नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भएकोे आजको दिन
टंक कार्की
०३२ सालको कुरो हो, म बिराटनगरबाट घर फर्किदै थिएँ, झापाबाट म पैदलै हिंडेर इलाम पुगें । म सोझै रत्नकुमारको डेरामा पुगें । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुंगबाट आउँदा त्यहाँ निस्की सकेका थियौं । त्यसो त हामी पहिला नै 'झापाली' भइसकेका थियौं ।
कोठामा छिर्ना साथै मैले भारी बिसाएँ र हात मिलाउन थालें, कर्याप्प हात समातेर ।
'तपाई थाक्नु भएको होला, एकछिन आराम गर्नोस', रत्नले मसिनो तर उहीं आत्मीय भावले भने ।
त्यहाँ रत्नकुमार, गणेश राई र बसन्त पराजुली कोठाभित्रै थिए । म भने छोरी माइत आए जस्तै फुरुंग थिएँ । आत्मियता जो थियो । मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो । उस्तै उमेर, हित्तचित्त मिलेका। खाई लाग्दा त थिए नै, त्यो भन्दा बढ्ता उनीहरुको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो । आजभोलि जसलाई 'व्यवहारवादी' राजनीति भनिन्छ र 'मालिक र कारिन्दा'को व्यवहार गरिन्छ त्यसको कहीं कतै नामोनिसाना थिएन । लाग्थ्यो हामी एउटै आमाका लाम्टा चुसेका हौँ । अनि मनमनै गम्थे। मेरो सानो समर्पण गलत ठाउँमा छैन । यिनीहरु मिशनका पक्का जोधाहा हुन् । बस, मलाई के चाहियो ?
रत्न कुमार बाँकी दुई जनाका पनि अगुवा त छँदै थिए । 'शिल र समाधि' मा उस्तै भए पनि 'प्रज्ञा'मा उनी माथिल्लो कोटीका थिए । अहिले लाग्छ, उनको समर्पण नै 'प्रज्ञा, शिल र समाधि'को फ्युजन हो । निजात्मक उन्नयनको छक्कापन्जा या सुतिखेती थिएन ।
म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासँग संवाद चलाए । कोही अलिक पाका, कोही तरुण, तर ती मभन्दा प्रौढ थिए । बेलुकासंगै खाना खायौं । खाना उनैले बनाए । अनि हामी हाम्रो 'ब्युजिनेस' मा लाग्यौं । विधार्थी आन्दोलनको चर्चा गर्यौं, कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं, 'झापा विद्रोह' ले प्रसस्त गरेको बाटोमा छलफल चलायौं । पार्टी विस्तारका सम्भावनाका कुरा, 'यता त उत्साहजनक प्रगति भइरहेको छ, ताप्लेजुङ्गको निम्ति के गर्नु पर्ला ?' उनले यो पनि भनेका हुन्, माओ त्सेतुङ्गलाई उद्धृत गर्दै, 'क्रान्ति कार्चोपी भर्नु होइन, न त भोज भतेर गर्नु नै, बिना समर्पण र बिना बलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ । उनी बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडदै गरेको सपना देख्दै थिएँँ ।
अलिक अघि मात्रै म बिराटनगर क्याम्पसबाट 'रेस्ट्रिकेट' भएको, ४ वर्षअघि SLC मा पनि । आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैन, हेलिनु पर्छ क्रान्तिमा । उनी मलाई ढाडस दिदै थिए, 'यो सत्ताको बल नै अत्याचार हो ।' हामी अबेर सम्म विमर्शमै रह्यौं । भोलि पल्ट विहानै म लागें आफ्नै दर्गादिशा । यो नै मेरो रत्न कुमार बान्तवासँगको अन्तिम भेट थियो । त्यसको तीन वर्षपछि म काठमान्डूमा । भरतले दुःखद समाचार सुनाए, 'कमरेड रत्न कुमारको सहादत भयो । म खग्रंग भएँ । 'नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो ।' आजभोलि काठमान्डूमै छु । आक्कल झुक्कल सोनाम साथीलाई भेट्छु । उनलाई देख्दा अनायास म आफैलाई उहीं इलामको झझल्को आउँछ । आज उ सत्ता त छैन तर रत्न कुमारहरु हराउन थालेका छन् ।
आज उनै अमर शहीद रत्न कुमार बान्तवाको जन्म दिन तथा स्मृति दिवस . हार्दिक श्रद्धान्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा !
अप्रिल ९, २०१६ , फेसबुकबाट
प्रतिक्रिया