नेपालमा कोरोनाभन्दा अरु रोगले मर्ने बढी खतरा 

नेपालमा कोरोनाभन्दा अरु रोगले मर्ने बढी खतरा 

धेरैजसो प्राइभेट अस्पतालले विरामीको उपचार नै गर्न छाडेका छन् । अरु बेलामा टयाक्सी डइभर, एम्बुलेन्सलाई समेत घुस दिएर विरामी आफ्नामा तान्ने ग्राण्डीसहित काठमाडौंका महंगा सुविधा सम्पन्न अस्पतालदेखि धेरै अस्पताल अहिले उपचार नै नगरेर मानवताविरोधी हर्कत गरिरहेका छन् । सजिलो बेलामा स्वास्थ्य उपचारका नाममा ब्रम्हलूट गर्ने यस्ता अस्पताललाई सरकारले स्वास्थ्य संकटकालको यो बेलामा कब्जामा लिएर पनि चलाउने हिम्मत गर्नैपर्छ ।


३० चैत्र, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपाल नियन्त्रणमै छ ।  विश्व स्वास्थ्य व्यवस्था एकदमै अब्बल रहेका देशमा पनि यसलाई काबु पाउनका लागि हम्मेहम्मे परिरहेका बेलामा नेपालमा यो अहिलेसम्म नियन्त्रित हुनु सुखद हो । 

नेपालमा कोरोनाभाइरसका कारण भन्दा अन्य जटिल रोगका कारण मर्नेको अवस्था बढ्ने खतरा बढ्दै गएको छ । देशका प्रायः सबै अस्पतालहरु कोरोनाभाइरसको आतंकका कारण राम्रोसँग चलेका छैनन् । धेरै सरकारी अस्पतालले आकस्मिक उपचारका लागि खुलाए पनि यसमा पनि राम्रोसँग काम भएको  छैन । नेपालमा कोरोनाभाइरसका कारण कसैको निधन नभए पनि अन्य रोगको जटिलताका कारण मर्नेको संख्या थपिने खतरा बढ्दै गएको छ । 

धेरैजसो प्राइभेट अस्पतालले विरामीको उपचार नै गर्न छाडेका छन् । अरु बेलामा टयाक्सी डइभर, एम्बुलेन्सलाई समेत घुस दिएर विरामी आफ्नामा तान्ने ग्राण्डीसहित काठमाडौंका महंगा सुविधा सम्पन्न अस्पतालदेखि धेरै अस्पताल अहिले उपचार नै नगरेर मानवताविरोधी हर्कत गरिरहेका छन् । सजिलो बेलामा स्वास्थ्य उपचारका नाममा ब्रम्हलूट गर्ने यस्ता अस्पताललाई सरकारले स्वास्थ्य संकटकालको यो बेलामा कब्जामा लिएर पनि चलाउने हिम्मत गर्नैपर्छ । ग्राण्डी, वीरगञ्ज नाम चलेको एक निजी अस्पतालले विरामलाई सामान्य उपचार नै नगरेका समाचारहरु आइरहेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालले पनि विरामीको उपचार गर्न छाडेका समाचारहरु वाहि आइरहेका छन् । 

संसदीय शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले उपचारको नियमित कार्य गर्नका लागि स्वास्थ्य मन्त्रीलाई सचेत गराएको बताएकी छिन । संसद नचलेको र मिनी संसदको भूमिका खेल्ने यस्ता समितिले के गरिरहेको छ भन्ने झिल्कोको प्रश्नमा सभापति घर्तीले भनिन, 'समितिका सदस्यहरुसँग फोनबाट सुझाव लिने कार्य भइरहेको छ, समितिका सदस्यहरु आआफ्नो क्षेत्रमा सक्रियतापूर्वक कोरोनाभाइरसका विरुद्ध आआफ्नो ठाउँमा डटिरहनु भएको छ । अहिलेको स्वास्थ्य अवस्था, संक्रमणका विरुद्ध कसरी लड्ने भन्नेबारेमा भिडियो छलफल गर्ने कि भनेर सुझाव पनि आइररहेको छ । यो संकटसँग लड्दै गर्दा नियमित उपचारको कामलाई पनि व्यवस्थित गर्न पहल गर्नैपर्छ ।' 

सरकारले डाक्टरसहित स्वास्थ्यकर्मीलाई ढुक्कका साथ सुरक्षित भएर काम गर्ने वातावरण अझै मिलाउन सकेको छैन ।  स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने स्वास्थ्य सामग्रीको बन्दोवस्त अझै गरेकै छैन । लकडाउन गर्ने वाहेक यो सरकारले कोरोना भाइरसको जाँच, तिनको उपचारका लागि अझै व्यवस्था गरेको छैन । चीनबाट हतारमा ल्याउन लागेको स्वास्थ्य सामग्रीमा ठूलो कमिशनको विवाद भएपछि सरकार पछि हटेको छ र नागरिक सरकार, निजामतिको असफलताको रुपमा लिएर औषधि ल्याउने जिम्मा सेनालाई दिएको छ । हतियार ल्याउने कुरा सेनाको ठीकै हो तर औषधिको जिम्मा पनि सेनालाई दिएर सरकारले राम्रो काम नगरेको भन्दै व्यापक आलोचना भएको छ ।