स्वास्थ्यमन्त्री भानुभक्तले किन गरे निजी व्यवसायी ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति ?

स्वास्थ्यमन्त्री भानुभक्तले किन गरे निजी व्यवसायी ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति ?

उनी आफैं निजी मेडिकल कलेजका व्यक्ति हुन, जसले प्रतिष्ठानमा हुने उपचारलाई आफ्नोमा लाने र त्यहाँ आउने राम्रा उपकरणहरु आफ्नोमा लाने र कमशल त्यसमा राख्ने आशंका पनि स्थानीयले अहिलेदेखि नै गर्न थालिसकेका छन् । 

३० चैत्र, धरान । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञानेन्द्र गिरीलाई उपकुलपतिमा हठात ल्याएपछि सुनसरीमात्र होइन पूर्वाञ्चलमा स्वास्थ्य क्षेत्र तरंगित भएको छ 
। विराटनगरमा विराट मेडिकल कलेज चलाइरहेका डा. ज्ञानेन्द्र गिरीको प्रतिष्ठानमा सामान्य भन्दा सामान्य योगदान पनि आजसम्म थिएन । डा. गिरी कहिले पञ्च र कहिले फेरो समातेर मोटो रकम लिएर राजनीतिक नियुक्तिमा पटकपटक आउन खोजे पनि उनी खासै सफल हुन सकेका थिएनन् । 

योग्य, क्षमतावान, आर्थिक रुपमा पारदर्शी मानिएका र वाम झुकावका प्रा. डा. गुरु खनाल प्रतिस्ठानका कार्यवाहक थिए । उनले नै पूर्ण नेतृत्व पाउने लगभग सम्भावना थियो । प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई अख्तियारले रंगेहता पक्राउ गरेपछि सो पदमा सरकारले प्रा.डा. गुरु खनाललाई कार्यवाहक उपकुलपति बनाएर पठाएको थियो । प्रतिष्ठानमा लामो समयदेखि कार्यवाहक उपकुलपति भएका प्रा.डा गुरु खनाल साविक माओवादी निकट थिए । सायद माओवादी भएकै कारणले पनि उपकुलपति हुनबाट उनलाई बञ्चित गरिएको एकथरिको तर्क छ । प्रा.डा. खनाल आर्थिक चलखेलका सख्त विरोधी पनि थिए । 

कहिले पञ्च त कहिले कांग्रेस भन्दै सक्रिय हुने डा. ज्ञानेन्द्र गिरी हातमा मोटो रकम लिएर शक्ति केन्द्रकोमा धेरै वर्षदेखि धाउँदै हिंड्ने गरेको चर्चा पूर्वमा छ । मोरंग जिल्लाका कतिपय माओवादीका नेताको हात समातेर नियुक्तिका लागि अध्यक्ष प्रचण्ड, वर्षमान पुनकोमा समेत ज्ञानेन्द्र गिरी धाइरहेको सुनसरीका माओवादीहरुबीच धेरै पहिलादेखि नै चर्चा चलेको हो । अध्यक्ष प्रचण्डले त्यहाँ नेतृत्व गरिरहेका, सक्षम र राम्रालाई बनाउने भन्ने स्पष्ट अडान लिदैं आएकाले यताबाट अब आफ्नो स्वार्थ पूरा हुँदैन भनेर उनी स्वास्थ्यमन्त्री भानुभक्त ढकालकोमा धाउन थालेको स्रोतका दावी रहेको छ । 
  
नेपाली कांग्रेसको दवदवा रहेको प्रतिष्ठानमा डा. खनाल, प्रा.डा.सञ्जीव शर्मा, डा मोहन रेग्मी, मधुर वस्नेत, शैलेश पोखरेल जस्ता चिकित्सकहरुले प्रतिष्ठानमा वामहरुको विंडो थामिरहेका थिए । 

प्राडा गोविन्द केसीले यस्ता नियुक्तिहरुमा योग्य, क्षमतावान र इमान्दारहरुलाई नियुक्ति गर्न भनेर यसअघि पटकपटक अनसनमा बसेका थिए । तर, अहिले उनी पनि सिथिल भएका छन् । केसीको आन्दोलनले दोषी करार गरेका निजी क्षेत्रका मेडिकल कलेज सञ्चालकहरुमध्ये गिरी पनि एक हुन । हाल उनी काठमाण्डौं विश्वविद्यालयबाट सम्बन्धन लिएर विराट मेडिकल कलेज चलाइ रहेका छन् । 

