नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि, आजै थपिए दुई जना 

नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि, आजै थपिए दुई जना 

नेपालमा कोभिड –१९ को  सङ्क्रमण थप दुई जनामा पुष्टि भएको छ । यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित  भएको पाइएको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

आज कोरोना संक्रमण पुष्टि भएका उनीहरु दुवै  भारतबाट आएका हुन् । उनले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिए । 
सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र  काठमाडौँमा दुईदुई तथा  रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।