सुदूरपश्चिममा कोरोनाको अवस्था स्थिर, तर यहाँका मान्छेमा ठूलो भय
रामसिह ठगुन्ना
सुदूर पश्चिम प्रदेशभरिमा २३०५ जना क्वारेन्टिनमा रहेका छन् भने १६ जना आइसोलेसनमा रहेका छन् । सुदूरपश्चिममा १६०७ जनाको स्वाव संकलन गरेर नमूना परीक्षण गरिएको छ, जसमा ४ जनाको पोजिटिभ देखिएको छ । ३५३ जनाको भने जाँच गर्न बाँकी रहेको छ । आरडीटी प्रबिधिबाट १८९५ जनाको स्वाव टेष्ट गरिएको छ । स्वाव टेष्ट परीक्षणको काम जारी रहेको समाजिक विकास मन्त्रालयका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
कोरोनाभाइसर कोभिड १९ को संक्रमणले सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ । लकडाउनसँगै यहाँका उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय बन्द अवस्थामा छन । लकडाउनका कारण पर्यटन र होटल व्यवसाय पनि प्रभावित बनेको छ । लामो समयसम्म भएको लकडाउनका कारण खाद्यान्नको अभाव सिजँना हुँदा दैनिक ज्यालादारी गर्ने मजदुर र सुकुम्बासीहरुलाइ समस्या भएको छ ।
सरकारले यसप्रकारका समुदायका बासिन्दाहरुलाई राहत वितरणको काम भने शुरु गरेको छ । कोरोनाभाइसरको थप रोकथामका लागि सीमा क्षेत्रको क्वारेन्टिनमा रहेका सबैको स्वाब परीक्षण गर्ने काम गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहहरुले रोकथामको प्रयासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।
खाद्यान्न अभावसँगै बजारमा तरकारीको समेत अभाव हुन थालेको छ । कृषकहरुको तरकारी खेतबारीमै सड्न थालेको छ । मलखादसँगै डिजेलको अभाव हँदा सिचाइको समस्या सिर्जना भएको छ । यी समस्याका बाबजुद कृषकहरुले वाली भित्र्याउने क्रमलाई भने निरन्तरता दिएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले प्रदेशभरिका किसानहरुको लगत संकलन भइरहेको भन्दै लकडाउनका कारण मारमा परेका किसानहरुलाई सम्बोधन गरिने बताइन । किसानहरुलाइ मारमा पर्न नदिने उनको भनाइ रहेको छ ।
पछिल्लो समयमा लकडाउनका कारण समस्यामा परेका मजदुर वर्गलाइ राहत वितरण गर्ने कार्यलाइ निरन्तरता दिइएको छ । भीमदत्त नगरपालिकाले सालघाडी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीसँगै बजार क्षेत्रमा रहेका मजदुरहरुलाई राहत वितरण गर्ने काम गरेको छ । कार्यविधि अनुरुप राहत वितरण भइरहेको र त्यसको अनुगमन समेत भइरहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिए ।
बेदकोट नगरपालिकाले पनि आवश्यक राहत वितरण गरेको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले स्वास्थ्य सामग्रीसँगै आवश्यक दैनिक भौतिक सामग्री सहज रुपमा उपलब्ध गराइने बताएका छन् ।
शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री बितरण गरेको छ । नगरपालिका योजनाबद्ध ढंगले अगाडि बढेको र राहत बितरणका कामहरु भइरहेको नगर प्रमुख दिल बहादुर ऐरको भनाइ रहेको छ ।
कृष्णपुर नगरपालिकाले सेननिटाइजर मास्क जस्ता सामग्रीहरु स्वस्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुलाई उपलब्ध गराएको छ । कृष्णपुर नगरपालिकाले संक्रमणको जोखिम न्युनीकरणका लागि विपद व्यवस्थापन कोषको निर्माण गरेर व्यवस्थित ढंगले अगाडि बढेको नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिएका छन् । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे वमोजिम विभिन्न संघ संस्थाहरुले स्थानीय तह र प्रदेश सरकारलाई बिभिन्न राहत सामग्रीहरु हस्तान्तरण गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको बैठक बसेर तत्काल संक्रमण रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेको छ । अति विपन्न असहाय र ज्यालादारी मजदुरका लागि प्रति परिवार तीन हजारका दरले १६ करोड स्थानीय तह मार्फत राहत बितरण गर्ने निर्णय गरेको छ । संचारकर्मीलाई १५ लाख र सुरक्षा कर्मी र स्वास्थ्यकर्मीलाई थप १५ लाखको बीमा गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ । सबै जिल्लाहरुका लागि २० वटा भेन्टिलेटर खरिद गर्नुका साथै सबै जिल्ला प्रशासनलाइ पाँच लाख र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ १५ लाखका दरले व्यवस्थापन खर्च दिने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्र प्रवासबहादुर शाहले कोरोना भाइरस कोभिड १९ जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना संचालन निर्देशिका स्वीकृत भएको बताएका छन् । विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराइने उनको भनाइ रहेको छ ।
संक्रमण रोकथामका सबै उपायहरु अबलम्बन गरिने मुख्यमन्त्रीको भनाइ रहेको छ ।
कोरोनाभाइरसको संक्रमणसँगै सुदूरपश्चिमको उद्योग व्यापार र कलकारखाना समेत नराम्ररी प्रभावित बनेका छन् । पर्यटन क्षेत्रहरु शुूय रहेका छन् भने होटल व्यवसाय पनि चल्न सकेका छैनन । जसको प्रभाव स्थानीय उत्पादन गर्ने कृषकहरुसम्म परेको छ ।
सुदूर पश्चिम प्रदेशभरिमा २३०५ जना क्वारेन्टिनमा रहेका छन् भने १६ जना आइसोलेसनमा रहेका छन् । सुदूरपश्चिममा १६०७ जनाको स्वाव संकलन गरेर नमूना परीक्षण गरिएको छ, जसमा ४ जनाको पोजिटिभ देखिएको छ । ३५३ जनाको भने जाँच गर्न बाँकी रहेको छ । आरडीटी प्रबिधिबाट १८९५ जनाको स्वाव टेष्ट गरिएको छ । स्वाव टेष्ट परीक्षणको काम जारी रहेको समाजिक विकास मन्त्रालयका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
संक्रमणको पछिल्लो अवस्था स्थिर देखिए पनि यसको जोखिम भने घटिसकेको छैन । मान्छे अझै सन्त्रासमा नै छन् । लकडाउनको पूर्ण पालनादेखि सीमा क्षेत्रमा हुने निगरानीलाई पनि थप सशक्त बनाउन जरुरी रहेको छ । एकातिर लकडाउन प्रभावकारी बनाएर रोकथामको प्रयास गर्नुपर्ने छ भने अर्कोतिर अति आवश्यक खाद्यान्नको आपूर्तिसँगै राहतका कार्यक्रमहरु संचालन गर्नुपर्ने चुनौती रहेको छ । यसमा प्रदेश सरकार, स्थानीय तह, सबै राजनीतिक दलसँगै आमजनताको एकाकार पनि त्यतिकै आवश्यक छ । जसले कोरोनाविरुद्धको अभियान सफल पार्ने छ ।
प्रतिक्रिया