भारतको रक्षामन्त्रालयबाट रफाएल हतियार सम्झौताका कागजात चोरिए

भारतको रक्षामन्त्रालयबाट रफाएल हतियार सम्झौताका कागजात चोरिए

भारतको रफाएल हतियार सम्झौतासम्बन्धी कागजात चोरिएको जानकारी भारत सरकारले त्यहाँको सर्वोच्च अदालतलाई दिएको छ ।

महान्यायाधिवक्ता केके वेणुगोपालले सर्वोच्च अदालतलाई गुप्त कागजात चोरिएको जनाएको समाचार सार्वजनिक भएको हो । रक्षामन्त्रालयबाट ३६ रफाएल जेट विमान किन्ने भनिएको गुप्त कागजात पूर्व कर्मचारीहरूद्वारा चोरिएको जानकारी सर्वोच्चलाई दिइयो । त्यो लडाकु जेट विमानको मूल्यका बारेमा प्रतिपक्षीले सदन र सडकमा बहस शुरू गरेका छन् । सरकारले राष्ट्रिय सुरक्षाको विषय बनाउँदै यसलाई सार्वजनिक गर्न चाहेको थिएन । 

वेणुगोपालले द हिन्दु र एसिएन न्यूज इन्टरनेशनलले सार्वजनिक गरेको कागजात चोरिएको कागजात भएको जनाएका छन् । 

सरकारले औपचारिक गुप्त ऐन अन्तर्गत यो समाचार सार्वजनिक गर्ने समाचार संस्था विरूद्ध सरकारले फौजदारी अभियोग लगाउन चाहिरहेको जानकारी पनि उनले सर्वोच्चलाई दिएका हुन् । यस किसिमको प्रसारणबाट राष्ट्रिय सुरक्षाका जोखिम बढाउने र यसबाट विदेशी शक्ति राष्ट्रहरूसँगको सम्बन्धमा असर पर्ने उनले दाबी गरेका छन् । यस्तो अवस्थामा विदेशी देशहरूले सम्झौता गर्न दुई पटक सोच्नु पर्ने अवस्था आएको बताउँदै उनले प्रधानन्यायाधीश रन्जन गोगोइ नेतृत्वको इजलासलाई रफाएलसम्बन्धी यो जानकारी दिएका हुन् ।

इजलासका न्यायाधीश जोसेफले महान्यायाधिवक्ता वेणुगोपाललाई सोधेका थिए “मानौं भ्रष्टाचारजस्तो ठूलो फौजदारी अभियोग भएको अवस्थामा त्यसलाई तपाईले राष्ट्रिय सुरक्षा अन्तर्गत राखेर बचाउ गर्न खोज्नु हुन्छ ।”

सरकारको तर्फबाट राखिएका तर्कहरूप्रति आंशका व्यक्त गर्दै इजलासले कागजात चोरिएको विषयबारे प्रमाण प्रस्तुत गर्न आदेश दिएको छ । कागजात चोरिएको हो भने सरकारले अहिलेसम्म के कारवाही गरेको छ । त्यसबारे जानकारी गराउन भनिएको छ । कागजात चोरिएको भनेर यो मुद्दालाई खारेज गराउने उद्देश्य त महान्यायाधिवक्ताको त होइन भनेर इजलासले प्रश्न गरेको थियो ।

यो मुद्दाको  अर्को सुनुवाई मार्च १४ मा हुनेछ ।