नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै, भारतबाट तरकारीसहित सामग्रीहरु निर्वाध प्रवेश
२ वैशाख, काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) संक्रमित संख्या नेपालमा पनि दिनानुदिन बृद्धि हुने क्रम जारी छ । सुरुआती दिनमा बिदेशबाट फर्किएका नागरिकहरुमार्फत नेपालमा कोरोना भाइरस देखिएको भएता पनि अहिले नेपालभित्रै फट्टफुट्ट एक ब्यक्तिबाट अर्कोमा सर्न थालिसकेको छ ।
नेपालको भारतसँगको खुल्ला सिमानाका कारण यतिबेला नेपालको तराई क्षेत्र उच्च जोखिममा देखिन्छ । विभिन्न कामको खोजीमा भारत गएकाहरु रातारात नेपाल प्रवेश गर्दै लुकेर आफ्नो गाउँघरमा जाने क्रम अझै पनि रोकिएको छैन । भारतमा मजदुरी गर्न गएका नेपाली नागरिकहरु यो संकटका बेला स्वदेश फर्किन पाउनै हुदैन भन्न खोजिएको होइन । आफ्नो परिवारसँगै सुख दुःखका साथ बस्न कसलाई पो मन हुँदैन र ? यस्तो विश्व महामारीको बेला ‘बाँचे पनि सँगै बाचौँ, मरे पनि सँगै मरौँ’ भनेर लुकीछिपी स्वदेश फर्कने हरेक नेपालीले सरकारले तयार पारेका क्वारेन्टाइन स्थलमा भने तोकिएको अवधिसम्म अनिवार्य रुपमा बस्नै पर्छ ।
कोरोना फैलिन नदिन यसो गरौँ
हामी आफैँ अनुशासित तरिकाले सरकारी निर्णयहरुको पालना गर्र्यौँ भने पनि कोरोना संक्रमण थप फैलिन नदिने एक भरपर्दो तरिका हो ।
नेपालमा लकडाउन घोषणा गरिएको करिव एक महिना हुनै लागेको छ । यो अवस्थामा सार्बजनिक यातायतका साधनहरु ठप्प भएका छन्, हवाइजहाजहरुको उडान रोकिएर नेपाली आकाश शून्यप्राय भएको छ भने सडकमा हिँड्ने मानिसहरु पनि निकै न्यून छन् । शहर बजार क्षेत्रमा बिहान–बेलुका अत्यावश्यक सामग्री खरिद गर्नका लागि निश्चित समय निर्धारण गरिएको छ ।
तर नेपालमा निर्वाध भारतीय गाडी, सामान र मान्छे
यतिबेला नेपाली बजारमा भारतीय तरकारी तथा फलफुल निर्वाध रुपमा बिक्री भइरेको छ र देशका बिभिन्न सीमा नाकाबाट निर्बाध रुपमा तरकारी पनि भित्रिइ रहेको छ ।
देशमा किसानका कृषिजन्य वस्तुहरु सडेका छन् । तरकारी खेतीमा डोजर लगाइएको छ । कुखुराको मासुसहित गाडिएको छ । तर, भारतबाट विना जाँच, रोकटोक तरकारी, फलफुलहरु निर्वाध नेपालमा प्रवेश भइरहेको छ । सामानमात्र होइन हजारौं मान्छे पनि भारतबाट दिनदिनै नेपाल प्रवेश गरिरहेका छन् । भारत कोरोना भाइरसको महामारीको उच्च जोखिममा रहनु तर नेपालमा सामान ल्याउने नाममा हजारौंको संख्यामा नेपालमा भारतीय र नेपालीको निर्वाध, विना परीक्षण ओहोरदोहोर हुनुले लकडाउन त प्रहशनमात्र त बन्दै छैन ? विज्ञहरुले प्रश्न गरिरहेका छन् ।
कोरोनाको विश्व केन्द्रबिन्दु बन्दै गरेको भारतबाट अत्यावश्यक सामग्रीहरु औषधि र पेट्रोलियम पदार्थमात्र ल्याउने, त्यसमा पनि आउनेजाने मान्छे, गाडी र सामानको व्यवस्थित परीक्षण गर्ने काम नगर्ने हो भने लकडाउन गर्दैमा कोरोनाको संक्रमण रोकिदैंन ।
नेपाल सरकारका बिभिन्न बिभागीय मन्त्रीहरुले नेपालमा करिव तीन÷चार महिनाका लागि पुग्ने खाद्य सामाग्रीहरु दाल, चामल, गेडागुडी पर्याप्त मात्रामा छ भनिरहेको सन्दर्भमा कोरोनाको उच्च जोखिम बन्दै गरको छिमेकी मुलुक भारतबाट यी बस्तुहरु आयातमा केही समयका लागि रोक लगाउने हो भने पनि नेपालमा कोरोनाको थप जोखिम न्यूनीकरण गर्न सकिने थियो कि ?
