नेल्सन मण्डला कानुनको सम्मान गर्दै भारत सरकारसँग जी एन साइबाबाको रिहाइको माग
काठमाडौ । भारतका मानवअधिकार तथा बौद्धिकहरूको एक समूहले नेल्सन मण्डला कानुन समेतको सम्मान गरी ‘डा. जीएन साइबाबा’ लाई नागपुर सेन्ट्रल जेलबाट रिहा गर्न माग गरेको छ ।
कोरोनाभाइरस कोभिड–१९ले बन्दीहरूको जीवनमा मृत्युको चुनौती थपिदिएकाले मानवअधिकारवादी दिल्ली युनिभर्सिटीका अंग्रेजी विषयका प्रोफेसर साइबाबाको जीवन खतरामा परेकाले सो समूहका मानवअधिकारवादी र बौद्धिकहरूले उनको रिहाइका लागि माग गरेका छन् ।
भारतको महाराष्ट्र सरकारको प्रहरीले मे ९, सन् २०१४ का दिन दिल्लीबाट डा. साइबाबालाई अपहरण शैलीमा हिरासतमा लिएर अवैध गतिविधि विरोधी कानुन अन्तर्गत अभियोग लगाएको थियो । त्यसयता उनको शारीरिक अवस्था निरन्तर कमजोर हुँदै आएको छ । डा. साइबाबा आफै हिँलडुल गर्न नसक्ने अवस्थामा रहेका र कोरोनाभाइरसको चुनौतीले उनको जीवन खतरामा पुगेकोले उनलाई रिहाइ गर्न माग गरी जारी गरिएको विज्ञप्तिमा सरकारले बिना कुनै ठोस प्रमाण जेलमा राखेको उल्लेख गरिएको छ । तर गडचिरोली सेसन कोर्टले मार्च ७ २०१७ मा डा. जीएन साइबाबासहित अन्य पाँच जनालाई आजीवन कारावासको फैसला सुनाएको थियो । सन् २०१६ देखि उनलाई नागपुर सेन्ट्रल जेलमा राखिएको छ । कमजोर स्वास्थ्य सुरक्षा व्यवस्था रहने गरेको जेलमा कोरोनाभाइरस महामारीको खतरा बढाइ दिएको छ । यस्तोमा आदिवासी जनजाति, दलित, मुस्लिम र अन्य उत्पीडित जनसमुदायका लागि निरन्तर आवाज उठाउँदै आएका मानवअधिकारकर्मी डा. साइबाबाको रिहाइको माग गरिएको हो । उनलाई अपरेशन ग्रिन हन्ट विरूद्ध बोलेकाले बिना प्रमाण जेलमा राख्ने काम सरकारले गरेको छ ।
भारतले विभिन्न मानवअधिकारसम्बन्धी महासन्धीको हस्ताक्षर गरिसकेकाले यस्ता बन्दीहरूका लागि कार्यान्वयन गर्नुपर्ने नेल्सन मण्डेला कानुनले चिनिने उपचार सम्बन्धी सन्धिको न्यूनतम आधारमा डा. साइबाबालाई रिहा गर्नुपर्ने मानवअिधकारकर्मीहरूले माग गरेका हुन् ।
भारतको सर्वोच्च अदालतले पनि यस्ता कानुनको पालना गर्न भनिसकेकाले डा. साइबाबालाई रिहा गर्नुपर्ने उनीहरूको दाबी रहेको छ । डा. साइबाबा बचाउ समितिले गरेको सो मागमा प्रोफेसर, जी हरगोपाल, प्रोफेसर जगमोहन सिंह,मनोरन्जन मोहन्ती, प्रोफेसर अमित भादुरी, अरुन्धती रोय, नन्दिता नराइन, करेन ग्रब्राएल, सुमित चक्रवर्ती, अशोक भौमिक, सन्जय कक, पीक विजयन, विकास गुप्ता, विश्वजीत मोहन्ती, राकेश रन्जन, हनीबाबु, श्रीकृष्णदेव राव, सीमा आजाद, एक रामकृष्ण, एन रघुराम, अनिरबन कर र सुब्रत कुमार साहु लगायतले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया