डीआईजी बढुवामा केही वरिष्ठ नै छुटे

डीआईजी बढुवामा केही वरिष्ठ नै छुटे

२९ चैत्र, काठमाडौं । प्रहरीमा डीआईजीको संख्या घटाएर बढुवा गरिएको छ । २६ जनाको संख्या घटाएर १४ जना कायम गरिएको छ । 

संख्या घटाउने चर्चा चलेसँगै गृह मन्त्रालयले १९ जनाको प्रस्ताव क्याबिनेटमा लगेको र त्यसलाई अझ घटाउन प्रधानमन्त्रीले निर्देशन दिएको खबर यसअघि नै मिडियामा आएको थियो । 

कोरोनाभाइरसको महामारीमा अग्रमोर्चामा लडिरहेका प्रहरीहरुको मनोबल नघटाउने गरी यसपटक २६ जना नै बढुवा गर्ने कि भन्ने पनि सुझाव आइरहेको थियो । जनपदभन्दा केही मात्र बढी संख्या रहेको सेनामा डीआईजी सो सरहको पद एक सय पाँच रहेको छ । त्यसलाई घटाउने कुरा कतैबाट आएको छैन । 

डीआईजीमा बढुवा गर्दा पनि केही कमजोरी रहेको वरिष्ठ प्रहरी अधिकारीले बताइरहेका छन् । गणेश ऐर जस्तो सिनियर, प्रभावकारी काम गर्दै आएकालाई अहिलेको बढुवामा समावेश नगरिनु, एक वर्षपछि एसएसपीमा बढुवा भएका सहदेव थापालाई पुराना वरिष्ठलाई पनि उछिनाएर बढुवा गरिनु कमजोरी भएको केही वरिष्ठ प्रहरी अधिकारीलेऔंल्याएका छन् । अरुण बीसी पनि कनिष्ठ हुँदाहुँदै वरिष्ठलाई उछिनाएर बढुवा गरिएको छ । 

गृहमन्त्री चलाइसकेको अनुभव भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बढुवामा विशेष चासो राख्ने कुरालाई अन्यथा मान्न मिल्दैन । अहिलेको प्रणालीमा प्रधानमन्त्रीको चाहना नै मुख्य रुपमा प्रभावी हुन्छ । बढुवामा भएको जश र अपजशको मुख्य भारी पनि प्रधानमन्त्रीले नै बोक्नुपर्छ । यसमा गृह र यसका मातहतका मन्त्रालयको भूमिका प्रधानमन्त्रीलाई सुझाव दिने र सहजीकरणमात्र हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री विमलेनद्र निधिबीचमा आईजीपी बढुवामा भएको द्वन्द्वलाई धेरैले राम्रो मानेनन् । त्यसमा गृहमन्त्री निधिले वाहिर नै आएर अर्घेल्याइँ झिकेका थिए । 

कोरोनाभाइरसको संक्रमणको संकटको बेलामा संख्या घटाएर बढुवा गरिदा र धेरै वरिष्ठ छुट्दा उच्च प्रहरी अधिकारीको मनोबल घट्ने खतरा देखिएको छ । 

अहिले १० जनाको बढुवा

नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस भएको छ । गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार १० जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

अहिले १० जनाको बढुवा

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय विशेष सशस्त्र प्रहरी महाशाखा नक्सालमा कार्यरत घनश्याम अर्याल रहेका छन्। अन्वेशषण योजना तथा विकास निर्देशनालयमा कार्यरत प्रकाशजंग कार्की दोस्रो नम्बरमा बढुवा भएका छन्।

बसन्तकुमार पन्त बढुवा तेस्रो नम्बरमा छन् भने ईश्वरबाबु कार्की चौथो नम्बरमा रहेका छन्। पन्त तालिम महाशाखाको जिम्मेवारीमा छन् भने कार्की मानव बेचबिखन ब्युरोमा कार्यरत छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका सहकुलबहादुर थापा बढुवाको पाँचौं नम्बरमा परेका छन्। धिरजप्रताप सिंह, बसन्तकुमार लामा रवीन्द्रबहादुर धानुक पनि बढुवाका लागि सिफारिस भएका छन्। 

महानगरीय प्रहरी परिसरको जिम्मेवारीमा रहेका उत्तमराज सुवेदी र अख्तियारमा कार्यरत अरुणकुमार बिसी बढुवा सिफारिस सूचीको नवौं र १०औँ नम्बरमा रहेका छन्।

नेपाल प्रहरीको प्राविधिक तर्फको डीआईजी दरबन्दी हटाइएको छ। चार जना डीआईजी भने यसअघि नै पदमा थिए।