कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सक बर्खास्त 

कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सक बर्खास्त 

बुटवल, २६चैत । कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई बर्खास्त गरिएको छ ।  प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले ती चिकित्सकहरुलाई कारबाही गरेको हो । बिनासूचना अनुपस्थित भएका लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई मन्त्रालयले सेवाबाट हटाएको जनाइएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो।

करार सेवामा नियुक्त उनीहरू अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए। सामाजिक विकासमन्त्री सुदर्शन बरालले अन्य अस्पतालमा पनि अनुगमन र निगरानी बढाएकाले बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने बताए।

‘महामारीका बेला पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘सुत्केरी, काजक्रिया र बिरामीबाहेकका बिदा स्वीकृत नगर्न र बिनाजानकारी सेवामा अनुपस्थित हुने चिकित्सकर कर्मचारीलाई सेवाबाट हटाउने वा कारबाही गर्ने निर्णय गरेका छौं।’