अन्तर्राष्ट्रिय उडानमा पचास प्रतिशत भाडा बढ्न सक्ने 

अन्तर्राष्ट्रिय उडानमा पचास प्रतिशत भाडा बढ्न सक्ने 

सबल दाहाल

काठमाडौं, ३ बैशाख । यतिखेर कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र ठप्प प्रायः बनेको छ । विश्वका दुई सय नौ देशमा भित्रिसकेको कोरोना भाइरस मुख्यतः हवाई यात्राबाटै फैलिएकोमा कुनै विवाद छैन । त्यसैले कतिपय मुलुकहरुले यतिबेला आन्तरिक र वाह्य हवाई सेवा बन्द गरेका छन् । चार्टर गरेको विमान वाहेक यात्रुहरु ओसारपसारमा पूर्ण बन्देज गरिएको छ । यतिबेला हवाई कम्पनीहरु आफ्नो ओरालो लाग्दै गरेको व्यापारलाई कसरी उठाउने भन्ने गम्भीर छलफल चलाइरहेका छन् ।

कोरोना भाइरसको अन्त्यपछिको भविष्य के होला भन्ने अड्कलबाजी चलिरहेको बेला हवाई कम्पनीहरु सामाजिक दुरी कायम गरी हवाई यातायात पूर्ण रुपमा संचालन गर्न थुप्रै ठूला निर्णय लिनेबारे छलफल चलाइरहेका छन् ।

भयानक त्रासदीको रुप लिइसकेको कोरोना भाइरसको अन्त्य कहाँ पुगेर हुनेछ अहिले नै अनुमान लगाउन सकिदैंन । तर, एउटा सत्य कुरा के हो भने कोरोनाको अन्त्यपछि पनि यसको त्रासको अन्त्य हुन केही समय लाग्नेछ । 

त्यसैले हवाई क्षेत्रसँग सम्बन्धित कम्पनिहरुले भविष्यमा थोरै यात्रु चढाउने र भाडा दर वृद्धि गर्ने जस्ता निर्णय गर्न छलफल गर्दैछन् । अन्तर्राष्ट्रिय हवाई यातायात संगठन -Air Transport Association (IATA) ले जब उड्डयन उद्योग सामान्यमा आउँछ तब कोरोनाको जोखिम लिएरै यसलाई नियन्त्रण गर्न केही नयाँ नियमहरु थपिन सक्ने बताएको छ । 

छलफलमा "De-densification" (यात्रुहरुको संख्या घटाउन) र सामाजिक दुरी कायम गर्न Neutralization को अर्थ सिट संख्या तोकेरै सिट खाली राख्ने गरी छलफल भइरहेको समाचारमा जनाइएको छ । तीन सिटको जहाजमा बीचको सिट खाली राखेर दुरी कायम गर्न सकिने बताइएको छ । यसो गर्दा जहाजमा एक तिहाई यात्रु घट्ने हुँदा त्यसको मूल्य समायोजनको लागि पचास प्रतिशतसम्म मूल्य वृद्धि गर्नुपर्ने कम्पनीले छलफल गरिरहेको छ ।

त्यस्तै छलफलमा तीन लाइनलाई आकस्मिक क्वारेण्टिन क्षेत्र भनेर खाली राख्न पर्नेबारे छलफल चलाइएको छ ।