कोरोना भाइरस : बढ्दो विश्व राजनीति विवाद

कोरोना भाइरस : बढ्दो विश्व राजनीति विवाद

सबल दाहाल

३० चैत्र, काठमाडौं । कोभिड–१९ अथवा कोरोना भाइरसको महामारीले अहिले विश्व आक्रान्त छ । विकसित र शक्तिशाली मानिएका मुलुकहरुलाई नै चुनौती दिइरहेको यो भाइरसको विषयलाई लिएर अहिले कतिपय मुलुकहरु एकअर्कालाई राजनीतिक दोषारोपणमा उत्रिएका छन् । यस विवादको घेरामा अहिले स्वतन्त्र संस्था विश्व स्वास्थ्य संगठन पनि तानिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्व स्वास्थ्य संगठनबीच विवाद चर्किदै गएको छ । ट्रम्प लगातार विश्व स्वास्थ्य संगठन र उसका डाइरेक्टर ट्रिडस एडहान विरुद्ध खनिदै आएका छन् । हुले सुरुमै महामारीको ढाकछोप गर्न चीनलाई सघाएकोे, कोरोना भाइरसको सत्य र तथ्य समयमै दिन नसकेको र हुका हरेक निर्णय चिनियाँ केन्द्रित रहेको ट्रम्पले आरोप लगाएका छन् । त्यतिमात्र होइन विश्व स्वास्थ्य संगठनमा अमेरिकाको लगानी सबैभन्दा धेरै रहेको भन्दै त्यसलाई रोक्ने चेतावनी पनि दिएका छन् । 

विश्व स्वास्थ्य संगठनले सुरुका दिनहरुमा कोरोना भाइरस मानिसदेखि मानिसमा नसर्ने, ‘सबै कुरा छिट्टै ठीक हुनेछ’ भनेर सबैलाई भ्रममा राखेकोले अहिले निकै नै घातक भएको ट्रम्पले आरोप लगाएका हुन् । त्यस्तै राष्ट्रपति ट्रम्पले हुले बोर्डर बन्द गर्न नहुने भन्दाभन्दै आफूहरुले हुको निर्देशन नटेरेको बताएका छन् । 

त्यस्तै ताइवानले पनि हुले चिनियाँ केन्द्रित रहेर राजनीति गर्दै आफूलाई हुमा सामेल नगराएको आरोप लगाएको छ । 

हु निर्देशक ट्रिडस एडहानले ताइवानद्वारा आफूलाई जातिवादी शब्द जस्तै ‘कालो’ भन्दै भेदभाव गरेको र ज्यान मार्ने धम्कीसम्म आएकोे बताएका छन् । यस्तो धम्की र नाम दिने कुरालाई आफूले महत्व नदिने उनले बताएका छन्  । ताइवान राष्ट्रपति त्साई इंग-वेनले भने हु निर्देशकले भनेका कुरा झुट्टा भएको भन्दै यदि कोही माथि भेदभाव भएको छ भने त्यो ताइवानी नागरिकले झेलिरहेको बताएकी छन् । उनले हुका डाइरेक्टरलाई चिनियाँले दिएको दवाव बिर्सिएर एक चोटी ताइवान भ्रमणमा आउन आग्रह समेत गरेकी छन् । 

त्यस्तै क्यानडाका मिडियाहरुमा कोरोना भाइरस आउटब्रेक हुँदा चीनले सत्यतथ्य लुकाएको भन्दै समाचारहरु प्रकाशन भएका छन् । 

क्यानडामा रहेको चिनियाँ दुतावासले संचार माध्यमले आधारहीन आरोप लगाएको बताएको छ । यस्ता समाचारहरुको खण्डन गर्दै चीनको दुस्प्रचार गरेको र चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको बीच असन्तुष्टि ल्याउन खेलेको भन्दै आक्रोस पोखेको छ । 

यदि चीन पारदर्शी नभएको भए ७ जनवरीमै अमेरिकाले आफ्ना नागरिकलाई किन वुहान जान रोक लगाएको थियो भन्दै प्रश्न गरेको छ ।  

चीनले कोभिड–१९ को नाम दिइएको कोरोना भाइरस विरुद्ध लड्न दुई महिनामै सबै संक्रमितलाई हस्पिटलमा राखेर उपचार गरेकाले आफूहरुले ठूलो उपलब्धि हासिल गरेको पनि प्रष्ट पारेको छ । 

यो भाइरसविरुद्धको लडाईमा दुस्प्रचार नफैलाउन र निराधार र प्रमाणविनाको आरोप नलगाउन चीनले चेतावनी दिदैं आएको छ । 

यो समय एकजुट भएर लड्नुपर्ने बेला भएको भन्दै एकताबद्ध हुन चीनले आव्हान समेत गरेको छ ।