लकडाउनले सताएको छ, तड्पाएको छ र अवसर पनि दिएको छ

लकडाउनले सताएको छ, तड्पाएको छ र अवसर पनि दिएको छ

डी बी क्षेत्री, प्रवक्ता, एनआरएनए 

संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली श्रमिकको ११ वटा शव अलपत्र परेको र कोरोना भाइरसका कारण त्यसलाई नेपाल लैजान नसकेको असाध्यै पीडादायी, मर्मस्पर्शी घटना भएको छ ।

महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोनाभाइरसका कारण कति श्रमिकको विदेशमा हालत यस्तै होला भन्ने चिन्ता थपिएको छ । देशमा रोजगारी विकल्प नहुँदा विदेशिन बाध्य श्रमिकको अवस्था कोरोना भाइरसको समापनसम्म कस्तो होला ? यो अहिले नै कल्पना गर्न सकिदैंन । जो मरे, तिनको पीडा अलग्गै छ, बाँच्नेहरु पनि देश, समाज र परिवारबाट अलग भएर कति दिनसम्म यसरी पीडाका साथ रहनुपर्ने हो ? देशका ऊर्जाशील लाखौं पाखुरा विदेशमा बस्नु परेको छ । जुन तरिकाले होस, कोरोना भाइरसको समापनपछि विदेशमा रहेका श्रमिकहरुले यसबाट गम्भीर शिक्षा लिनैपर्छ ।   


कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लगाएको चौथो हप्ता पुगेको छ । लकडाउनले सबैलाई सताएको छ, तड्पाएको छ तर यसले नेपाल सुहाउँदो एउटा अवसर पनि दिएको छ । यो अवसरलाई कसरी उपयोग गर्ने ? विदेशमा रहेकाहरुलाई देशमा तत्काल फर्केर काम गर्ने अवस्था छैन तर देशभित्र रहेकाहरुले अब किन नलाग्ने ?

सामाजिक दुरी कायम गरेर तत्काल गाउँ स्तरका कार्यक्रम लैजाऊ भन्ने कोरोनाले सन्देश दिएको छ । यो लकडाउनले हामीलाई अभिप्रेरणा पनि दिएको छ । सुखमा शहर र आपतमा आफ्नै गाउँ भन्ने शिक्षा  दिएको कुरा पनि प्रमाणित भएको छ । विभिन्न काम, अध्ययन, जागिर, मजदुरी आदिको खोजीमा शहर पसेकाहरु यतिबेला रातविरात नभनी लकडाउनलाई लत्याउँदै गाउँ फर्किनेको पनि कुनै कमी छैन । 

गाउँमा खेतीपातीको काम सुरु भएको छ । धेरै ठाउँमा खेत र बारीमा मकै छर्ने चटारो छ भने विभिन्न तरकारी खेती गर्ने मौसम पनि हो यो । त्यसैले लकडाउनले खेतीपातीको काम सघाउने र कृषिका अन्य कर्महरु गरेर आफ्नो नेपालीपन र गाउँले जीवनलाई पुनः नवीकरण गर्ने अवसर पनि लकडाउनले जुटाइ दिएको छ । भौतिक दुरी कायम गरेर खेतीपातीको मेलोमा आफ्ना बाआमासँग जागिरे र पढेलेखेका छोराछोरीहरु पनि भिडिरहेका छन् । 

त्यसैले लकडाउनलाई हामीले एकान्तबास र एक्लोपनामा होइन, भौतिक दुरी कायम गरेर कुनै नौलो कामको सिर्जना गर्न, आफूले आफैँलाई मोटिभेट गरी ब्रेनवास गरेर ताजा बनाउँदै अविष्मरणीय कार्य गर्ने अवसरका रुपमा लिन सक्नु पर्छ ।

लकडाउनका कारण कतिपयले आफ्नो रोजगारी गुमाएका पनि हुन सक्छन् । हामीले यो बेला हल्लिएको मगज र मस्तिष्कलाई फेरि बसाउँदै र स्थिर पार्दै लयमा ल्याउनै पर्छ । लाखौ मानिसको कारोनाले रोजगारी खोसिए पनि हामी यसलाई कृषि कर्ममा लगाएर, साहित्य सिर्जनामा लगाएर, घरमै पाइने बस्तुहरु कागज, बाँस, पुराना कपडा आदिबाट नयाँ नयाँ बस्तु तथा खेलौनाहरु पनि बनाउन सक्छौंँ ।

विदेशमा रहदा पनि नेपालमा नै परिवारसँगै रहेर के काम गर्ने भनेर यो बेलामा सकारात्मक योजना बनाउनतिर लाग्ने कि ? कोरोना भाइरसको महामारी बढ्दै जाँदा धेरैको रोजगारी जानसक्ने कुराको आँकलन गरेर नै हामी अगाडि बढ्ने सोंच बनाउनै पर्छ ।

र, अन्त्यमा, सरकारले कृषिसहितका अत्यावश्यक सामान उत्पादनका लागि प्राथमिकता दिएर तत्काल योजना बनाउनु पर्यो । श्रम र कृषि मन्त्रालयबाट एकीकृत योजना बनाउन पहल गरिहाल्नु पर्यो । कोरोना भाइरसको समापनसम्म पुग्दा विदेशमा रहेका कति श्रमिकको रोजगारी  गुम्छ भनेर अहिले नै एकिन गर्न नसकिए पनि १५ लाखको रोजगारी गुम्ने आँकलन गर्न थालिएको छ । यस्तो अवस्थामा विदेशबाट फर्किएका ऊर्जाशील पाखुरालाई देशमै वैकल्पिक रोजगारी दिने कार्यमा अहिलेदेखि नै सरकारले योजना बनाउनु पर्छ । २८ चैत्र २०७६