अधिकांश अस्पतालमा ओपिडी सेवा नै बन्द 

अधिकांश अस्पतालमा ओपिडी सेवा नै  बन्द 

काठमाडौं, २ बैशाख । अधिकांश अस्पतालमा बहिरङ्ग सेवाहरू (ओपिडी) बन्द गरिएको गुनासो आइरहंदा विकसित अवस्था हेरेर अब त्यसो गर्नु आवश्यक नरहेको सरकारी नियामक निकायका अधिकारीले बताएका छन्।

आधिकारिक रूपमा सरकारले कहिल्यै बहिरङ्ग सेवा बन्द गर्न समेत नभनेको भन्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी) का रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले  अहिले लकडाउन सुरु गर्दा सोचिएजसरी कोरोनाभाइरस सङ्क्रमितको चाप समेत अस्पतालमा नपाइएको बताए । 

उनले भने, 'सुरुमा सबैजना यस भाइरसका घटनाहरू कसरी बढ्छन् र हामी कसरी तयार रहनुपर्छ भन्नेमा स्पष्ट थिएनौँ। त्यही भएर ओपीडीका बारेमा स्पष्ट भनिएको थिएन। तर अब ओपीडी चलाउँदा हुन्छ।'

सोमवारसम्म नेपालमा ५ हजार ६९१ जनामा पीसिआर विधिबाट परीक्षण भएकोमा १४ जनामा सङ्क्रमण पाइएको छ भने १०३ जना अस्पतालमै निगरानीबिच आइसोलेसनमा छन्।

अस्पताल सञ्चालकहरू लकडाउनकै कारण मानिसहरूको आवतजावत रोकिएकाले यस्तो बेला बहिरङ्ग सेवाको काम समेत आपत्कालिन सेवामार्फत् गरिराखिएको बताउँदै आएका छन्।
तर यसअघि एनएमसी सहित पाँचवटा व्यावसायिक काउन्सिल र स्वास्थ्य मन्त्रालय सहितको एक टोलीले गरेको अनुगमनमा ुअत्यावश्यक नभएको भन्दै थुप्रै सेवाहरू बन्द गरिएकाु पाइएका थिए।

एनएमसीका रजिस्ट्रार अधिकारी भन्छन्, 'यसरी लामो समय बहिरङ्ग सेवा रोकिँदा पछि अस्पतालहरूमा लकडाउन खुलेपछि समेत एक्कासी धेरै चाप पर्नसक्छ।'
अहिले नै पनि नियमित जाँच र निगरानीमा जानुपर्ने रक्तचाप, मघुमेह, मानसिक समस्या वा अन्य रोगका विरामीहरू समस्या खेपिरहेका छन्।

थुप्रै अवस्थाका शल्यक्रिया समेत पर सारिएका गुनासो बिरामीहरूबाट आइरहेको छ।

अस्पताल एवं चिकित्सकहरूले भने आपत्कालिन सेवाबाटै यतिखेर सामान्य अवस्थाका बिरामीलाई जाँच गरिएको बताउँदै आएका छन्।