परिवर्तित विश्व परिस्थितिको अपरिवर्तित दलाल चरित्र
देव गुरुङ
कोरोना भाइरसको विश्वव्यापी महामारीको पछाडि प्रायोजित वा प्राकृतिक जेसुकै भए पनि त्यसको परिणाम भयावह हुने देखिन्छ । हुन त यस महामारीको अन्त्यसम्म पुग्दा अझ कति क्षति हुने हो यकिन गर्न अहिले नै सकिदैंन । तर पनि विश्वमा लाखौ नागरिकहरुको ज्यान जाने र आर्थिक दृष्टिले खरबौं नष्ट हुने यथार्थता सुनिश्चित छ । सुरुवात चीनबाट भएको देखिएता पनि अहिलेसम्मको स्थिति हेर्दा यस महामारीले सबैभन्दा बढी अमेरिका र युरोपेली मुलुकहरुमा क्षति पु¥याउने देखिन्छ ।
विश्वमा पूँजीवादको जन्म र विकास पश्चात् आधुनिकता र विकासको सभ्यताको केन्द्र पश्चिमी मुलुकहरु, विशेषत अमेरिका र युरोपेली मुलुकहरु देखिएका हुन । विशेषगरी २० औं शताब्दीको सुरुदेखि अहिलेसम्म पश्चिमकै प्रभुत्व रहदैं आयो । तात्कालिक साम्राज्यवादी शक्तिहरुको बीचमा पहिलो र दोस्रो विश्वयुद्व भयो । त्यसप्रकारको अन्तरविरोध पैदा भइरहेको स्थितिमा विश्व साम्राज्यवाद र त्यसले थोपरेको प्रत्यक्ष उपनिवेशवादका विरुद्ध समाजवादी शक्तिहरुले सोभियत संघ र चीन लगायत थुप्रै एशिया र ल्याटिन अमेरिकी मुलुकहरु क्रान्ति सम्पन्न गरी जनवादी तथा समाजवादी प्रणाली स्थापना गर्न सफल रहे । ततपश्चात विश्व साम्राज्यवादले प्रत्यक्ष उपनिवेश कायम गर्नुको सट्टा उसले आफ्नो औपनिवेशिक नीतिमा परिवर्तन ग¥यो र निजीकरण, उदारीकरण, खुल्ला बजार र भूमण्डलीकरणको नीति अवलम्वन गरेर वित्तीय बहुर्राष्ट्रिय कम्पनीहरुमार्फत् एशिया, ल्याटिन अमेरिका र अफ्रिकी मुलुकहरुमा नयाँ प्रकारको उपनिवेश लागू गर्न थाले । त्यसलाई नवऔपनिवेशिक प्रणाली भनिन्छ । जव नवऔपनिवेशिक प्रणालीको शुरुवात भयो । समाजवादी शक्तिहरुले त्यही नवउपनिवेसवादको विचारधारा, आर्थिक, साँस्कृतिक र राजनीतिक प्रणालीलाई ठीक ढङ्गले पहिचान र त्यसको प्रतिवाद गर्न सकेन । फलतः सन् १९९० को दशकमा तात्कालिक सोभियत संघको विघटन भयो र समाजवादी आन्दोलन प्रतिरक्षाको अवस्थामा पुग्यो । सन् ९० को दशक पश्चात् अमेरिकी नेतृत्वको एक ध्रुवीय विश्व साम्राज्यवादको प्रभुत्व कायम रहदैं आयो ।
