२० करोड पूर्णकालीन कामदारको रोजगार आगामी तीन महिनामा गुम्ने
आईएलओले कोभिड–१९बाट पार पाउन चार खम्बे प्राथमिकता तय गरेको छ । अर्थतन्त्र तथा रोजगारलाई प्रोत्साहन गर्नु, उद्यम, रोजगार तथा आयलाई सहयोग गर्नु, कार्यस्थलमा कामदारको सुरक्षा गर्नु र समाधानका लागि समाजिक संवादमा भर पर्नु जस्ता चार खम्बे प्राथमिकता आईएलओले अगाडि सारेको छ ।
२९ चैत्र, काठमाडौं । कोभिड–१९ महामारीले आर्थिक क्षेत्रमा द्रुतगतिले पारेको असर सन् २००८–०९ को वित्तीय संकट भन्दा धेरै खराब हुने र आगामी तीन महिनामा करिब २० करोड पूर्णकालीन कामदारको रोजगार गुम्ने प्रक्षेपण हुन थालेको छ ।
संयुक्त राष्ट्रसंघको श्रम तथा रोजगारसम्बन्धी नियोग अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोरोनाभाइरसले विश्वअर्थतन्त्रमा पार्ने असरबारे गरेको ताजा अनुमान यस्तो रहेको छ ।
आईएलओले कोरोनाभाइरसले दुई करोड ५० लाख रोजगार गुम्ने पूर्वानुमान गरेको तीन सातापछि यो नयाँ अुनमान सार्वजनिक गरेको हो ।
कोरानाभाइरसले पूर्णकालीन वा आंशिक लकडाउनले विश्वको करिब दुई अर्ब सात करोड कामदारहरूमा असर पार्नेछ ।
१९ करोड बेरोजगार कोरोनाभाइरस अघि नै रहेको थियो ।
जेनेभामा हालै आयोजित एक भिडियो कन्फ्रेन्समा आईएलओका महानिर्देशक गाइ रेडरले यो वर्षको शुरूमा विश्वभर करिब १९ करोड बेरोजगार रहेको बताए । यस्तो अवस्थामा यो महामारीले थप बेरोजगारीको समस्या थपी दिएको छ । महामारीले विश्वको रोजगार क्षेत्रमा असाधारण पतन ल्याइदिएको छ । यो अवस्थालाई समाधान गर्न आवश्यक पहल गर्नुपर्ने उनले आहवान गरे ।
रोजगारसम्बन्धी समस्याको तत्काल आकस्मिक समाधान खोज्नुपर्ने आवश्यकतामा उनको जोड छ ।
कोरोनाभाइरसले केही महत्वपूर्ण क्षेत्रलाई खराब किसिमले प्रभावित पार्ने देखिएको छ ।
तीमध्ये चार क्षेत्रका कामदारहरूलाई सर्वाधिक असर पार्नेछ । भोजन र बसाइ सेवाका क्षेत्रका १४ करोड ४०लाख कामदार, खुद्रा तथा थोक बिक्रेता क्षेत्रका ४८ करोड २० लाख, व्यवसाय तथा प्रशासकीय क्षेत्रका १५ करोड र उत्पादनमुलक क्षेत्रका ४६ करोड ३० लाख कामदार भएका क्षेत्रमा असर गर्ने भएको छ ।
यसका साथै विश्व रोजगारको ३७.५ प्रतिशतमा पनि यसको असर हुनेछ ।
कोरोनाभाइरस विरूद्धको लडाइँको अग्रपंक्तिमा स्वास्थ्यकमीहरू रहेका छन् । १३ करोड ६० लाख स्वास्थ्य तथा सामाजिक पेशाकमी अग्रपंक्तिमा काम गरिरहेका छन् । उनीहरूलाई सुरक्षित भई काम गर्न पाउने वातावरण दिनुपर्ने आवश्यकता महानिर्देशक रेडरले औंल्याए ।
