होम क्वारेण्टाइन र हाम्रो सभ्यता

होम क्वारेण्टाइन र हाम्रो सभ्यता

वसन्त पोखरेल

होम क्वारेण्टाइनमा लामो समय बसियो । अहिले पनि बसिएकै छ । बडो मज्जा हुँदोरहेछ । लामो जीवनमा यति मज्जाका दिनहरु कहिल्यै अनुभव गर्न पाइएन । अहिलेको होम क्वारेण्टाइन भनेको काम नगरिकनै खान पाइने ठाउँ रहेछ । कसैसँग नबोलिकनै बस्न पाइने ठाउँ रहेछ । काम गर्छु भने पनि गर्न नपाइने ठाउँ रहेछ । हिँडडुल गर्छु भन्दा पनि हिँड्न नपाइने र नहिँडी बस्न पाइने ठाउँ रहेछ । छिमेकमा कोही मर्यो भने मलामी बन्न जान पनि नपाइने रहेछ । कोही विरामी भयो भने अस्पतालमा लैजाने अनुमति पनि नपाइने रहेछ । हाँसो, आँशु बाँड्न नपाइने ठाउँ रहेछ । अँगालो हाल्ने, हात मिलाउने, चियर्स गर्ने सबैखाले खुसीलाई तिलाञ्जली दिनुपर्दो रहेछ । यस्तो क्वारेण्टाइन जीवनमा भोगिँदै छ । 

अस्ति एकजना मित्रले फोन गरेर भनेः आज मेरो बर्थ डे हो, केक त नपाइने भयो, साँझपख घरमै पालेको कोइलर कुखुरा काटेर खाने हो, अरु (सिसीमुनी) को पनि इन्तजाम छ । पाँच बजेतिर आउनु होला । सुन्दा त निकै कर्णप्रिय लाग्यो । तर, जान महाभारत भयो । गए पनि खान महाभारत भयो । खाए पनि फर्कन महाभारत भयो । केही खाएजस्तो नै भएन । किनभने स्वच्छन्द हुन सकिएन । कोरोना भनेको त महाभारतको युद्ध भन्दा पनि डरलाग्दो पो हुँदो हरेछ । 

गाई, भैँसी, बाख्रा पाल्नेलाई थाहा छ ती जनावरलाई गोठ वा खोरमा दाम्लोले बाँधिन्छ । अथवा थुनिन्छ । घाँस पानी दिइन्छ । दाना, कुँडो दिइन्छ । चराउनु पर्दा जंगल, चौरतिर लगिन्छ । अथवा लामो डोरीले बाँधेर डोरिन्छ । भैँसीलाई आहाल बसाल्न नदी वा पोखरीमा लगिन्छ । आफ्नो अनुकूलअनुसार फेरि गोठमा बाँधिन्छ वा खोरमा थुनिन्छ । विरामी पर्दा बाँधिएकै अवस्थामा उपचार गरिन्छ । त्यो पनि एकखालको क्वारेण्टाइन हो । फरक अलिकति के छ भने तिनलाई खानपान गराउने, स्वास्थ्य अवस्था हेर्ने जिम्मा पाल्ने गोसाहाँको हुन्छ । तर, मान्छे क्वारेण्टाइनमा बस्यो भने सबै जिम्मेवारी उसको

एकजना छिमेकी छन् । उनी गरी खाने अथवा हुँदा खाने वर्गका हुन् । त्यसो त म आफै पनि त्यहि वर्गको हुँ । आँगनमा उभिएर बोलाउँदै भनेः सर्, किनेको चामल भ्याइयो । अहिले पकाउन पनि भएन । दिउसो त कतै ब्यवस्था गरौँला । अहिलेको छाकलाई माना दुई चामल पैँचो माग्न आएको । दिनु पर्यो । मैले एक किलो जति चामल अलि टाढैबाट दिएँ । हातमा दिन पनि सकिन । न त उनले नै हात बढाएर मेरो हातबाट लिन सके । जव कि जंगल जाँदा, पिकनिक जाँदा, खोलामा माछा मार्न जाँदा उनी, हामी एउटै रुमालमा राखेका खाद्य बस्तु कैयौँपटक बाँडिचुँडी खाएका मानिस हौँ । साल, केराका पात टिपेर त्यसमा पस्केर संयुक्त खाना खाएका हौँ । तर, आज ? होम क्वारेण्टाइनले हामीलाई चार हात टाढा उभ्यायो । दश फिट पर हुत्तायो । यति बेला सोँचेँ, छुत, अछुत प्रथा यस्तै कारणबाट जन्मेको हुनुपर्छ । चार वर्ण, ३६ जात यस्तै कारणबाट विभाजित भएको हुनुपर्छ । 

हामी उपाध्याय खानदानका मान्छे । मेरा बाबु आमा कहिल्यै भोज भतेरमा गएको मैले देखिन । गाउँलेको बिहेमा जन्ती गए पनि बाबा या त कुनै निहुँ रचेर बीच बाटोबाट फर्कन्थे, वाध्यताबस गइहाले भने पनि उनले आफै खाना पकाएर साकाहारी खाना खान्थे । जन्ती बाख्रो भोज बाबाले आफ्नै छोराको विहेमा पनि खाएको देखिएन । आमाले त घर छाडेको थाहै भएन । विहानै नुहाएर चोखा कपडामा अँध्यारो भान्सामा खाना पकाउने काम आमाको थियो । भान्सामा कसैलाई जाने अनुमति थिएन । रुँदै गरेको बच्चालाई दुध ख्वाउने पनि अनुमति थिएन । भान्से अरुसँग छोइन्थेनन् । छोइएमा नुहाउनु पथ्र्यो । बडो अचम्मको निर्दयी चोखो संस्कार थियो भन्ने बुझिन्थ्यो । तर, अहिले लाग्छः त्यो आध्यात्मिक क्वारेण्टाइन थियो ।  

आमाको चोखो भान्सा, बाबाको स्वयं पाक्य जन्ती यात्रा यी सबै क्वारेण्टाइन थिए । जानेर वा नजानेर गरिएका क्वारेण्टाइन थिए । यस्तो चोखनितले मानिसलाई एकखालको गरि खाने संस्कृतिको विकास गरेको थियो । आज भोलि आफै भान्सामा खाना पकाएर खाने संस्कृति हराएको छ । होटेल जिन्दावाद भन्ने चलन ब्याप्त छ । खेतीपाती गरेर अन्न आर्जन गर्ने, अर्गानिक तरकारी बारीबाट टिपेर धोइ पखाली पकाउने, मान्यजनलाई टाढैबाट मुण्टो झुकाएर प्रणाम गर्ने चलन हराएको अवस्थामा अहिलेको होम क्वारेण्टाइन बासले मानिसलाई नयाँ सभ्यता सिकाउँछ कि झन् छाडा बन्न सघाउँछ यो त भोलिका दिनमा मात्रै थाहा होला । तर, क्वारेण्टाइन एउटा नयाँ सभ्यता निश्चितै हो ।

२६ चैत,२०७६ । बुटवल