कोरोना भाइरसले बढाएको अन्धबिश्वास

कोरोना भाइरसले बढाएको अन्धबिश्वास

चैत, २८ । कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर त्यहाँबाट निस्किने कालो माटोको टीका लगाउने, बत्ती बाल्ने तथा शङ्घ र घण्ट बजाउने जस्ता गतिविधिहरू गरिरहेको भन्दै सामाजिक सञ्चालमा चर्चा भइरहेको छ।

कतिपयले त्यसो गर्दा लाभ हुने कुनै वैज्ञानिक आधार नभएको भन्दै त्यसो गर्नेलाई अन्धविश्वासी भनिरहेका छन् भने कतिले त्यसको प्रतिरक्षा पनि गरेका छन्। केहीले भने रोग नियन्त्रणका लागि सरकारले अत्यावश्यक काममा बाहेक अरू बेला घरमै बस्नु भनेकाले बढ्दो मानसिक तनाव कम गर्न त्यस्ता गतिविधिमा सहभागी लिएकोू प्रतिक्रिया जनाएका छन्।

विज्ञहरूले भने विश्वभरि कोरोनाभाइरससँग जोडेर विभिन्न खाले मिथ्या कुराहरू फैलाउने क्रम बढेको भन्दै नेपालमा भइरहेका यी गतिविधिलाई पनि त्यस्तै क्रियाकलापसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएदेखि नै मानिसहरूले विभिन्न धार्मिक अनुष्ठान गरेका तस्बिर र भिडिओहरू सार्वजनिक भइरहेका छन्। केहीअघि नेपालकै कतिपय स्थानमा कोरोनाभाइरस नेपालमा भित्रिन नदिन भन्दै यज्ञ र पूजाआजा गरिएका भिडिओ सार्वजनिक भएका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक ती भिडिओको आधिकारिकता पुष्टि गर्न भने सकिएको छन् ।

त्यस्तै कास्कीमा एक इसाई पादरीले कोरोनाभाइरस भगाउन भन्दै चिच्याएर गरेको प्रार्थना सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उनले आफ्नै ट्विटरमा पनि त्यस्ता सामग्रीहरू राखेका थिए। त्यसैका आधारमा कोरोनाभाइरसबारे भ्रम फैलाएको भन्दै उनलाई स्थानीय प्रशासनले कारबाही गरेको खबर पनि सार्वजनिक भएको थियो ।

केही दिनअघिदेखि मध्यतराई तथा पश्चिम नेपालका केही क्षेत्रमा मानिसहरूले घरको मूल ढोकाको ठिक अगाडि आँगनमा खनेर त्यहाँबाट निस्केको कालो माटोको टीका लगाएको भिडिओ सामाजिक सञ्जालमा व्यापक भइरहेको छ।

त्यस्तो टीका लगाउँदा कोरोनाभाइरस नलाग्ने दाबी गरिएका ती भिडिओको आधिकारिता पुष्टि हुन अझै सकेको छैन ।

यसैबीच सामाजिक सञ्जालमार्फत् नै मानिसहरूले आह्वान गरेका आधारमा गत आइतवार साँझ धेरै नेपालीहरूले घरमा दीपावली र शङ्खध्वनि गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतवार नै भारतमा पनि कोरोनाभाइरस विरुद्ध एकताबद्ध हुन भन्दै उस्तै खाले दीपावली गरिएको थियो।

नेपालमा भने आइतवार रवि प्रदोष व्रत का रूपमा दीपावली गरिएको कतिपय त्यस्तो कार्यमा सामेल हुनेहरूले बताएका छन्। वीवीसीबाट