युद्ध भिन्न छ, अदृश्य गोलीका प्रहार चलिरहेकै छ
सबल दाहाल
न्युयोर्कका ४९ वर्षीय लाइड टोरेजले कोरोना भाइरसका कारण एकै दिन आमा र भाइ गुमाउँदा अहिले शोकमा डुबेका छन् । ४७ वर्षीय भाइलाई एकाएक हिंड्डुल गर्न मुस्किल प¥यो । श्वास फेर्न गाह्रो भयो । यतिसम्म कि भाइ खाना खान टेबुलसम्म पनि आउन सकेनन् । उनको आमामा पनि उस्तै लक्षणहरु देखिएकाले लाइड टोरेज उनले आमा र भाइ दुवैलाई अस्पताल लगे । अस्पतालले दुवै जनामा कोरोना पोजिटिभ देखिएको बतायो ।
मंगलबार आमा लोलिताको निमुनियाका कारण मृत्यु भयो । लगत्तै उनका भाइले पनि किड्नीले काम गर्न छाडेपछि संसारबाट विदा लिए ।
अहिले न्युयोर्क शहरमा विश्वका सबै शहरभन्दा धेरै कोरोना संक्रमित छन् । अहिले अमेरिकाको पाँच लाख ३० हजार संक्रमणमध्ये एक लाख ८० हजार त न्युयोर्कमा मात्र छन् ।
न्युयोर्कका एक प्यारामेडिक जसले गम्भीर खालका विरामीलाई अस्पताल पु¥याउनु अघि आकस्मिक स्वास्थ्य सेवा दिन्छन । उनीले आफ्नो जीवनमा अहिलेसम्म सबैभन्दा व्यस्त दिनहरु वितिरहेको बताएका छन् । उनी अहिले दैनिक १६ घण्टा ड्युटीमा हुन्छन् । युद्धमा गोलीका छर्राहरु देखिन्छन्, शत्रु को हो चिनिन्छ, तर यो युद्ध भने भिन्न छ, अदृश्य गोली छन् र जोसँग सम्पर्कमा हुँदा नि अदृश्य गोलीको प्रहार आउन सक्ने उनी बताउँछन् ।
उनीहरुको आकस्मिक मेडिकल प्रणालीमा दैनिक चार हजार फोन आउँछ । यस्तै एक फोन आयो र उनीहरुको मेडिकल टिम तुरुन्त त्यहाँ पुग्यो । त्यहाँ पुगेपछि विरामीकी छोरीले आफ्नो आमालाई श्वास फेर्न गाह्रो भएको बताइन । सोही घरमा तीन दिनअघि ती छोरीले आफ्ना पिता कोरोना भाइरसका कारणले गुमाएकी थिइन ।
आफ्नो आमाको जीवनको आश लिएर स्वास्थ्य अवस्थाबारे उनले बुझ्न खोज्दा हामी केही बोल्न सकेनौं । उनका बुबाको अन्त्येष्टि पनि गर्न नपाउँदै उनले आफ्नो आमा पनि गुमाइन् । अहिलेको समय निकै भावमय छ ।
यस्ता प्रतिनिधि उदाहरण मात्र हुन न्युयोर्क शहरमा यस्ता घटनाहरुको चाङ नै लागिसक्यो ।
चीनको वुहानबाट पहिलो जनवरी २१ मा पहिलो पटक देखिएको भनिएको कोरोना भाइरसले अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख नाघिसकेको छ । संक्रमितको संख्या २० लाख नजिक पुग्न थालेको छ । ५० हजारभन्दा बढीको अवस्था गम्भीर भएको बताइएको छ । कोरोना संक्रमण देखिएको भनिएको यो सय दिनमा यसले भयावह रुप लिएको छ । यो नयाँ भाइरस भएकाले यसले कस्तो वितण्डा मच्चाउने हो अझै कसैले आँकलन गर्न सकेका छैनन् ।
चीनमा यो संक्रमणलाई प्रारम्भिक रुपमा विजय हासिल गरे पनि यो फेरि नफर्केला भन्न सकिदैंन । चीनमा कोरोना संक्रमण हुँदा खेलाँची गर्दै बसेको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुमा अहिले सबै देशहरुलाई उछिनिसकेको छ ।
नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म नभए पनि विभिन्न देशहरुमा गएका नेपालीहरुको ज्यान कोरोनाको कारण गइरहेको छ । अमेरिकामा अहिलेसम्म पाँच जना नेपालीको कोरोनाको कारण मृत्यु भयो भने बेलायतमा दुई नेपालीको मृत्यु भएको छ ।
नेपालमा कोरोनाको कारणले भन्दा पनि कोरोनाको कहरको कारण धेरैको ज्यान गइरहेको छ । कोरोनाको जस्तै लक्षण देखिएको भनेर एक युवाले वुटवल र अर्का युवाले वीरगञ्जमा डाक्टरहरुले उपचार गर्न डराउँदा अनाहकमा ज्यान गुमाउनु परेको छ । त्यस्तै दीर्घ रोगी तथा अन्य विरामीहरुले पनि उपचारको पहुँच नपाउँदा जीवन गुमाउने स्थिति दिनहुँ प्रकट भइरहेको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण ११ जना नेपालीहरुको शव यूएईमा अलपत्र परेको छ । नेपाली दूतावास श्रोतका अनुसार लकडाउनले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीहरुको शव यूएईका अस्पतालमा अलपत्र परेका हुन । हवाई यातायात अबरुद्ध भएका कारण शवहरु नेपाल पठाउन नसकिएको दूतावासले जानकारी दिएको छ ।
यूएई सरकारले छिटो भन्दा छिटो ती शवहरु नेपाल लैजान वा यहीँ अन्त्येष्टि गर्न पनि दबाब दिएको छ ।
यहाँ बाहेक अन्यत्र पनि यो समस्या दिनहुँ बढ्दै जाने खतरा छ । आफन्तहरु गुम्दा र विरामी हुँदा भौतिक दूरी कायम गर्नुपर्ने विडम्बनापूर्ण अवस्थाले निकै भावमय, पीडादायी अवस्था बनेको छ ।
आजदेखि २०७७ सालको नयाँ वर्ष नेपालमा प्रारम्भ भएको छ । अदृश्य शत्रु र अदृश्य गोली प्रहारबाट कसलाई कतिवेला ढाल्ने भन्ने सन्त्रासमा बाँच्नुपर्ने अवस्था छ । चीनको यसपटकको नयाँ वर्ष यस्तै त्रास, भयमा नै बित्यो, संसारभरि नै छरिएका नेपालीको अवस्था पनि त्यस्तै छ अहिले । चीनले प्रारम्भिक रुपमा यो अदृश्य शत्रुसँगको लडाईलाई जितेर संसारभरि नै आत्मबल बढाएको छ । शिक्षा प्रदान गरेको छ । नयाँ वर्षसँगै कोरोनाबाट मुक्त हुने अवस्था पैदा हुने विश्वासका साथ शुभकामना ! एजेन्सीको सहयोगमा, १ वैशाख २०७७
प्रतिक्रिया