सीमा नाकामा सुरक्षा व्यवस्था कडा पार्न मुख्यमन्त्री राउतको निर्देशन

सीमा नाकामा सुरक्षा व्यवस्था कडा पार्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर, २ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सीमा नाकामा सतर्कता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन स्वास्थ्य र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री निवासमा आज सम्पन्न प्रतिपक्षीदलका नेताहरुसहितको निर्देशक समितिको बैठकपछि मुख्यमन्त्री राउतले सुरक्षा निकायका पदाधिकारी एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन ।

खुला सीमानाका कारण प्रदेशमा कोरोनाको त्रास बढेको भन्दै मुख्यमन्त्री राउतले सीमा नाकामा थप कडाई गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

उनले सुरक्षामा चाहिने आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन समेत दिए ।

स्वाब परीक्षणमा तीब्रता आउन नसकेको गुनासो चारै तिरबाट आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्वाब परीक्षण लगायतको काममा तदारुकता देखाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिए ।

कोरोना नियन्त्रणको लागि रकमको कुनै आभाव हुन दिने प्रतिबद्धता जनाउदै कार्यान्वयको पाटो कुनै पनि इन्तु किन्तु सुन्न नचाहेको समेत बताए ।

बैठकमा मुख्यमन्त्री राउतसहित मन्त्रीहरु, प्रतिपक्षी नेपाली काँग्रेका नेता राम सरोज यादव, नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतो, प्रमुख सचिव लगायत सबै मन्त्रालयका सचिवहरु, स्वास्थ्य सल्लाहकार समूहका पदाधिकारीहरु, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

यस्तै प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागेको सप्तरीको भारदहस्थित अस्पतालको आज प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् ।
 
    कोरोना भाइरस (कोबिड १९) को संक्रमणलाई मध्यनजर गरि प्रदेश सरकारले सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित अस्पताललाई ५० शैय्याको जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने प्रदेश २ सरकारले केही दिनअघि निर्णय गरेको थियो ।

अस्पतालको स्थलगत निरीक्षण गरि अस्पतालमा तत्काल भौतिक पुर्वाधार निर्माणसँगै स्वास्थ्य सामग्री र दक्ष जनशक्ति पठाउने मन्त्री साहले मन्त्री साहले बताए ।

उनँले सप्तरीका एउटा जिल्ला अस्पताल नभएकाले प्रदेश सरकारले भारदह अस्पताललाई जिल्ला अस्पतालको रुपमा विकास गर्न लागेको उल्लेख गर्दैै यसबाट सप्तरीका ग्रामिण भेगका जनताले समेत सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास समेत व्यक्त गरे । 

सो अवसरमा हनुमाननगर कंकालनी नगरपालिका प्रमुख शैलेश कुमार साह, प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.हरिश्चन्द्र साहको समेत सहभागिता रहेको थियो । 

रगतको आभाव भएपछि ३५ जनाले गरे रक्तदान

यसैबीच प्रदेश सरकारले गरेको लक डाउनका कारण रगतको अभाव भएपछि महोतरीको रामगोपालपुरमा आज ३५ जनाले रक्तदान गरेका छन् ।

महोत्तरीको रामगोपालपुर सामुदायिक हस्पिटलमा आयोजित रक्तदान कार्यक्रम स्थानीय युवा, समाजसेवी लगायतले रक्तदान गरेका हुन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेको लक डाउनका कारणले रेडक्रसहरुमा रगतको अभाव भएपछि रक्तदान गरिएको जनाएको छ ।