अर्कोतर्फ चीन र रुस लगायतका मुलुकहरुले विश्व साम्राज्यवादको प्रतिरोध शान्तिपूर्ण रुपमा नयाँ ढंगले गर्न थाले । आर्थिक विकास मार्फत् नै अगाडि बढ्ने नीति अवलम्वन गरियो । यतिखेरसम्म आइपुग्दा चीन विश्वको दोस्रो आर्थिक शक्तिको रुपमा स्थापित भएको छ । कोरोना भाइरसको महामारीबाट वर्तमान विश्वको शक्ति सन्तुलन फेरबदल हुने संकेत देखिइ सकेको छ । चीनले महामारी विरुद्ध जुन सफलता प्राप्त ग¥यो । एशियाली मुलुकहरुमा पनि एक हदसम्म नियन्त्रित भएको छ । अर्कोतर्फ सभ्यता केन्द्र र विज्ञान र प्रविधिको उच्चतम विकास भएको भनी अहंकार लिने पश्चिमा शक्तिहरु महामारीविरुद्धको अभियानमा हावाकावा भइरहेका छन् । त्यसबाट पश्चिमा साम्राज्यवादी शक्तिहरुको यथार्थ चरित्रको पर्दाफास हुदैं गइरहेको छ । चिनियाँ मोडेलको समाजवाद र एशियाली सभ्यताप्रति पश्चिमा साम्राज्यवादी सूचना, संचार र शिक्षा प्रणालीले सिर्जना गरेको जुन नकारात्मक अवधारणा थियो, त्यो यस परिघटनाबाट पर्दाफास हुँदै गइरहेको छ । चीन लगायतको एशियाली सभ्यता मानवताको लागि महान रहेछ भन्ने यथार्थता पनि स्थापित हुँदै गइरहेको छ । पश्चिमा शक्तिहरुले नागरिक स्वतन्त्रता र मानव अधिकारको जतिसुकै नारा दिएता पनि त्यो केवल कोरा आडम्वर रहेको यथार्थता उजागर भएको छ ।
नवउदारवाद, उत्तरआधुनिकतावाद, उपभोक्तावाद, व्यक्तिवाद र एकाधिकारी अहंकारवादले समाजलाई विकेन्द्रित गरी व्यक्ति केन्द्रित बनाई दियो । परिवार, समाज, जनता र राष्ट्र भन्ने मान्यतालाई विस्थापित गरी दियो । हामी, हाम्रो र हाम्रो लागि सोंच्ने अवधारणाका विरुद्ध म, मलाई र मेरो लागि भन्ने अति व्यक्ति केन्द्रित स्कुलिङ स्थापित गरियो । फलतः आज समाज र राष्ट्रमाथि महामारी आइपर्दा महामारीविरुद्ध राष्ट्र एकताबद्व हुन सकेन । त्यसमा पनि वर्तमान अमेरिकी राज्य निर्माणको क्रममा गोराहरुको प्रभुत्व कायम गर्न ब्रिटिसको उपनिवेश रहेको ऐतिहासिककालदेखि रंगभेदको नीति लामो समयसम्म अवलम्वन हुदैं आएको हो । अहिले पछिल्लो समयमा बहुर्राष्ट्रिय बन्दै गइरहेको अमेरिकी समाजमा आप्रवासीहरुलाई निषेध गर्दै 'अमेरिकन पहिलो' भन्ने वर्तमान नेतृत्वले समाजलाई झनै विखण्डन गराइरहेको अवस्था छ ।
अर्को कुरा साम्राज्यवाद भनेको एकाधिकार पूँजीवाद हो । अमेरिका लगायत पश्चिमा प्रशासन भनेको मुख्यतः केही एकाधिकार पूँजीपतिहरुको हातमा केन्द्रित रहेको प्रणाली हो । एकाधिकार पूँजीपति वर्गको वर्ग चरित्र भनेको मुनाफाको लागि आफ्नो व्यापारिक स्वार्थ केन्द्रित हुने गर्दछ । आफ्नो स्वार्थभन्दा अरु मानवीय पक्षहरुमा कुनै सरोकार राख्दैनन् । आफ्नो स्वार्थको लागि मानवीय जीवन र उसको स्वास्थ्यमाथि खेलवाड गर्न समेत पछि पर्दैनन् ।
