‘स्वाइन फ्लु’ भन्दा १० गुना प्राणघाती ‘कोरोना’ संक्रमित विश्वभर २० लाख बढी

  ‘स्वाइन फ्लु’ भन्दा १० गुना प्राणघाती ‘कोरोना’ संक्रमित  विश्वभर २० लाख बढी

काठमाडौ । नयाँ कोरोनाभाइरसबाट संक्रमित हुनेहरूको संख्या विश्वभर २० लाख नाघेको छ । विश्व स्वास्थ्य अधिकारीहरूले यो ‘स्वाइन फ्लु’को भन्दा १० गुना प्राणघाती भएको बताएका छन् ।

जोन हप्किन्सले दिएको नयाँ जानकारी अनुसार विश्वभर संक्रमितहरूको संख्या २० लाख १९ हजार ३सय २० रहेको र मर्नेहरूको संख्या १ लाख २० हजार पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले यो महामारी निरन्तर फैलिरहेको र यस्तोमा ‘लकडाउन’ हटाउँदा खतरनाक हुने चेतावनी दिएको छ ।

संगठनका प्रमुख टेड्रोज अधानोम गेब्रेससले जेनेभामा जानकारी दिँदै भने“ यो महामारीका केस ३ देखि ४ दिन भित्र दोब्बर भइरहेको छ । एचवनएनवन महामारीको भन्दा कोभिड–१९ १० गुना घातक छ । यो धेरै द्रुतगतिमा बढ्छ र धेरै सुस्त गतिमा घट्छ ।”

स्वाइन फ्लुले विश्वभर ७०करोड देखि १.४ अर्ब मानिस बिरामी परेको अनुमान गरिन्छ । तर हुले प्रयोगशाला परीक्षणका आधारमा १६ लाख बिरामीमा १८ हजार ५सयको मृत्यु स्वान फ्लुले भएको जनाएको छ ।

एचवनएनवन फैलिदा अमेरिकामा १२ हजार ५सयको मृत्यु भएको थियो । अहिले कोरोनाभाइरसबाट अमेरिकामा मात्रै २३ हजार बढीको मृत्यु भइसकेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख ८२ हजार संक्रमित फेला परेर सबै भन्दा खराब अवस्थामा यो महामारी फैलिएको देखिएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले यो महामारीको विस्तार आफ्नो शीर्ष बिन्दुमा पुगिरहेको र कालो सुरूङ भित्रको ज्योति छिट्टै देखा पर्न सक्ने बताएका छन् । 

सर्वाधिक खराब अवस्थामा पुगेको अमेरिकी प्रान्त न्युयोर्कका गभर्नर एन्डुरू कुओमोले सर्वाधिक खराब अवस्थाको अन्त्य भएको र बासिन्दाहरूले सोसल डिस्टेन्सिङजस्ता निर्देशिकाको पालन राम्ररी गरिरहेको बताएका छन् । जीवन लयमा फेरि फर्किने उनले विश्वास व्यक्त गरे ।