क्वारन्टीनमा बसेका भारतीयहरु यसरी हुँदैछन् विभेदको शिकार

क्वारन्टीनमा बसेका भारतीयहरु यसरी हुँदैछन् विभेदको शिकार
बैशाख, १ । भारतले दशौँ हजार मानिसहरूलाई घरमै क्वारन्टीनमा राखेको छ। तर मानिसहरूलाई त्यसरी घरभित्रै राख्नका लागि अपनाइएका केही कदमहरूले भने नचाहेको र नमिठो असरहरू पारेका छन्। मानिसलाई घरभित्रै राख्नका लागि क्वारन्टीनमा बसेका मानिसहरूको घरबाहिर स्टिकरहरू टाँसिएका छन् भने उनीहरूका व्यक्तिगत विवरण पनि सार्वजनिक गरिएका छन्। भारतीय राजधानी दिल्लीका भरत धिङ्ग्राको ६ जनाको परिवार उनको दाजुभाउजु गत मार्च २२ तारिखमा अमेरिकाबाट फर्किएदेखि नै घरमा क्वारन्टीनमा बस्दै आएको छ। दाजुभाउजु दुवैमा कोरोनाभाइरस सङ्क्रमणको कुनै लक्षणहरू नदेखिएको भए पनि पूरै परिवार सरकारको सुझाव मानेर आफैँ क्वारन्टीनमा बस्यो। त्यसपछि अधिकारीहरूले धिङ्ग्रा परिवारको घरबाहिर 'क्वारन्टीनमा छन्, घरभित्र नजानुस' लेखिएको स्टिकर टाँसिदिए । मानिसहरूले नियम मानुन् भन्ने प्रत्याभूत गर्न त्यस्तो सन्देश राखिनुपर्ने थियो। तर तत्परतापूर्वक नियमहरू पालना गरेका धिङ्ग्राजस्ता मानिसलाई भने त्यस्ता सूचनासहितको स्टिकरले तनाव र मानसिक दबाव दिएको छ। 'हाम्रो घर चिडियाखाना जस्तो भएको छ,' उनले भने। 'मानिसहरू हाम्रो घर हुँदै हिँड्दा तस्बिर खिच्छन्। एकैछिनका लागि मात्रै हामी बरण्डामा निस्कँदा पनि छिमेकीहरू हामीलाई घरभित्रै पस्न भन्छन्।' 'सचेतनाका लागि क्वारन्टीनमा राखिएका घरहरूमा सूचनाहरू राख्नुपर्ने आवश्यकता हामी बुझ्छौं,' उनले स्वीकारे। 'सरकारी अधिकारीहरूले पनि हामीलाई राम्रो व्यवहार गरेका छन्, तर मानिसको व्यवहारले भने हाम्रो चित्त दुख्छ।' 'केही मानिसहरूले हाम्रो घरको फोटो खिचेर अन्य मानिसलाई सचेत रहन भन्दै ह्वाटस्याप ग्रुपमा पठाएका छन्।' यसले गर्दा आफ्नो परिवारको गोपनीयता भङ्ग भएको उनी बताउँछन्। 'घरमा क्वारन्टीनमा बस्नु भनेको सावधानीस्वरुप चालिएको कदम हो भनि मानिसहरूले बुझ्न जरुरी छ ( यसको मतलब हामी सङ्क्रमित छौं भन्ने होइन, तर मानौं यदि हामी हौं भने पनि हामीलाई बहिष्कार गर्न आवश्यक छैन।' यस्तै अनुभव भएका देशभरका थुप्रै मानिसहरूसँग बीबीसीले कुराकानी गरेको छ। दिल्लीको बाहिरी क्षेत्रमा पर्ने नोइडामा आफ्नो घर रहेको बताउने एक दम्पतीले आफ्नो घर धेरैका लागि डरलाग्दो ठाउँ भएको बताए। उनीहरूले आफ्नो परिचय खुलाउन भने मानेनन्। 'विदेशबाट फर्किएलगत्तै सावधानी स्वरुप हामी घरमै क्वारन्टीनमा बस्यौं। हाम्रो समुदायले हामीलाई यसरी पूर्ण रुपमा अलग्याउला भनेर त अलिकति पनि सोचेका थिएनौं।' उनीहरूलाई के मात्रै चाहना थियो भने छरछिमेकले फोन वा मोबाइल सन्देशमार्फत हौसलाका केही शब्द दिउन्। 'तर हामी कौसीमा मात्रै निस्किएका बेला पनि उनीहरूले हामीलाई शङ्काको नजरले हेर्छन्।' 'हामीले कसैलाई भेटेका छैनौं। यस्तो व्यवहार गरिएकोले हामी साँच्चै दुस्खी छौं।' वीवीसीबाट