यी सबै कारणका अतिरिक्त आधुनिकता, तेलबाट चल्ने ज्यादा वायु प्रदूषित उद्योगहरुको स्थापना, कृषिमा रासायनिक पदार्थहरुको प्रयोग, वायु प्रदूषण, हरेक क्षेत्रमा यान्त्रिकीकरण र विज्ञान/प्रविधि को विकास आदिको आधारमा बनेको खानपिन र जुन प्रकारको जीवनशैली बन्यो, त्यसले विभिन्न रोग र प्राकृतिक प्रकोपहरुको प्रतिरोध गर्ने क्षमतामा ह्रास ल्याइ दियो ।
पूर्वीय सभ्यतामा कृषि प्रधान उत्पादन पद्धति नै अर्थतन्त्रको मूल आधार रहदैं आयो । प्राकृतिक जीवन शैलीका साथै अर्गानिक खानपिनले रोगको प्रतिरोध क्षमता उच्च बनाइ रह्यो । यद्यपि कतिपय मुलुकहरुमा खराब राजनीतिक प्रणालीका कारणले गरीवीका समस्याहरु नभएका होइनन् । परन्तु परम्परागत रुपमा सामुदायिक र सामाजिक एकता कायम रहदैं आइरहेको अवस्था हो । केही शहरी क्षेत्रहरुमा पश्चिमा शिक्षा र संस्कृतिले प्रदूषित भएको भएता पनि पूर्वीय आम समाजलाई त्यति धेरै प्रदूषित बनाइ सकेको अवस्था होइन । त्यसका अतिरिक्त चीनको सन्दर्भमा सुरुको अवस्था भएर सुरुमा केही अन्यौल भए पनि उन्नत राजनीतिक प्रणाली, कुशल नेतृत्व र जनताको एकता र चुस्त व्यवस्थापन आदिले गर्दा मूल रुपमा महामारी नियन्त्रण गर्न सफल रह्यो । त्यति मात्र होइन अमेरिका र युरोप लगायत विश्वभरि भाइरस फैलिएका मुलुकहरुमा औषधि र उपचारका उपकरण सहायता पठाउनेदेखि लिएर कैयन मुलुकहरुमा स्वास्थ्यकर्मी समेत पठाउने गरिरहेको छ ।
यी सबै परिघटनाहरुबाट के स्पष्ट भएको छ भने विगतमा शक्ति राष्ट्रको रुपमा परिचित अमेरिका लगायतका पश्चिमा शक्तिहरु रक्षात्मक अवस्थामा पुगेका छन् भने चीन लगायतका एशियाली मुलुकहरु बढ्दो अवस्थामा पुगेको देखिन्छ ।
तर पनि एतिहासिक कालखण्डमा ब्रिटिसको उपनिवेश रहेका कतिपय एशियाली मुलुकहरुमा उपनिवेशबाट मुक्त भएता पनि राजनीतिक, आर्थिक र साँस्कृतिक प्रभावबाट अझै पनि मुक्त हुन सकिरहेको छैन । ब्रिटिस साम्राज्य समाप्त भएता पनि त्यसको ठाउँ पछिल्लो समयमा अमेरिकाले लिइरहेको देखिन्छ ।
अमेरिका स्वयम् ब्रिटिस उपनिवेसबाट बनेकाले ब्रिटिस र अमेरिकाको बीचमा औपनिवेशिक नीतिमा तात्विक फरक देखिदैंन । दक्षिण पूर्वी एशियाली मुलुकहरुमा लामो समयदेखि ब्रिटिसको उपनिवेश रहदैं आयो । परन्तु पछिल्लो समयमा ब्रिटिस उपनिवेश समाप्त भएता पनि त्यसको ठाउँ अमेरिकाले लिदैं आइरहेको छ ।
