चुनौतीको चाङमा महाप्रसाद, कसरी पार लाउँछन् महामारी

चुनौतीको चाङमा महाप्रसाद, कसरी पार लाउँछन् महामारी

झिल्को टिप्पणी

कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु गरिसकेको र नेपालको अन्तरिक उत्पादन तथा आयात निर्यात ठप्प भएको अवस्थामा केन्द्रीय बैंकले नयाँ नेतृत्व पाएको छ । कोरोना संक्रमण हाम्रो बशभन्दा बाहिर छ । यसले हामीलाई कहाँ पु¥याउँछ कसैलाई पनि थाहा छैन । अहिलेसम्म जति कुरा गरेका छौं, सबै अन्दाजमा गरिरहेका छौँ । महाप्रसाद अधिकारीले सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकको नेतृत्वमा पदबहाली गरेसँगै उनको काँधमा वित्तीय स्थायित्वका साथै समग्र देशको आर्थिक सन्तुलनमा सहयोग गर्नुपर्ने मुख्य जिम्मेवारी आइपरेको छ । 

नवनियुक्त गभर्नर अधिकारीले पद बहाली गर्दै गर्दा राष्ट्र बैंकले नै प्रकाशित प्रतिवेनको आँकडाअनुसार उनका अगाडि वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति ६.८७ प्रतिशत छ । सात महिनाको औसत मुद्रास्फिति ६.४७ प्रतिशत छ । विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिती रु.१० खर्ब ९६ अर्ब ६८ करोड बराबर कायम भएको छ । उक्त सञ्चिति ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.४ खर्ब ४९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५ खर्ब ५१ अर्ब ८२ करोड छ । विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.८ प्रतिशतले बढेको छ ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशत र कर्जाको वृद्धिदर १४.१ प्रतिशत छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको यो आँकडा झन्डै पाँच महिना अगाडिको हो । यस अवधिमा विश्वव्यापी महामारी फैलिएको देशको मात्र होइन विश्वकै अर्थतन्त्र प्रायः ठप्प छ । कोरोनाको प्रकोप कति गहिराइमा जाला, यसको गहनता कसैलाई थाहा छैन । यो कति लम्बिने हो त्यो पनि आँकलन गर्न मुश्किल छ । विश्वका धेरै महान् र विकसित मुलुक कोरोनाले निम्त्याएको मृत्युसँग संघर्षरत छन् । हामी पनि त्यही संघर्षमा सँगसँगै छौं । यो परिस्थितिमा पदभार ग्रहण गरेका अधिकारीले सबै क्षेत्र एकदमै चुनौतीपूर्ण रहेको स्वीकारेका छन् । उनले भनेका छन्– अधिकांश मुलुकमा लकडाउन छ । त्यसको असर आर्थिक क्षेत्रमा परेको छ । त्यसमध्ये पनि अझ बढी वित्तीय क्षेत्रमा परेको छ । जसलाई व्यवस्थापन गरी काम चलाएर लैजान पनि चुनौतीपूर्ण छ ।

यो चुनौतीपूर्ण अवस्थामा उनले बहन गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने क्षेत्र भनेको व्यापार, ऋणको साँवा र ब्याज किस्ता तिर्ने तथा आर्थिक उन्नति गर्ने सवाल महत्वपूर्ण छ । यस अवस्थामा समृद्धिका कुरा तपशीलमा जाने छन् । वित्तीय क्षेत्रको साख जोगाएर अर्थतन्त्रलाई जिवन्त दिन सकियो भने पनि ठूलो कुरो हुने अवस्था छ । त्यसैगरी दैनिक जीवन चलाउन पनि गाह्रो पर्ने अवस्थामा अत्यावश्यक खरिदका लागि तरलता प्रवाह गर्नु नै महत्वपूर्ण हुने देखिन्छ । एउटा घरमा चुल्हो बाल्नका पनि गाह्रो हुने अवस्थामा चलिरहेका बैंकिङ कारोबारलाई व्यवस्थित गराउन सक्नु नै महत्वपूर्ण हुने देखिन्छ । 

वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक हो । वित्तीय क्षेत्रको महत्वपूर्ण सम्पत्ति भनेको मानिसको आत्मविश्वास जोगाउनु हो । यस क्षेत्रमा मुख्य चुनौती अहिले कोरोना भाइरसले ल्याएको छ । भूकम्पका बेला नेपालमा मात्र समस्या थियो र अन्य क्षेत्रबाट सहयोग प्राप्त भएकाले देशको अर्थतन्त्र जोखाउन मद्दत पुगेको थियो तर अहिले विल्कुलै त्यस्तो छैन । अर्थतन्त्रमा बलिया देशहरु शिथिल भएको अवस्था छ । सहयोगी हातहरु पनि भाँचिएका छन् । अर्थतन्त्रको एक हाँगामा असर पर्दा अर्को क्षेत्रले सहयोग गर्ने प्रचलन विश्वभरिकै हो तर अहिले सबै क्षेत्रमा समस्या भएको छ । त्यसैगरी कुनै एउटा क्षेत्रमा मात्रै समस्या पर्दा अन्यत्रबाट सहयोग आउँथ्यो भने अहिले सबैतिर समस्या पर्दा व्यवस्थापन गर्न समस्या झनै चर्किने देखिन्छ ।

केन्द्रीय बैंकको उद्देश्यमा आन्तरिक मूल्य तथा वित्तीय क्षेत्र स्थायित्व राख्नु हो । के त्यो उद्देश्यमा खरो उत्रेलान नव नियुक्त गभर्नर ? हुन त उनले नीतिगत निर्णयका रुपमा कोरोनाको असरको नियमित अध्ययनका लागि टास्क फोर्स बनाउने भनेका छन् । राष्ट्र बैंकले ल्याएको राहतको प्याकेजले कत्तिको काम गर्छ भन्नेमा उनले विश्लेषण गरेर परिमार्जन गर्नुपर्ने छ । चार वर्षपछि गभर्नरका रुपमा पुनः राष्ट्र बैंक प्रवेश गरेका अधिकारीले अर्थतन्त्र र वित्तीय प्रणाली जोगाउन कर्मचारीलाई साथ लिएर उद्देश्य प्राप्तिको दिशामा अगाडि बढ्ने विश्वास लिइएको छ तर उनले चुनौतीको चाङलाई कसरी पन्छाउँछन् त्यसैमा उनको व्यवथापकीय छवि अडेको छ  । २६ चैत्र २०७६