खनाललाई मन्त्री ढकालले नियुक्ति नगर्नुका मुख्य कारण तीन  
 
प्राडा खनाललाई उपकुलपतिमा नियुक्ति नगर्नुका कारणबारे खासगरी तीन वटा चर्चा धरानमा चलेको छ । पहिलो, यहाँ नेतृत्व गरिरहेका र इमान्दार, सक्षमलाई नेतृत्व नदिएर डा. गिरीलाई ल्याउनुमा  आर्थिक लेनदेन । मन्त्री ढकालले आफ्ना आफ्न्त र स्वयं खनाललाई पनि गिरीले मलाई चुनावमा खर्च दिएका कारणले उनलाई उपकुलपति बनाउने वचन दिएको छु भनेर भनेको चर्चा अहिले चलेको छ । हेर्दा सोझो देखिए पनि कोरोना विरुद्धका सामग्रीहरु चीनबाट मगाउँदा उनले खेलेको भूमिकाका कारण उनी पनि निकै विवादित बनेका छन् । यस प्रतिस्ठानको स्रोतलाई लामो समयसम्म परिचालन गर्न पनि सकिने सम्भावनाका कारणले पनि उनले आफ्नो अनुकूलको मान्छे लगेको चर्चा छ ।   

दोस्रो,  अहिले मन्त्री ढकाल जुन निर्वाचन क्षेत्रबाट जितेका थिए अब उनको स्थिति धेरै  नै खस्केको छ । सबैभन्दा बलियो क्षेत्र मानिएको उनको निर्वाचन क्षेत्रबाट एकदमै झिनो मतले मात्र यसअघि ढकालले जितेका थिए । उनका प्रतिष्पर्धी नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले अहिले त्यहाँ ढकालको भन्दा निकै बलियो रहेको नेकपाका कार्यकर्ताहरुले नै स्वीकार गरिरहेका छन् । उनी अहिले स्वास्थ्यसहित सामाजिक अभियानमा निकै तीब्र रुपमा लागेका छन् भने मन्त्री ढकालले आफ्नो निर्वाचन क्षेत्रमा खासै ध्यान नदिएको कार्यकर्ताको नै गुनासो चलिरहेको छ । डा. ज्ञानेन्द्र गिरी सुनिल शर्माका व्यवसायी प्रतिस्पर्धी हुन । डा. सुनिल शर्माका विरोधमा रणनीतिक मोर्चा बनाउन पनि उनले गिरीलाई रोजेको देखिएको छ ।

तेस्रो, माओवादीहरुले यसअघि पाएको नियुक्तिबाट जसरी पनि उनीहरुलाई पाखा लगाउने प्रधानमन्त्री ओलीको आभियानमा भानुभक्तले सहयोग गरेको पनि चर्चा चलेको छ । 

जे कारणले होस प्रतिष्ठानमा नियुक्ति पाएर आएका गिरीले प्रतिष्ठानलाई एक बनाएर लाने संभावना छदैं छैन । उनी प्रतिष्ठान बाहिरका भएकाले त्यहाँभित्रको समस्या बुझ्नका लागि उनलाई करिब छ महिना लाग्नेछ । भ्रष्टाचार र अनियमितताले दलदल बनेको प्रतिष्ठानलाई प्रा. डा. गुरु खनालले भर्खरै लाइनमा ल्याएका थिए । तर, अब फेरि त्यही घोटालोको बाटोमा जाने सम्भावना देखिएको छ ।  किनकि गिरी आफैं व्यवसायी, खर्च गरेर नै त्यस ठाउँमा आएकाले पैसाको कारोवार विना काम नै नहुने  वातावरण फेरि बन्ने वी पी कोइराला प्रतिस्ठानमा कार्यरत इमान्दार डाक्टर र कर्मचारीहरुले बताएका छन् । 

पाँच बर्षदेखि रोकिरहेको चार सय वेडको मातृ शिशु भवनको निर्माण कार्य खोल्नु पर्ने, प्रतिष्ठानका सबै भवनको मर्र्मत गर्नुपर्ने, त्यो भन्दा पनि प्रतिष्ठानको उपचार पद्धतिमा गिर्दो विश्वासलाई माथि उठाउनु पर्ने जस्ता कामलाई गिरीबाट पूरा हुने सम्भावना नै देखिदैंन । उनी आफैं निजी मेडिकल कलेजका व्यक्ति हुन, जसले प्रतिष्ठानमा हुने उपचारलाई आफ्नोमा लाने र त्यहाँ आउने राम्रा उपकरणहरु आफ्नोमा लाने र कमशल त्यसमा राख्ने आशंका पनि स्थानीयले अहिलेदेखि नै गर्न थालिसकेका छन् ।