'सर्वदलिय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर'
काठमाडौं, २८ चैत । यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणलाई अझ प्रभावकारी तवरले कसरी नियन्त्रण र रोकथाम गर्न सकिन्छ भनेर बिभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुबीच छलफल जारी छ । यसै सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सर्वदलीय संयन्त्र निर्माण गरेर कोरोना संक्रमण बिरुद्ध एक ढिक्का भई अघि बढनुपर्ने आवश्यकता रहेको सञ्चारमाध्यमहरुमार्फत अभिब्यक्त गरेका थिए ।
तर आफ्नै पार्टीका कार्यकारी अध्यक्षको प्रस्ताव एक केन्द्रीय सदस्य गोकुल प्रसाद बास्कोटाले ठाडै अस्वीकार गरेका छन् ।
सत्तारुढ नेकपाका सांसद तथा निवर्तमान संचार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका बास्कोटाले अध्यक्ष प्रचण्डले अघि सारेको सर्वदलीय संयन्त्रको खिल्ली उडाउँदै के सेकाउन चाहियो ? भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसकुबमार्फत बास्कोटाले लेखेका छन्, तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन् । सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरना बिरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरत छन् ।अनि सँगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चा मै। तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर, सरकार।
प्रतिक्रिया