विश्वका सबै क्षेत्रमा रोजगार गुमेको अवस्था रहेको छ । अरब र युरोपमा रोजगारलाई प्रतिशतका आधारमा बढी असर पारेको देखिएको छ ।
संख्याको आधारमा सबैभन्दा बढी रोजगार गुमेको क्षेत्र एशिया प्रशान्त क्षेत्रका रहेका छन् । यो क्षेत्र विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र हो ।
सन् २०२०को दोस्रो त्रैमासिक अप्रिलदेखि जुनसम्म घन्टामा काम गर्ने अवधि ६.७ प्रतिशतले घट्ने देखिएको छ ।
सातामा ४८ घन्टा काम गर्ने आधारमा पूर्णकालीन कामदारहरूमा १९ करोड ५० लाखलाई गम्भीर असर पर्ने आईएलओले जनाएको छ ।
कोरोनाभाइरसले विश्वका हरेक देशका हरेक क्षेत्रका कामदारको रोजगार खोसिने चिन्ता बढेको छ । आईएलओले हालै सार्वजनिक गरेको प्रतिवेदनमा तत्काल कामदार र उद्यमहरूको सुरक्षा गर्न राहत कार्यक्रम ल्याउनुपर्ने जनाएको छ ।
विशेषगरी विकासशील देशका उद्योग व्यवसायमा कोरोनाभाइरसले ठूलो धक्का दिने भएकाले यसबारे थप ध्यान दिनुपर्ने छ । न्यून तथा मध्य आय भएका देशहरूमा सञ्चालित उद्योग तथा सेवाआधारित व्यवसायमा खराब असर पर्ने भएको छ । यहाँ न्यून ज्यालामा काम गर्ने कामदारको हिस्सा ठूलो हुन्छ ।
उचित नीतिगत मापदण्ड बिना कामदारहरूलाई ठूलो जोखिमको सामना गर्नुपर्ने हुन्छ र उनीहरूलाई झन गरिबीको समस्यामा धकेल्नेछ । उनीहरूको गुजारा चलाउने चुनौती थपिएको र यसबारे सोच्नु पर्ने आईएलओले जनाएको छ ।
अनौपचारिक क्षेत्रमा विश्वभर दई अर्ब मानिस काम गरिरहेको एक अनुमान रहेको छ । ती मध्ये अधिकांश उदीयमान र विकासशील देशमा रहेका छन् । तीमध्ये करोर्डौ कामदारको रोजगार प्रभावित भइसकेको छ ।
आईएलओले भारतको सन्दर्भमा विशेष चिन्ता व्यक्त गरेको छ । भारतका ४० करोड मानिस झन गरिब हुने चिन्ता व्यक्त गरेको छ ।
यसैगरी ब्राजिल र नाइजेरिया जस्ता देशका अनौपचारिक क्षेत्रका रोजगारका बारेमा चिन्ता व्यक्त गरिएको छ ।
कृषि क्षेत्रमा कोरोनाभाइरसको असर अझ देखिन बाँकी रहेको छ । विकासशील देशमा कृषि क्षेत्र अर्थतन्त्रको ठूलो हिस्सा हुन्छ । यी देशमा खाद्य असुरक्षाको समस्या चर्किने छ ।
वित्तीय प्रोत्साहन र सहयोगको विषयमा ध्यान दिनुपर्ने आवश्यकता औल्याउँदै यसबारे जी ट्वेन्टीका देशहरूले प्रोत्साहन कार्यक्रमलाई अगाडि बढाउन गरेको सहमतिको आईएलओले स्वागत गरेको छ ।
साथै आईएलओले कोभिड–१९बाट पार पाउन चार खम्बे प्राथमिकता तय गरेको छ । अर्थतन्त्र तथा रोजगारलाई प्रोत्साहन गर्नु, उद्यम, रोजगार तथा आयलाई सहयोग गर्नु, कार्यस्थलमा कामदारको सुरक्षा गर्नु र समाधानका लागि समाजिक संवादमा भर पर्नु जस्ता चार खम्बे प्राथमिकता आईएलओले अगाडि सारेको छ ।
प्रतिक्रिया