लकडाउन तोडेर भारतको क्वारेण्टिनमा पुगेका सांसदलाई क्वारेण्टिनमा राखिने

लकडाउन तोडेर भारतको क्वारेण्टिनमा पुगेका सांसदलाई क्वारेण्टिनमा राखिने

२७ चैत्र बीरगञ्ज । लकडाउन तोडेर भारतको क्वारेण्टिनमा पुगेर फर्किएका एक जना सांसदलाई क्वारेण्टिनमा राखिने भएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । दक्षिणी सीमा खुला सीमा भए पनि जुन देशका नागरिक जता छन त्यतै  क्वारेन्टिनमा राख्ने दुई देशीय सहमति अनुरुप नेपाल र भारत दुबैतर्फ दुबै देशका नागरिकहरु क्वारेन्टिमा राखिएका छन । तर, नेपालका एक जना बहालवाला सांसद सरकारी निर्णयको उल्लंघन गर्दै नागरिक भेट्ने नाममा भारत पुगेका छन् । सरकारी निर्णयको अवज्ञा गर्ने समाजवादी पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ वाट निर्वाचित सांसद प्रदीप यादव हुन । 

सीमा पारि रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा २५ जना बसेका छन । त्यसमध्ये १५ जना नेपाली नागरिक रहेका छन । क्वारेन्टिनमा खाने बस्ने सुविधा उपलब्ध गराइएको हुन्छ । नेपालतर्फ रहेका भारतीय नागरिकलाई पनि त्यो सुविधा उपलब्ध छ । सरकार प्रमुखको तहमा भएको सम्झदारीपछि जो जहाँ छ त्यही बस्ने अवधारणा अन्तर्गत क्वारेन्टिन बनाएर राखिएको छ । यसको पछाडिको उद्देश्य भनेको  कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नु नै हो । 

तर, यति महत्वपूर्ण सावधानीको अपनाइएको ठाउँमा सांसद जस्तो मान्छे दलबलका साथ बिदेशी भूमिमा जानु जिम्मेवार कदम नभएको टिप्पणी हुन थालेको छ । सासदको कदमले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको छ । 

सासद यादवले भिडियो सन्देश बनाएर घर घरमा बस्नुहोस भन्दै अपिल गरेको पनि देखिन्छ । तर उनी आफै दलबलसहित डुलिरहेको घटनाले मध्य तराईमा जोखिम बढेको छ । त्यति मात्र होइन सांसद यादवले त्यहाँको क्वारेन्टिनमा रहेका एक जना ब्यापारी ब्यक्तिलाई आफनो मोटरमा राखेर नेपाल ल्याएका छन । उनको रक्सौल जानुको पछाडिको उद्देश्य नै थियो । यद्यपि यो कुराको स्वतन्त्र पुष्टि भने भएको छैन । उनीसँगै नेपालबाट दुई जना पत्रकार सहित चार जना गएका थिए । अहिले बिदेशबाट आएको ब्यक्तिको सम्पर्कमा पुगेकाहरुलाई क्वारेन्टिनमा बस्न मोवाइलको रिङटोनमा समेत सन्देश प्रवाह भएका बेला सांसदले दलबलसहितको देश बिदेश यात्रा गरेका कारण  समस्या परेको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले सांसद यादवलाई अर्काको भूमिमा जान नहुनेतर्फ सचेत गराएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारीले एक जना बहालवाला सांसदलाई जान हुँदैन भनेको नै हो तर सांसद यादवलाई त्यहाँ जानै पर्ने थियो । सांसद यादवले बीरगंजस्थित महावाणिज्य दुतावास र रक्सौलमा रहेको प्रशासनिक कार्यालयसँग अनुमति लिएर क्वारेन्टिनमा गएको दावी गरेका छन् । सासद प्रदीप यादवको रक्सौल यात्रा संघीय संसदको सचिवलायलाई जानकारी छ कि छैन भन्ने प्रश्न पनि उठेको छ । संघीय संसद सचिवालयले जानकारी पाएर सासद यादवलाई बिदेश जान दिएको हो भने सरकारले घोषणा गरेको लकडाउनको अर्थ के हो ? भन्ने प्रश्न उठेको छ ।