नेपालमा ब्रिटिसको प्रत्यक्ष उपनिवेश त रहेन, परन्तु सुगौली सन्धि तथा विशेष गरी राणा शासनको उदय पश्चात राणाहरु मार्फÞत ब्रिटिस साम्राज्यको प्रभुत्व रहदैं आयो । इष्ट इण्डिया कम्पनी मार्फÞत् राणा शासन अङ्ग्रेजहरुकै इशारामा चल्दै आयो । फलतः नेपालको राज्य संचालनको सम्पूर्ण मोडेल इष्ट इण्डिया कम्पनी मार्फत् अङ्ग्रेजहरुको निर्देशनमा बन्यो । विधि, विधान, प्रशासन, न्याय प्रणाली, सेना र सुरक्षा व्यबस्था सबै अङ्ग्रेजहरुकै शैलीबाट सञ्चालित भयो । शासक, प्रशासकहरु सबै उनीहरुकै प्रशिक्षणबाट सञ्चालन हुदैं आए । इष्ट इण्डिया कम्पनी भारतबाट फर्केता पनि त्यो ठाउँ विस्तारै अमेरिकाले लिदैं गयो । सोही अनुसार नेपालमा पनि राणाहरु विस्थापित भएता पनि अङ्ग्रेजहरुको परोक्ष प्रभुत्वबाट मुक्त हुन सकेन । नेपालमा पनि अङ्ग्रेजको ठाउँ विस्तारै पछिल्लो समयमा अमेरिकाले लियो । राणा शासन विस्थापित भएर चाहे राजतन्त्रकाल होस् वा गणतन्त्र, विदेशीहरुको प्रभुत्वमा तात्विक अन्तर आएन । त्यो क्रम ५० को दशक पश्चात् झन् कैयौं गुणाले बढेर गयो ।
नेपालमा पश्चिमाहरुको प्रभुत्व बढ्नुको पछाडि मुख्य कारण चीनविरुद्ध नेपाली भूमिलाई प्रयोग गर्ने रणनीतिक उद्देश्य नै प्रमुख देखिन्छ । किनभने सन् ५० को दशकमा चीनमा जनवादी क्रान्ति सम्पन्न हुनु र क्रमशः ६० को दशकमा तिब्बतमा पनि क्रान्ति सम्पन्न हुनु र नेपालमा पनि समाजवादी कम्युनिस्ट आन्दोलन बढ्दै जानु आदि कारणले दक्षिण एशियामा समाजवादी कम्युनिस्ट आन्दोलनलाई रोक्न, कथित फ्री तिब्बतीहरुको गतिविधि सञ्चालन गर्न र चीनविरुद्वको अभियानमा नेपाली भूमिलाई प्रयोग गर्न पश्चिमा शक्तिहरुले नेपालको स्वाधीनतामाथि हस्तक्षेपको नीति लिने गरेको देखिन्छ । त्यसको लागि भू राजनीतिक स्थितिलाई समेत हेरी नेपालको सन्दर्भमा पश्चिमा परस्त भारतीय शासकहरुलाई प्रयोग गर्ने गरिरहेको देखिन्छ । सोही अनुसार अमेरिकाले नेपालमा शासक, प्रशासक, सेना, न्यायालय आदि सबै क्षेत्रमा नेतृत्व विकास, क्षमता अभिबृद्वि, तालिम, प्रशिक्षण आदि भन्दै आफ्नो प्रभाव विस्तार गर्दै आइरहेको छ ।
अन्तरराष्ट्रिय गैरसरकारी संस्था, मानव अधिकारवादी संस्था, दातृ संस्थाहरु आदि सबै प्रकारका संरचनाहरुलाई परिचालन गरी आफ्नो प्रभुत्व कायम गर्दै आइरहेको छ । नेपालमा भएका राजनीतिक परिवर्तनहरु जति पटक भए पनि त्यसको पछाडि पश्चिमा परस्त भारतीय शासकहरु मार्फत अमेरिकाले आफ्नो अनुकूलको प्रणाली थोपर्ने प्रयास गर्दै आइरहेको छ । र, राज्यको नेतृत्वमा आफ्ना दलालहरुको