वीरगञ्जमा रहेका तीन जना भारतीयमा कोरोना भएको पुष्टि

 वीरगञ्जमा रहेका तीन जना भारतीयमा कोरोना भएको पुष्टि

अब संक्रमितहरुको उपचारमा खटिएका डाक्टर, अस्पताल कर्मचारी, स्वस्थ्यकर्मिलाई स्थानीय सरकारले सुरक्षित ब्यबस्थापन गर्न जरुरी रहेको भन्दै होटेलमा राखेर खान, बस्न र उपचारमा प्रोत्साहित गर्न बिलम्ब नगर्न र शंकास्पद स्थान शील गरी क्वारेन्टाइनमा राख्न पनि सुझाव

३० चैत्र, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । वीरगञ्जबाट नमूना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । 

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी अस्ति परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडास्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए । 

हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यस लगत्तै वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । 

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिखमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए । लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

यसैबीच नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकको रिपोर्ट सार्वजनिक गर्न नारायणी अस्पताललाई दबाव बढेको छ । 
आइसोलेशनमा राखिएको तीनजना भारतीयको हेटौंडामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखाएको समाचार विभिन्न सञ्चार माध्यम मार्फत आउन थालेपछि नारायणी अस्पतालले सूचना लुकाएको टीकाटिप्पणी हुन थालेकोले अस्पताललाई रिपोर्ट सार्वजनिक गर्न दबाब बढेको हो । तर, अस्पतालले भने कुनै आधिकारिक जानकारी दिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायको मोबाइल नम्बरमा सम्पर्क गर्दा मोबाइल नै उठाएका छैनन् । 

ती तीनै जनाको फाइनल रिपार्ट हिजै साँझ आइ पुग्ने हिजो बिहानदेखि नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए पनि अहिलेसम्म यस विषयमा अस्पतालले केही आधिकारिक जानकारी दिन मानेको छैन । तर, विभिन्न सञ्चार माध्यमहरुमा भने वीरगन्जको आइशोलेसनमा राखिएका तीन जनाको रिपोर्ट पोजेटिभ आएको समाचार बाहिरिएको छ । यसले नारायणी अस्पतालले सूचना लुकाएको हुनसक्ने भन्दै सार्वजनिक गर्नुपर्ने माग भइरहेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्जको आइसोलेशनमा रहेका तीनजनाको परीक्षणको रिपोर्टले कोरोना संक्रमण भएको पुष्टि भएकोले सूचना नलुकाउन आग्रह गरेका छन् । उनले अब संक्रमितहरुको उपचारमा खटिएका डाक्टर, अस्पताल कर्मचारी, स्वस्थ्यकर्मिलाई स्थानीय सरकारले सुरक्षित ब्यबस्थापन गर्न जरुरी रहेको भन्दै होटेलमा राखेर खान, बस्न र उपचारमा प्रोत्साहित गर्न बिलम्ब नगर्न र शंकास्पद स्थान शील गरी क्वारेन्टाइनमा राख्न पनि सुझाव दिएका छन् ।