भारतबाट फर्किएका वडाअध्यक्ष क्वारेन्टाइनमा

भारतबाट फर्किएका वडाअध्यक्ष क्वारेन्टाइनमा

कोरोना भाइरस फैलिएको भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष भोेगेन्द्र पाठकलाई आज क्वारेन्टाइनमा राखिएको छ । 

एक महिनाको भारत बसाईपछि शनिवार राती गोप्य रुपमा गाउँ फर्किएका वडाअध्यक्ष जनकनन्दनी गाउँपालिका ४ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेको इलाका प्रहरी कार्यालय खजुरी धनुषाका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । 

सरकारले गरेको लक डाउनको बेला गोप्य रुपमा वडाअध्यक्ष पाठक गाउँ पुगेपछि त्रसित बनेका स्थानीयहरुले तत्काल क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए । तर स्थानीयको आग्रहलाई बेवास्ता गर्दै वडाअध्यक्ष पाठक गाउँमै बसेपछि उनी बिरुद्ध प्रहरीमा उजुरी परेको थियो । वडाअध्यक्ष पाठक पछिल्लो एक महिनादेखि भारतको बिहार राज्य अन्तर्गत मधुबनीमा बस्दै आएका थिए ।