नयाँ बर्ष : २०७७ बाट २०५७ सम्म फर्कदा

नयाँ बर्ष : २०७७ बाट २०५७ सम्म फर्कदा


वसन्त पोखरेल

तर, अहिले चौरमा न खेलकूद भयो । न त माइक बजेको सुनियो । कसैले गीत गाएन । कोही नाचेन । कसैले सेल रोटी पोलेन । कसैले बटुक पोलेन । अचार बनाएन । न त गोलकारमा बस्नेहरु नै त्यहाँ जम्मा हुन सके । हदै रमाइलो हुने जबै चौर २०७७ को नयाँ दिनमा फगत टोलायो र मान्छेहरु पर्खियो । तर, उसले उमारेको दुबोमा बसिदिन कोही गएन । नयाँ बर्ष २०७७ को शुभकामना दिने लिने कोही पाएन ।  


नयाँ बर्ष सबैमा हार्दिक मंगलमय शुभकामना आदान प्रदान गर्ने दिन । विगतका नयाँ बर्षहरुमा खुबै शुभकामना आदान प्रदान गरिएको हो । साथी भाइहरु जुटेर पिकनिक खाइन्थ्यो । खसी, चामल, नुन, मसला आदि लिएर चौरतर्फ लागिन्थ्यो । कतिपय ठाउँमा मेला नै लाग्थ्यो । खेलकूद प्रतियोेगिता हुन्थे । निकै रमाइलो गरेर मनाइएका अनेकौँ सम्झनाहरु छन् । तर, २०७७ सालको बैशाख एक गते सुनसान बित्यो । सुतेर बित्यो । विछौना कुरेर बित्यो । कोरोना भाइरसबाट मानिसहरु मरेका र संक्रमित भएका समाचारहरु हेरेर, सुनेर, पढेर बित्यो । र, पनि शब्दबाट हार्दिक मंगलमय शुभकामना दिने जमर्को गरेको छु । सबैले स्वीकार्नु होला ।

बुटवलमा स्थायी प्रकृतिको बसोबास गर्दाको बर्ष थियो । अहिलेभन्दा ठीक वीस बर्ष अगाडिको नयाँ बर्षको कुरा कोट्याउँदै छु । बजारको तुलनामा मेरो बसाइ क्षेत्र नेपालको चाँदनी, दोधाराजस्तो ठाउँमा थियो । हिँड्नको लागि धुले बाटो, बस्नको लागि कच्ची घर । पानी, विजुली, टेलिफोन सबैको अभाव । नुन सकियो भने पाँच किलोमिटर टाढाको बुटवल बजार पुगेर किन्नुपथ्र्यो । काम गर्न जाने, शुभकामना लिन दिन पनि पाँच किलोमिटर जानैपथ्र्यो । विहानै शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा निम्ता आएको थियो । मोफसलका चार पृष्ठमा छापिने बीडब्लु मिडियाका निम्तामा चिया समोसासम्म नास्ता खान पाए अहोभाग्य ठानिन्थ्यो । त्यही नै भयो । शुभकामना आदान प्रदान कार्यक्रम सकियो । 

गंगोत्तरीदेखि गंगासागर बग्ने नदीभन्दा लामा दिन थिए । चिया, समोसाले त्यति लामो दिन कट्ने अवस्था थिएन । मेरै इलाकाका हामी चारजना पत्रकार थियौँ । पण्डित बाबुराम भट्टराई, डीआर घिमिरे, नारायण पौडेल र म गरी चार भयौँ । यस्तै नौ बजेको समय थियो । घरतिर आउन थालियो । घरमै खाना खाने तर के खाने भन्ने कुरा हुँदै गर्दा बुच्चरको दुकानमा आँखा पर्यो । खसीको टाउको लगौँ र मासु भात खाउँ भन्ने योजना बन्यो । दुकानमा गएर सोध्दा एक सय रुपैयाँ भन्यो । सबैभन्दा ठूलो टाउको रोजेर काटकुट पार्न पठायौँ । पकाउने, खाने ठाउँ मेरो घर तोकियो । मरमसला किनेर गोजीमा हालेँ । अहिलेजस्तो यातायातका साधनको सुबिधा थिएन । बुुटवलदेखि कृष्णनगर जाने लामाखाले बसमा कोचिएर यात्रा गर्दै बेलबासमा ओर्लियौँ । घरमा पुग्दा १० बजेको थियो । 

