विप्लवमाथि पहिलो पटक मुद्धा दायर, सहमतिको सम्भावना टरेको हो ? 

विप्लवमाथि पहिलो पटक मुद्धा दायर, सहमतिको सम्भावना टरेको हो ? 

काठमाडौं । प्रचण्ड नेतृत्वबाट छुट्टिएर मोहन वैद्य हुँदै त्यसबाट पनि अलग्गिएर बनेको नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी एनसेलका टावरहरुमा बम फिस्फोट गर्न थालेपछि पार्टीका महासचिव विप्लवलाई रोल्पामा मुद्दा दायर गरिएको छ । प्रशासनको आँखाको तारो बनेको सो समूहका महासचिवलाई राज्यको तर्फबाट पहिलो पटक मुद्धा दायर गरिएको हो ।

उक्त समूहले चन्दा नदिएको भन्दै एनसेलका टावरहरु धस्त पारेको एनसेलको प्रशासनले सरकारलाई भनेको छ । यसअघि चन्दा असुली गरेको आरोपमा सो पार्टीका प्रवक्ता खड्गबहादर बिश्वकर्मा प्रकाण्डलाई पक्राउ गरी तारिखमा रिहा गरिएको थियो । चन्दा असुल्दै र सर्वसाधारण जनतालाई धम्क्याउदै हिँड्न थालेको भन्दै प्रहरीले रोल्पामा तीन र दाङमा तीन जना नेतालाई पक्राउ गरेको  प्रहरीले जनाएको छ । चन्दसहित दर्जन नेताबिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दायर गरेको हो । 

उनीहरुलाई पूर्वी रोल्पाको सुलिचौरमा रहेको नेपाल टेलिकम र गजुलस्थित एनसेलको टावरमा क्षति पु¥याएको अभियोग लगाइएको छ । यसअघि विप्लव समूहका १७ जना कार्यकर्ताहरुलाई दुई दिनअघि सिन्धुपाल्चोकको चौताराबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसमेत छन् । उनीहरुलाई राज्यबिरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप भइ हिरासतमा रहेका छन् । 

उनीहरुको साथबाट सैन्य तालिम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धको पर्चा पम्प्लेटलगायत कागजात बरामद गरिएको जनाइएको छ । जिल्लाका क्रसर उद्योग, कर्मचारी, शिक्षकलगायतबाट चन्दा असुली गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हालसम्म प्रहरीले विप्लव समूहका तीन सय ७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो । फागुनमा पक्राउ पर्नेहरु धनकुटा प्युठान, झापा, सर्लाही, पर्सा, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुम, इलाम र सिन्धुपाल्चोकबाट रहेको प्रहरी उच्चश्रोतले जनाएको छ ।

विप्लव समूहलाई शान्तिपूर्णं रजानीति धारमा ल्याउन र वार्ताका माध्यमबाट समस्या समाधान गर्न केही महिनाअघि सरकारले वार्ता टोली पनि गठन गरेको थियो । तर सो समूहसँग सार्थक वार्ता हुन सकेन ।


यसैबीच विप्लव समूहका रोल्पा सेक्रेटरी प्रयासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले आफनो पार्टीका नेता कार्यकर्तालाई बिना कारण गिरफ्तारी गर्ने, नेता कार्यकर्ताको घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई आतंकित पार्ने र शान्तिपूर्ण कार्यक्रममा दमन गरिरहेको जनाएका छन् । 

उनले केही दिन अघि मात्र सो पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गरेको, परिवारका सदस्यलाई आतङ्क सिर्जना गर्ने र रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तै नेकपाका जागृति, विश्लेषण, बिजुली, दिनेश चन्द लगायतको घरमा खानतलासी गरेर परिवारका सदस्यहरुलाई मानसिक यातना दिनुको साथै कैयौं ठाउँमा जनतालाई कुटपिट गर्ने र होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
जनयुद्धको पूर्वसन्ध्यामा रोल्पामा खुमबहादुर खड्काले जुन खालको रवैया अपनाएका थिए त्यसको पुनरावृति स्वरुप अहिले वर्षमान पुनहरुले झन् ठूलो दमन गरिरहेको भन्दै गिरफ्तार गरिएकाहरुलाई रिहा नगरिए पार्टीले श्रृङ्खलाबद्ध संघर्षको कडा बाटो समात्न बाध्य हुने चेतावनी विज्ञप्तिमा मार्फत दिइएको छ ।

२०५२ सालदेखि सँगै जनयुद्ध लडेका र सिङ्गो युद्ध र तत्कालीन नेकपा माओवादी पार्टी हाँकेका सुप्रिम कमाण्डर प्रचण्डको पार्टी अहिले सरकारको नेतृत्व गरिरहेको छ । त्यति मात्रै होइन, सरकारको गृहमन्त्रालय सम्हालेर सँगै त्यो महासमरको यात्रामा हिँडेका अर्का नेता रामबहादुर थापा बादल छन् । अव बादलले कम्युनिष्टको राजनीतिक यात्रामै हिँडेको तर सरकारको आँखाको तारो बनेको विप्लव र उनको समूहलाई कसरी चित्त बुझाउँछ ? हिजो माओवादीलाई काँग्रेसको देउवा सरकारले जंगल पठाउन बाध्य बनाएझैं यो समूहलाई पनि केपी ओली नेतृत्वको सरकारले युद्धमा पठाउला वा पक्राउ गरेर सिध्याउला या त वार्ता गरेर समस्याको समाधान गर्ला त्यो भने हेर्न बाँकी नै छ । सरकार नरम बन्ने र विप्लव पक्षले पनि फौजी भन्दा पनि राजनीतिक कार्वाहीलाई प्राथमिकता दिने हो भने धेरै ठूलो समस्या नहुने राजनीतिक विश्लेषक बताउँछन् ।