रोल्पामा विप्लव र वर्षमान आमने सामने

रोल्पामा विप्लव र वर्षमान आमने सामने

रोल्पा । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको भौतिक सम्पति र उनका निकटका कार्यकर्ताहरुलाई निशाना बनाएर विप्लव समूहले आक्रमण गर्ने योजना बनाएपछि वर्षमान र उनी निकटका कार्यकर्ताहरु पनि निकै समवेदनशील भएर लागेका छन् । 

वर्षमान पुनको घरमा कालो झण्डा गाँड्ने, घर नै उडाइदिने भन्दै चेतावनी दिएपछि पुनले पनि केही दिन पहिला विप्लवको प्रभाव रहेको थबाङमा ठूलै तयारीका साथ शक्ति प्रदर्शन गरे । यसले विप्लव समूहलाई निकै उत्तेजित बनाएको विप्लव निकट एक कार्यकर्ताले बताए । 

रोल्पामा ठूलै कार्यक्रम गर्नका लागि विप्लव समूहका राप्ती इञ्चार्ज केशबहादुर बाठा सुवासको पहलमा सगरमाथा ब्युरो इञ्चार्ज दीपेश राई समेतलाई रोल्पाको भाबाङमा बोलाएर छलफल गर्न लागेको भन्दै पुन निकट कार्यकर्ताले सुरक्षाकर्मीलाई सूचना दिएपछि प्रहरी त्यहाँ पुगे पनि उनीहरु भाग्न सफल रहेको लिबाङमा व्यापक चर्चा छ । यो ठाउँमा नेकपाका नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी, जो रोल्पा जिल्लाका सेक्रेटरी पनि हुन, जाजरकोटका जिल्ला सेक्रेटरी प्रेम प्रकाश वली समेत रहेको विप्लव निकट स्रोतले जनायो । 

माओवादीको युवा पंक्तिमा निकै ऊर्जाशील र प्रभावशाली मानिएका रोल्पाका नेता विप्लवलार्ई भन्दा पछिल्लो समयमा उनीभन्दा निकै कनिस्ठ वर्षमान पुनलाई पार्टी अध्यक्ष प्रचण्डले चेपेपछि उनी प्रचण्डसँग निकै चिढिएको रोल्पाका माओवादीवृत्तमा चर्चा छ । सत्ताबाट वर्षमान र सडकबाट विप्लव रोल्पामा एकअर्काेको आमने सामने भएर लडेको रोल्पावासीबीचमा अहिले चर्चा छ । 

विप्लव समूहलाई मनोबल गिराउने गरी नजाने हो भने लामो समयसम्म जिल्लामा काम गर्न नसक्ने भन्दै माडी गाउँपालिका–५ का वडा अध्यक्ष भरत ढुंगाना र नन्दबहादुर बाठाले वर्षमान पुनलाई दवाव दिएको उनका आफन्तले बताए । 

विप्लव पार्टीका एक जिल्ला नेताले जनयुद्धकालमा दमन गर्ने खुमबहादुर खड्कासँग वर्षमानलाई तुलना गर्दै वक्तव्य जारी गरेका छन् ।