संयोगबस घरमा छोरी सुनगाभा थिइन् । तिनी पनि पार्टीको कामबाट मौका मिलाएर भरखरैमात्र घरमा आएकी रहिछन् । अचम्म के थियो भने हाम्रो घरमा ताला लगाउने सिष्टम नै थिएन । अथवा ढोका नै थिएनन् भन्दा पनि हुन्छ । अहिलेसम्म पनि हामीले यताउता हिँड्दा ढोकामा ताला लगाउने गर्दैनौँ । कुकुर, विरालाहरु भित्र बाहिर गर्छन् । चोरीको कुरा गर्दा अहिलेसम्म एउटा चम्चा पनि हराएको छैन । घरभित्र भन्दा घर बहिर धेरै बस्तुहरु छरपष्ट हुन्छन् । म र छोरी मिलेर दाउराको आगोमा मासु भात पकायौँ । बारीमा सानोखाले गोलभेँडा रात्तै फलेको थियो । त्यही टिपेर मासुमा हालियो र त्यसकै चटनी पनि बन्यो । साथीहरु मेरो कोठामा बसेर गफगाफ गर्दै थिए । खाना पाकेपछि पाँचैजना एकैसाथ गल्लीमा बसेर खाना खाइयो । 

खाना खाएपछि बाँकी दिन कसरी कटाउने भन्ने सल्लाह हुँदा डीआर घिमिरेले भनेः जबै चौरमा खेलकुद कार्यक्रम होला । भूपू सैनिकहरुको त्यहाँ बसोबास छ । बर्षेनी रमाइलो गर्छन् । त्यहाँ रमाइलो हेर्न जाऔं । जबै चौर मेरो घरदेखि एक किलोमिटर पश्चिममा रहेछ । जाने मौका मिलेको थिएन । सबै त्यतै लाग्यौँ । भरखरै खेलकूद सञ्चालन गरिन थालिएको रहेछ । चौरमा मान्छेको भिडभाड नै थियो । माइकबाट शुभकामनाका सन्देशहरु पनि सुनाइँदै थियो । अतिथिहरुलाई स्वागत गरिँदै थियो । नवयुवतीहरुले सर्वत वितरण गरिरहेका थिए । हामीलाई पनि मञ्चमा बसालियो । शुभकामना दिनका लागि माइक हस्तान्तरण गरियो । अपरान्हतिर सिन्की, भटमासको अचारसहित सेल रोटी र बटुक खान दिइयो । 

यो सबै आयोजना भूपू सैनिक जबै स्पोर्ट क्लबले गरेको रहेछ । धेरैसँग चिनजान भयो । खेलमा प्रथम, व्दितीय, तृतीय हुनेलाई पुरस्कार बाँड्ने काम भयो । बीचबीचमा सांस्कृतिक कार्यक्रमहरु देखाइयो । कार्यक्रमहरु सकिए । मानिसहरु पातलिँदै गए । हामी पनि घर फर्कन लाग्दै थियौँ । कतिपय बूढापाका भूपू सैनिकहरुले रोकिन आग्रह गरे । साँझ त्यहाँ चौरमा गोलाकारको बसाइ भयो । कुखुराको मासु, आलुको अचार, च्युरा कागजको प्लेटमा ल्याइयो । साथमा जर्किनमा ल्याइएको कोदोको रक्सी । हामी पनि त्यसमा सहभागी भयौँ । निकै रमाइलोसँग नयाँ बर्ष २०५७ मनायौँ । त्यसपछिका बर्षहरुमा अनुकूलता अनुसार भूपू सैनिक जबै स्पोर्टले मनाउने नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएको थिएँ । सो अवसरमा नगरका मेयर, मगर, गुरुंग संघका चर्चित नेताहरु, सञ्चारकर्मी, विभिन्न राजनैतिक पार्टीका नेताहरु पनि उपस्थित भएको देखिएको हो । 

तर, अहिले चौरमा न खेलकूद भयो । न त माइक बजेको सुनियो । कसैले गीत गाएन । कोही नाचेन । कसैले सेल रोटी पोलेन । कसैले बटुक पोलेन । अचार बनाएन । न त गोलकारमा बस्नेहरु नै त्यहाँ जम्मा हुन सके । हदै रमाइलो हुने जबै चौर २०७७ को नयाँ दिनमा फगत टोलायो र मान्छेहरु पर्खियो । तर, उसले उमारेको दुबोमा बसिदिन कोही गएन । नयाँ बर्ष २०७७ को शुभकामना दिने लिने कोही पाएन ।