु पर्छ भनेर यहाँ कुन राजनीतिक दलहरु सिकाए ? हेर्दै जाने हो भने कुुनै राजनीतिक दलले न त राज्य सञ्चालकहरुप्रति आदरभाव प्रकट गर्न सिकाए न अर्को दल र दलका मानिसलाई नैतिक रुपले हेर्न सिकाइयो । एउटा दलले अर्को दलका नेता कार्यकर्तामात्र होइन एउटै दलभित्र पनि गुुट र उपगुटहरु अनेक छन् अनि एउटा गुुटले अर्को गुुटलाई न त मान गर्न सिकायो न सम्मान । जुन कुुरा कसैले सिकाएन एकाएक आएर नागरिकले कसरी पालना गर्छन ? कोरोना भाइरस मानव हितमा छैन यसको सही उपचार भनेको एकान्तवास हो भन्ने जसको मनमा गहिरो छाप बनेर बसेको छ, उसले सही तरिकाले पालना गरेको छ त्योदेखि वाहेक अरु सबैलाई यो सरकारले नागरिकमा थोपरेको बोझ हो भन्ने लागेको छ र यसलाई उल्लंघन गरेमा हाम्रो उँचाइ बढ्छ भन्ने मनमा लागेको छ । त्यस्तो सोंच भएको ब्यक्ति कामविना पनि लखरलखर नहिंडेर के गर्ने ? यसका लागि यसपटकको लकडाउन नागरिकले देखाएको रवैयाबाट सिंगो राज्य र सबै राजनीतिक दलहरुले राम्ररी पाठ सिक्नु पर्दछ । नेपालमा भएका राजनैतिक दलहरुले समयमा आफ्ना नेता कार्यकर्ताहरुलाई राम्रो निर्देशन दिन सकेको भए काम विना पनि लकडाउन उल्लंघन गरेर जथाभावी हिंडेको देख्ने पाइने थिएन । वनमा बस्ने एउटा चराले साथ संगतले अपशब्द सिक्दो रहेछ भने मानिसमा यसको प्रभाव अलिक छिटो पक्कै पनि पर्दछ । समय अझै बाँकी छ, यतिवेला राज्य र सबै राजनीतिक दलहरुबाट आफ्ना नेता कार्यकर्ताहरुलाई नैतिकताको सीमामा बस्नका लागि उर्दी जारी गर्न सक्छन् । यसलाई रोक्नका लागि नैतिकताको पाठ प्रमुुख हो भनेर जान्ने हो भने यो पनि उपचार विधिभित्र पर्ने थियो ।
प्रतिक्रिया