कांग्रेस बेमौसमी बाली लगाउन व्यस्त

कांग्रेस बेमौसमी बाली लगाउन व्यस्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधीले गएको शनिवार प्रदेश नं. २ को राजधानी जनकपुरमा राजनीतिको बेमौसमी ब्याड लगाउन भ्याए । 

त्यो ब्याडको नाम हो ‘मिथिला तथा भोजपुरा’ । प्रदेश नं. २ लाई उनीहरुले भाषिक पहिचानको आधारमा मिथिला तथा भोजपुरा राज्य नामाकरण गर्नु पर्ने र राज्यको भाषा मैथिली तथा भोजपुरी हुनुपर्ने जिकिर गरे । यो जिकिर निधीले गरिरहँदा जनकपुरको राजनैतिक तापक्रम कति बढ्यो बढेन समयले बताउने छ । तर राज्यको पुनर्संरचना भइरहँदा कांग्रेसले खेलेको भूमिका नजिकबाट हेर्ने बुझ्नेलाई लाजमर्दाे भएको हुनुपर्छ ।

मधेसको विविधता अनुसार भाषिक आधारमा मिथिला, भोजपुरा, अवध र थरुहट/थारुवान राज्य बन्नु बनाउनु न्यायपूर्ण हुन्थ्यो, हुन्छ । तर, जतिबेला राजनैतिक आन्दोलनले पहिचानमा आधारित यस्ता राज्यहरुको अनुमोदन भइरहदा कांग्रेस ‘चीर निद्रा’मा थियो ? कांग्रेसकै कारण यस्ता राज्यहरु अनुमोदन हुन नसकेको कुरा घाम झैं छर्लङ्ग छ । पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले ०६६ माघमा १४ प्रदेश प्रस्ताव गर्दा कांग्रेसले अनुमोदनमा भाँजो हालेको थियो । त्यसपछि सविधानसभाले बनाएको आयोगले गठन गरेको आयोगले बहुमतको निर्णयमा पहिचानकै आधारमा गैरभौगोलिक प्रदेशसहित १० प्रदेश प्रस्ताव गर्दा आयोगमा गएका कांग्रेसी सदस्यहरुले फरक प्रस्ताव गरेका थिए । यसअघि तत्कालीन माओवादी पार्टीले प्रस्ताव गरेको प्रदेशको ढाँचालाई त सिधै साम्प्रदायिक भन्दै आएको थियो ।

वास्तवमा कांग्रेसले राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिलाई पार्टीको धारणा लिखित रुपमै प्रस्ताव गर्दा अहिलेको सात प्रदेशसँग ठ्याक्कै मिल्छ । समितिलाई कांग्रेसले दुइवटा प्रस्ताव पेस गरेको थियो । पहिलो प्रस्तावमा नाम नभएको सात प्रदेश करिव अहिलेको ढाँचामा र अर्को बैकल्पिक प्रदेशको नाममा तत्कालीन पाँच विकास क्षेत्रको ढाँचामा पाँच प्रदेश प्रस्ताव गरेको थियो । यस्तो प्रस्ताव कांग्रेसले ०६६ साल जेठमा बुझाएको थियो । पहिलो र दोस्रो दुवै प्रस्तावमा उसले मिथिला, भोजपुरा लगायतको पहिचानको संकेतसम्म गरेको थिएन । दोस्रो बैकल्पिक प्रस्तावमा त झनै यस्ता विषय उपस्थित हुने कुरै भएन । कांग्रेसले प्रस्ताव गरेको पहिलो प्रस्तावको प्रदेश दुईमा सप्तरीपूर्व सर्लाहीसम्म र सगरमाथा, जनकपुर अञ्चलका पहाडी जिल्लालाई समावेस गरेको थियो ।

तर, यतिखेर कांग्रेसले मिथिला र भोजपुरा राज्य स्थापना गर्न आँशु चुहाउँदै हिँड्नुको अर्थ छैन् । आफैले बनाएको संविधानको कार्यान्वयनमा हेलिनुको साटो यतिबेला बेमौसमको बाली लाउनुको के अर्थ हुन्छ ? गोहीको आँशु नझारे नै बेस हुन्थ्यो कि ? यदि उसले आफ्नो गल्तीलाई सच्याउन खोजेको हो भने पनि पार्टीगत छलफल गर्नुपर्ने हो । उसले कमजोरीको आत्मसातीकरण भन्दा पनि मासमा गएर भावना भड्काउने मात्र काम गरेको बुझ्न कठिनाइ छैन । 

देउवालाई आफ्नै बोली पासो

कोइराला परिवारका सभापतिका उम्मेदवार शेखर !