सामाजिक पद्धति नै छिनाल्ने नियति

सामाजिक पद्धति नै छिनाल्ने नियति

झिल्को टिप्पणी

अप्रत्यासित रुपमा कोरोना भाइरसका कारण विश्वको स्वास्थ्य क्षेत्र आक्रान्त भएको छ । यसले मानव सभ्यताका सबै क्षेत्रलाई चुनौती दिएको छ । कोभिड–१९ ले सामाजिक पारिस्थितिको प्रणाली नै चुँडाल्ने प्रवेग पैदा गराएको उल्लेख गर्न थालिएको छ । सभ्यतासँगै जोडिएको सम्पन्नताको मूल्यलाई धुमिल बनाइदिने यो सङ्कटसँग जुध्न मुश्किल छ । 

आर्थिक क्षेत्रलाई त झनै अनिश्चिताको भूमरीमा धकेलिदिएको छ । मानव गतिविधि नै ठप्प पारिदिएपछि यसले विश्वलाई नयाँ तरिकाले सोंच्न बाध्य पारेको छ । यसको पूर्तिका लागि कायौं वर्ष लाग्ने अनुमान हुन थालिएको छ । विश्व व्यापारको ‘परिपक्ष’ नै चुडाल्ने गरी संसारभर देखिएको यो सङ्कटबारे विश्व व्यापार संगठन (डब्लुटीओ)का महानिर्देशक अजिभेडो भन्छन्, “यसले सरकारहरुलाई मानव जीवन रक्षार्थ अभूतपूर्व उपाय अबलम्बन गर्न दबाब दिएको छ ।” 

व्यापार र गृहस्थीमा पीडा दिएको छ । यो महामारीले निम्त्याएको आर्थिक ‘ड्यामेज’ नियन्त्रण तथा कम गर्न देश र त्यहाँका कम्पनीहरुलाई मुश्किल पर्ने देखिएको छ । उनले भविष्यको बाटो औंल्याउँदै भनेका छन्, “अब सबल, दीर्घकालीन र सामाजिक समावेशी बहाली आवश्यक छ ।” 

डब्लुटीओका अनुसार भाइरसको आतङ्क सिर्जना हुनु भन्दा पहिल्यै चीन–अमेरिकाबीच भएको व्यापार तनावले सन् २०१९ मा नै व्यापारमा मन्दी आएको थियो । अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा २.९ प्रतिशतले बढेको विश्व व्यापार सन् २०१९ माग शून्य दशमलव (०.१) एक प्रतिशतले ह्रास आएको थियो । अमेरिकी डलरको मूल्यमा त विश्व वस्तु निर्यात ३ प्रतिशतले कमी आएर १८८ खर्ब ९० अर्ब डलर बराबरको भएको छ । यद्यपि २०१९ मा सेवाको व्यापारमा भने २ प्रतिशतले वृद्धि भएर ६ खर्ब ३ अर्ब अमेरिकी डलर बराबर भएको थियो । सन् २०२० मा वस्तु र सेवा दुवैमा दोहोरो अंकको ह्रास हुने अनुमान गरिएको छ । सो वर्ष विश्व व्यापार १३ देखि ३२ प्रतिशतसम्म ओरालो लाग्ने देखिएको छ । विश्वभर अर्थतन्त्र सामान्य हुने देखिएको छैन । यो तथ्यलाई सामान्य विश्लेषण गर्ने हो भने पनि विश्वको अर्थतन्त्र नराम्रोसँग खुम्चिने छ । त्यसले विकसित मुलुकको अर्थतन्त्रमा मात्र होइन सामाजिक संरचनामा पनि ठूलो परिवर्तन ल्याउने लेखिएको छ । एसियाली विकास बैंक (एडीबी)का अनुसार विश्वका नव औद्योगिक अर्थतन्त्र नराम्रोसँग थला पर्ने देखिएको छ । ती देशको आर्थिक वृद्धि ५.७ प्रतिशतबाट २.४ प्रतिशतमा झर्ने छ भने अर्को वर्ष पुनः जागृत हुनका लागि ती देशले ६.७ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने हुन्छ । यी तथ्यलाई केलाउने भने विश्वको सामाजिक तथा अर्थतन्त्रको परिपथ नै खल्बल्याउने गरी देखिएको महामारीको ‘इन्टेनसिटी’ (प्रकर्ष) बेजोड देखिएको छ । विश्व बैंकले प्रकाशित गरेको प्रतिवेदनले पनि विश्व अर्थतन्त्रमा गहिरो चुनौती देखाएको छ ।

विश्वमा कोरोनाका कारण मानव सोंचाइदेखि लिएर मानव सभ्यताको संरचनामा नै परिर्वतन ल्याउने देखिएको विश्लेषण गर्न थालिएको छ । अब विश्वले केलाई चुनौतीको रुपमा अथ्र्याउला भन्ने अनुमान लगाउन मुश्किल भएको छ । संसारले विगत ७५ वर्ष यताकै स्वास्थ्य संकट व्यहोर्नु परेको संयुक्त राष्ट्रसंघले मानवीय, आर्थिक र सामाजिक संकट पैदा गरेको उल्लेख गरेको छ । कोरोनाले सामाजका कोषकोषमा आक्रमण गरेको राष्ट्रसंघले उल्लेख गरेको छ । 

राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले भनेको छ– दिगो विकासका लक्ष्यहरुमा यसले गम्भीर प्रहार गरेको छ । समावेशी समाज विकासमा झनै गहिरो चोट पु¥याएको छ । यसले आर्थिक एवं सामाजिक क्षेत्रका नीति निर्मातालाई नै ठूलो चुनौती दिन शुरु गरिसकेको छ । यसको असर समाजका हरेक क्षेत्रमा देखिएकाले अबको सामाजिक चेतनतामा पनि परिवर्तन ल्याउने देखिएको छ । कोभिड–१९को असर यहाँसम्म गहिरिएको छ कि यसले स्वास्थ्य, आर्थिक, व्यापारिक क्षेत्रको जग मात्र होइन सामाजिक विकासका पद्धतिलाई चुनौती दिएको छ । २ वैशाख २०७७