पकड़ जमाउने प्रयास गर्दै आइरहेको छ । चाहे ५० को दशकको परिवर्तन होस, चाहे ६० को दशकमा दरवार हत्याकाण्ड होस, चाहे ७० को दशकको परिवर्तन र संविधान निर्माणकै प्रक्रियाहरुमा किन नहोस सबै परिघटनाहरुमा कुनैमा भारतीय शासकहरु मार्फत र कतिपयमा पश्चिमाहरु सिधै एकल पहलबाट पनि नेपालमा निरन्तर प्रभाव कायम गर्न छाडेको देखिदैंन ।
साम्राज्यवादी शक्तिहरुले आफ्नो प्रभाव कायम राख्ने र विस्तार गर्ने प्रयत्न हरहमेसा गरिरहन्छन् यो उसको वर्ग चरित्र हो । त्यसमा देशभक्त, समाजवादी र सच्चा कम्युनिष्टहरु कुनै दिग्भ्रमित हुनु हुँदैन । साम्राज्यवादी शक्तिहरुले आन्तरिक मामिलामा गरिने हस्तक्षेपको मुख्य माध्यम देशभित्र नै राज्यका हरेक निकायहरुमा आफ्ना दलालहरु बनाएर तिनै दलालहरु मार्फत् प्रभुत्व कायम गर्ने गरिरहेको हुन्छ । त्यसमा पनि विश्वका अन्य मुलुकहरुको अनुभव हेर्दा मुख्यतः सेना र न्यायालयमा केन्द्रित गर्ने र राज्यका अरु अङ्गहरुलाई समय, परिस्थिति अनुरुप प्रयोग गर्ने गरिरहेको देखिन्छ ।
आज विश्व तीब्रतर रुपमा विचारधारा, राजनीतिक प्रणाली र शक्ति केन्द्रहरु अदलाबदली भइरहेको छ । विश्व एक ध्रुवबाट बहुध्रुवमा परिणत भएको छ । तर नेपालमा साम्राज्यवाद परस्त राणाकालीन दासत्वको मानसिकताबाट हामी अझै माथि उठन सकेका छैनौ । पश्चिमा साम्राज्यवादी शक्ति केन्द्रहरुको आशिर्वाद लिन दलाली र चाकडीको प्रतिस्पर्धा नै हुने गरेको देखिन्छ । त्यही दलालीको प्रवृतिलाई ‘अन्तरराष्ट्रिय समुदायको समर्थन’ को जामा पहि¥याएर खुलेआम दलाली र चाकडी गर्न किञ्चित संकोच नमान्ने चिन्तन बढ्दो छ ।
अतः आजको साम्राज्यवाद र राष्ट्रिय मुक्ति आन्दोलनको युगमा उत्पीडित मुलुकहरुको स्वाधीनताको रक्षाको निम्ति साम्राज्यवाद परस्त दलाल प्रवृतिको विरोध गर्दै देशभक्ति र स्वाभिमान भावनाको विकास गर्नै पर्दछ । साथै अन्ततः वैज्ञानिक प्रकारको समाजवादी प्रणालीले मात्र मुलुकको रक्षा गर्न सक्छ । त्यसको अगुवा गर्ने विचारधारा भनेको सर्वहारा वर्गीय कम्युनिस्ट विचारधारा हो । रुस, चीन लगायतका विभिन्न मुलुकहरुमा साम्राज्यवादका विरुद्ध विगतमा सम्पन्न भएको क्रान्ति र आज चीनले गरिरहेको अभ्यास र सफलताबाट फेरि पनि एक पटक राम्रोसँग पुष्टि भएको छ । कोरोना भाइरस विरुद्वको अभियानको क्रममा यस यथार्थतालाई पनि दह्रो साथ आत्मसातीकरणको आवश्यकता देखिन्छ । २८ चैत्र २०७६
यो पनि पढ्नुहोस,
प्रतिक्रिया