नेपालमा खोई ध्यान ?
जनताले बैंकबाट ऋण लिएर तरकारी, फलफुल, मासुजन्यसहितका कृषि उत्पादन नेपालमा गरिरहेका छन् । समाजवादी अर्थव्यवस्थाको बारेमा कार्यकर्ता र जनतालाई पढाउँदै हिंडेका नेता घनश्याम भुसाल कृषिमन्त्री छन् । किसानले उत्पादन गरेको सामान खरीद गरेर काठमाडौंसहितको व्यवस्थित बजार बसाल्ने हो भने यसले नेपाली अर्थतन्त्र धेरै खराव हुने अवस्था हुँदैन थियो । विस्तारै नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने अवसर यो कोरोना भाइरसले दिने थियो ।
* तरकारी वालीमा डोजर चलेका, सडकमा दूध पोखिएका र खाल्डोमा चल्ला पुरिएका समाचारहरुले किन दुख्दैन समाजवादी कृषि मन्त्री भुसाललाई ?
कालो बजारिया बढ्दै
सरकारले नेपाली किसानको सामान सड्न दिएको छ । त्यसमा कुनै विकल्प दिएको छैन । संकट र अभावमा फाइदा लिन खोज्ने माफिया व्यापारीहरु यतिवेला निकै सल्बलाएका छन् । आपूर्तिमन्त्री सजिलो परिस्थितिमा मिडियालाई बोलाएर कालो बजारीका विरुद्ध लड्दैछु भनेर भन्दै थिए । आफ्नो योजनामा नपर्नेलाई तर्साउनलाई मात्र प्रचारमुखी काम गर्ने तर वास्तविक कालाबजारीलाई निर्वाध धन्दा गरिरहन दिने अवस्था बनाएको देखिएको छ ।
बजारमा अहिले कालोबजारीहरुले बम्हलुट मच्चाइरहेका छन् । खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरी मनलाग्दी र आफू खुशी मूल्यमा बिक्री भइरहेको छ । तीन तहको सरकार भएर पनि जनता सरकारविहीन जस्तै बनेका छन् ।
कालोबजारीको मारमा परेका अधिकाँश जनतालाई यस्तो बेला आफू मारमा परेको कुरा कसलाई, कसरी, कहाँ गएर उजुरी दिने भन्नेसम्मको पनि ज्ञान छैन । कोरोनाको संक्रमण बढ्दै जाने सरकारमा कतिपय मन्त्रीहश्र कालोबजारीसँग निरीहमात्र होइन कात्रो किन्दा पनि कमिशन खाने घिनलाग्दा चरित्रका देखिएका छन् । यस्तो समवेदनशील समयमा स्वास्थ्य सामग्रीमा समेत कमिशन खाएको विषय भण्डाफोर भएपछि अझै पनि आधारभूत स्वास्थ्य सामग्रीको व्यवस्स्था सरकारले गरेको छैन । भारतमा संक्रमण बढ्ने, सामग्री ल्याउने नाममा हजारौंको संख्यामा भारतबाट मान्छेको ओहोर दोहोर बढ्ने, स्वास्थ्य सामग्रीको यथोचित व्यवस्था अझै नहुने, अग्रमोर्चामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेवक समेतलाई सुरक्षित सामग्रीको व्यवस्था नगर्ने, केवल लकडाउनलाई एकमात्र विकल्प दिएर अन्य पक्षमा लापर्वाही कायम रहदा नेपालमा कोरोना भाइरस संक्रमण बढ्दै जाँदा हाम्रो स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था निर्माण हुँदैछ ।
नेपालमा पनि कोरोना बढ्दै
पछिल्लो पटकका कोरोना परीक्षणका रिपोर्टहरु हेर्दा नेपालमा कोरोना संक्रमण घट्ने भन्दा पनि बढिरहेको तथ्याङ्कले देखाउँछ । त्यसैले कोरोना महामारीलाई थप सक्रिय हुन नदिनका लागि स्थानीय सरकारले जति काम गर्नुपर्ने हो गर्नुपर्ने हो त्यति पनि गर्न सकिरहेको छैन । अधिकार र संघीयता खोज्नेहरु नै कर्तव्य निर्वाहमा भने निरीह बनिरहेको यो सन्दर्भमा तीनै तहका सरकारले कोरोना रोकथामका लागि एकजुट भई एकै लक्ष्य प्राप्तिका लागि लड्ने बेला आएको छ ।
प्रतिक्रिया